ह्यारिसबर्गमा आप्रवासी तथा शरणार्थी समुदायको टाउन हल शनिबार
ह्यारिसबर्ग, पेन्सिलभेनिया / डाउफिन काउन्टीमा आप्रवासी तथा शरणार्थी समुदायको सुरक्षासम्बन्धी विषयमा शनिबार ह्यारिसबर्गमा टाउन हल आयोजना हुने भएको छ।
एसियन प्यासिफिक आइल्यान्डर पोलिटिकल एलायन्स (एपीआई पीए) को आयोजनामा हुने ‘डाउफिन काउन्टी स्ट्यान्ड विथ इमिग्रेन्ट्स एन्ड रिफ्युजीज टाउन हल’ मा स्थानीय समुदाय, निर्वाचित प्रतिनिधि तथा आप्रवासी अधिकारका पक्षमा काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने आयोजकले जनाएको छ।
ह्यारिसबर्ग स्थित प्याक्सटन चर्च रोडमा रहेको डिस्का डोजोमा दिउसो १:३० देखि ३:३० बजेसम्म कार्यक्रम हुने छ ।
टाउन हलमा हालैका अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का पक्राउ तथा हिरासतका घटनाबारे छलफल गरिने तथा डाउफिन काउन्टीमा आप्रवासी तथा शरणार्थी समुदायको सुरक्षाका विषयमा स्थानीय तहको भूमिकाबारे छलफल हुने जनाइएको छ।
एपीआई पीएका अनुसार, काउन्टीमा ‘वेलकमिङ काउन्टी अर्डिनन्स’ ल्याएर स्थानीय सरकार र आईसीईबीचको सहकार्य सीमित गर्नुपर्ने मागसमेत उठाइनेछ। यस्तो नीतिले काउन्टीका स्रोतसाधनको प्रयोग, व्यक्तिगत सूचना आदानप्रदान तथा संघीय अध्यागमन कार्यान्वयनमा स्थानीय निकायको भूमिकालाई स्पष्ट पार्नुपर्ने आयोजकको भनाइ छ। एपीआई पीएले यसका लागि डाउफिन काउन्टीका आयुक्तहरूलाई यस्तो नीति ल्याउन आग्रह गर्दै आएको छ।
डाउफिन काउन्टीका आयुक्त जस्टिन डगलसले यसअघि जुन ३, २०२६ को बोर्ड बैठकमा जीईओ रिइन्ट्री सर्भिसेससँगको सम्झौताबारे असहमति जनाउँदै कम्पनीको अध्यागमन हिरासतसँगको सम्बन्धप्रति आफ्नो आपत्ति सार्वजनिक गरेका थिए।
एपीआई पीएको विज्ञप्तिअनुसार, शनिबारको कार्यक्रममा समुदायका सदस्यहरूले आफ्ना व्यक्तिगत अनुभव पनि सुनाउनेछन्। कार्यक्रममा डाउफिन काउन्टी कमिस्नर जस्टिन डगलसको कार्यालयका प्रतिनिधि तथा पेन्सिलभेनिया स्टेट हाउस डिस्ट्रिक्ट ८७ की उम्मेदवार जेसिका सेन्ट क्लेयरको सहभागिता रहनेछ।
कार्यक्रममा स्थानीय निर्वाचित अधिकारीसँग प्रश्नोत्तर, समुदायका सदस्यका अनुभव तथा आप्रवासी तथा शरणार्थी समुदायका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
डाउफिन काउन्टीमा आईसीईसँगको स्थानीय सहकार्य सीमित गर्ने विषय यसअघि पनि सार्वजनिक बहसको विषय बन्दै आएको छ। आप्रवासी अधिकारका पक्षमा रहेका समूहहरूले ‘वेलकमिङ काउन्टी’ नीति ल्याउन माग गर्दै आएका छन्।















