पेन्सिल्भेनिया ल्यानक्यास्टरमा एक डाक्टरको क्षणभरको लापरबाही, आठ वर्षसम्मको जेल सजाय
ल्यानक्यास्टर पेन्सिल्भेनिया / मान्छेको जीवन के सोचिन्छ के भोगिन्छ । तर कहलेकाँही क्षणिक लापरबाहीले मान्छेको जीवनलाई नरक बनाउछ । त्यसको उदाहरण अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टर निवासी एक जना मेडिलक डाक्टरको जीवनमा आइपरेको छ ।
अरुको जीवन बचाउन पढेका व्यक्तिले मदिरा सेवन गरेर सवारी चलाउदा एउटा नर्सको ज्यान मात्र गएन स्वयम डाक्टरले अब तीन देखि आठ वर्षको जेल जीवन विताउनु पर्ने भएको छ ।
उनीहरुले डिनर गरे, फरक फरक वारमा पुगेर मदिरा पनि सेवन गरे । तर जोसमा होस पुर्याउन सक्नन । मदिराले लठ्ठ भए । त्यही बेला होस गुमाए । गर्नै नहुने काम गरे । नतिजा, एक जनाको ज्यान गयो अर्को जीउदै मरे तुल्य भयो ।
एउटा परिवारले आफ्नी छोरी गुमायो, अर्को परिवारको छोराको भविष्यमा गम्भीर धक्का लाग्यो। चिकित्सक बनाउन अभिभावकले गरेको संघर्ष, छोरासँग जोडिएका सपना र भविष्यका आशा कस्ता थिए होलान्? दुर्घटनामा ती अभिभावकको वास्तविक अनुभूति सार्वजनिक भएको छैन। तर यो घटनाले एउटा कठोर प्रश्न छाडेको छ—केही क्षणको लापरबाहीले जीवनभरको परिणाम निम्त्याउन सक्छ भन्ने थाहा हुँदाहुँदै मानिस किन यस्तो जोखिम मोल्छ?
अमेरिकाको पेन्सिल्भेनियामा भएको यो घटना मादक पदार्थ सेवन गरेर सवारी चलाउनु केवल व्यक्तिगत जोखिम होइन, अरूको जीवनमाथि पनि खेलबाड हो भन्ने गम्भीर सम्झना हो। यहाँ व्यक्ति मात्र होइन सिङ्गो परिवार माथि कसरी बज्रवात हुन्छ भन्ने पनि झल्किन्छ ।
३८ वर्षीय डा. अपार शिरिषकुमार पटेलले सन् २०२४ को सेप्टेम्बरमा मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भएको दुर्घटनामा ३३ वर्षीया नर्स कारा क्लेभेन्जरको ज्यान गएको थियो।
दुई वर्ष पछि यो दुर्घटनाको कानुनी प्रक्रिया सजायमा पुगेको छ। अक्टोबर १३, २०२६ मा ल्यानक्यास्टर जिल्ला न्यायाधीश डेनिस रिनाकरले पटेललाई तीनदेखि आठ वर्षसम्म राज्य कारागारमा बस्नुपर्ने सजाय सुनाए। यसअघि जुलाईमा उनले आफूविरुद्धका प्रमुख अभियोग स्वीकार गरेका थिए।
तीन बारमा मदिरा सेवन, रुट २८३ मा दुर्घटनामा नर्सको मृत्यु
सन् २०२४ सेप्टेम्बर ८ को रात। पेन्सिल्भेनियाको ल्यान्कास्टर सहरमा पटेल र क्लेभेन्जरले साँझको खाना खाएका थिए। त्यसपछि उनीहरू तीनवटा फरक स्थानमा पुगेका थिए, जहाँ मदिरा सेवन गरिएको अनुसन्धानमा खुलेको थियो। प्रहरीका अनुसार उनीहरूले करिब सात घण्टाको अवधिमा विभिन्न स्थानमा मदिरा सेवन गरेका थिए।
राति करिब ११ बजेर ३१ मिनेट जाँदा पटेलले चलाएको बीएमडब्लू एक्स५ इस्ट हेम्पफिल्ड टाउनसिपस्थित रुट २८३ राजमार्गमा सडकको छेउमा रोकिएको ट्र्याक्टर–ट्रेलरको पछाडिको भागमा ठोक्कियो।
पटेलले गाडी प्रतिघण्टा करिब ८० माइलको गतिमा चलाइरहेका थिए। उक्त राजमार्गको गति सीमा प्रतिघण्टा ६५ माइल थियो।
ठक्कर यति शक्तिशाली थियो कि गाडीको यात्रु बस्नेपट्टिको भाग च्यातिएझैँ भयो। सिट बेल्टले यात्रुको सुरक्षा गर्न सकेन। क्लेभेन्जर गाडीबाट बाहिर उछिट्टिएर सडकको बीचमा रहेको कङ्क्रिटको डिभाइडर पार गर्दै विपरीत दिशाको लेनमा पुगिन्। त्यसपछि त्यहाँबाट गुडिरहेका अन्य सवारीसाधनले उनलाई ठक्कर दिए।
उनलाई घटनास्थलमै मृत घोषित गरियो। दुर्घटनामा उनको मृत्युको कारण गम्भीर शारीरिक चोट रहेको काउन्टी कोरोनरको विवरणमा उल्लेख छ।
कल्पना गर्नुस्, केही समयअघिसम्म सँगै समय बिताइरहेका दुई व्यक्ति। उनीहरूमध्ये एकको जीवन त्यही रात समाप्त भयो। अर्को व्यक्ति भने दुर्घटनाबाट बाँचे, तर अब उनलाई वर्षौं जेलमा बिताउनुपर्नेछ।
