सुरक्षाकर्मी माथि आक्रमण गर्ने महिलालाई १५ महिना जेल
वासिङ्टन डीसी / अमेरिकाको फ्लोरिडा राज्यमा आप्रवासनसम्बन्धी कारबाहीका क्रममा संघीय आप्रवासन अधिकारी र राज्य प्रहरीका एक अधिकारीमाथि आक्रमण गरेको अभियोगमा एक अमेरिकी महिलालाई १५ महिना जेल सजाय सुनाइएको छ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार जेनिफर सुसान क्रुजलाई गत जनवरीमा भएको घटनामा अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस), अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) र फ्लोरिडा हाइवे पेट्रोलका अधिकारीमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको हो।
फ्लोरिडाको मिडल डिस्ट्रिक्टस्थित अमेरिकी एटर्नी कार्यालयले अक्टोबर १४ मा क्रुजलाई १५ महिना संघीय जेल सजाय सुनाइएको जानकारी दिएको थियो। उनलाई जेल सजायसँगै दुई वर्ष निगरानीमा रहने व्यवस्था र ५५ सय ९२ अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने आदेशसमेत दिइएको छ।
स्थानीय सञ्चारमाध्यमको विवरणअनुसार घटना जनवरी १३ मा फ्लोरिडाको ज्याक्सनभिलमा भएको थियो। आइस, सीबीपी र फ्लोरिडा हाइवे पेट्रोलका अधिकारीहरू संयुक्त आप्रवासन कार्यान्वयन अभियानमा खटिएका बेला दुई जना कागजातविहीन आप्रवासी सवार सवारीसाधन रोकेका थिए।
त्यसक्रममा अमेरिकी नागरिक क्रुज आफ्नो गाडीबाट बाहिर निस्केर फ्लोरिडा हाइवे पेट्रोलका एक प्रहरी अधिकारीको अनुहारमा मुक्का प्रहार गरेको बताइएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर पक्राउ गर्न खोज्दा उनले प्रतिरोध गर्दै लात्ती हान्ने र चिच्याउने गरेको विवरणमा उल्लेख छ।
प्रहरीको सवारीसाधनभित्र राख्ने क्रममा पनि उनले आइस र सीबीपीका अधिकारीहरूलाई लात्ती हानेकी थिइन्। त्यसपछि उनले सवारीसाधनको छतमा समेत लात्ती हानेको जनाइएको छ।
डीएचएस सचिव मार्कवेन मुलिनले आप्रवासनसम्बन्धी कानुनी कारबाहीमा खटिएका अधिकारीमाथि आक्रमण गर्ने व्यक्तिले त्यसको परिणाम भोग्नुपर्ने बताएका छन्। उनले न्याय विभाग र फ्लोरिडा राज्यका निकायहरूको सहयोगप्रति धन्यवादसमेत दिएका छन्।
त्यस्तै, आइसको होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) ज्याक्सनभिल कार्यालयका सहायक विशेष एजेन्ट इन्चार्ज टिम हेम्करले कानुनी जिम्मेवारी पूरा गरिरहेका सुरक्षाकर्मीमाथिको आक्रमण अस्वीकार्य रहेको बताएका छन्।
