दुर्घटनापछि पटेललाई उपचारका लागि ल्यान्कास्टर जनरल अस्पताल लगिएको थियो। अस्पतालमा लिइएको रगतको नमुनामा उनको रगतमा अल्कोहलको मात्रा ०.१३४ प्रतिशत देखियो। पेन्सिल्भेनियामा अधिकांश चालकका लागि कानुनी सीमा ०.०८ प्रतिशत हो। पटेलको रगतमा देखिएको मात्रा त्यस सीमाभन्दा निकै बढी थियो।
दुर्घटनाको अनुसन्धान गर्ने प्रहरीले सडकको अवस्था, वातावरण वा गाडीमा भएको प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानेन। अनुसन्धानको निष्कर्षमा चालकको व्यवहार नै दुर्घटनाको मुख्य कारण रहेको उल्लेख गरिएको थियो।
अझ गम्भीर पक्ष के थियो भने पटेलले सुरुमा प्रहरीलाई क्लेभेन्जरले गाडी चलाइरहेको बताएका थिए। पछि उनलाई क्लेभेन्जरको मृत्यु भएको जानकारी दिइएपछि आफू चालक रहेको स्वीकार गरेको अनुसन्धानसम्बन्धी विवरणमा उल्लेख छ। डीएनए परीक्षणले पनि दुर्घटनाका बेला पटेल नै चालक रहेको पुष्टि गरेको थियो ।
पटेलले अनुसन्धानकर्तालाई गाडी चलाउन थालेपछिका घटनाबारे आफूलाई सम्झना नभएको बताएका थिए।
पटेलका आफ्नै बाबुआमाले कति संघर्ष गरे, उनीहरूको पारिवारिक अवस्था कस्तो थियो वा छोराको भविष्यबारे उनीहरूले के सपना देखेका थिए ? त्यो सार्वजनीक भएको छैन ।
तर यो दुर्घटनाको अर्को पाटो कारा क्लेभेन्जरको जीवन हो। उनी केवल दुर्घटनामा ज्यान गुमाएकी यात्रु थिइनन्। उनी बिरामीको सेवा गर्ने नर्स थिइन्, परिवारकी सदस्य थिइन् र आफ्नै भविष्य बोकेर अघि बढिरहेकी ३३ वर्षीया महिला थिइन्।
उनको परिवारले सार्वजनिक रूपमा दिएको प्रतिक्रियाअनुसार क्लेभेन्जर आफ्नो पेसाप्रति समर्पित थिइन्। उनी बिरामीको हेरचाहमा समय दिन्थिन् र आफू कठिन अवस्थामा हुँदा पनि अरूलाई खुसी राख्ने प्रयास गर्थिन्। उनकी दिदी कायला क्लेभेन्जर–क्नाबलले बहिनीले बिरामीलाई मुस्कुराउन मद्दत गर्ने र आफ्नो खराब दिनमा समेत अरूको ख्याल गर्ने गरेको बताएकी थिइन्।
बहिनीको मृत्युले परिवारमा परेको चोटबारे बोल्दै दिदीले उनको जीवन अरूका लागि उज्यालो बनेको भाव व्यक्त गरेकी थिइन्।
क्लेभेन्जरको सम्झनामा नर्सिङ छात्रवृत्तिसमेत स्थापना गरिएको छ। युपीएमसी पिनाकल फाउन्डेसनमार्फत सञ्चालन गरिएको उक्त छात्रवृत्तिले उनको सेवाभावलाई भविष्यका स्वास्थ्यकर्मीमार्फत निरन्तरता दिने उद्देश्य राखेको विवरण सार्वजनिक भएको थियो।
अपार पटेलले जुलाई २०२६ मा सम्झौताबिनै आफूविरुद्धका अभियोग स्वीकार गरेका थिए। ती अभियोगमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा मानिसको मृत्यु गराएको, सवारी चलाउँदा मानिसको मृत्यु गराएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको दुईवटा अभियोग र चारवटा सामान्य ट्राफिक उल्लङ्घनसम्बन्धी अभियोग समावेश थिए।
अक्टोबर १३ मा न्यायाधीश डेनिस रिनाकरले उनलाई तीनदेखि आठ वर्षसम्म राज्य कारागारमा बस्नुपर्ने सजाय सुनाए। यो घटनामा सजाय सुनाउँदा अदालतले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएको मृत्युको गम्भीरतालाई कानुनी प्रक्रियामार्फत सम्बोधन गरेको छ।
पेन्सिल्भेनियाको कानुनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा कसैको मृत्यु भएमा त्यसलाई सामान्य ट्राफिक उल्लङ्घनका रूपमा मात्र हेरिँदैन। सवारीसाधन प्रयोग गरेर मृत्यु गराएको अभियोग र मादक पदार्थ सेवनसँग सम्बन्धित अभियोगका आधारमा आपराधिक दायित्व स्थापित हुन सक्छ। यस घटनामा पटेलले अभियोग स्वीकार गरेपछि अदालतले सजाय निर्धारण गरेको हो।
जीवनमा केही निर्णय गर्न केही सेकेन्ड मात्र लाग्छ। तर ती निर्णयको परिणाम जीवनभर भोग्नुपर्ने हुन सक्छ। मदिरा सेवन गरेर सवारी नचलाउनुहोस्—किनकि घर फर्किने बाटोमा तपाईंको एउटा गलत निर्णयले कसैको घर सधैँका लागि उजाडिन सक्छ।
















