नेपाल बाढीप्रति पेन्सिल्भेनिया गभर्नर सापिरोको सहानुभूति, नेपाली–भूटानी समुदायसँग ऐक्यबद्धता
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाका गभर्नर जस सापिरोले नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै पेन्सिल्भेनियामा रहेका नेपाली तथा भूटानी समुदायप्रति ऐक्यबद्धता जनाएका छन्।
गभर्नर सापिरोले मंगलवार जारी गरेको वक्तव्यमा प्राकृतिक विपत्तिले राष्ट्रिय सीमा, धार्मिक, जातीय, राजनीतिक वा सामाजिक–आर्थिक पहिचान नहेर्ने उल्लेख गर्दै नेपालमा भएको क्षतिप्रति सहानुभूति व्यक्त गरेका हुन्।
“प्राकृतिक विपत्तिले कुनै राष्ट्रिय सीमा वा धार्मिक, जातीय, राजनीतिक वा सामाजिक–आर्थिक पहिचान चिन्दैन,” वक्तव्यमा भनिएको छ। विपत्तिले निम्त्याएको विनाशको प्रभाव लामो समयसम्म रहने उल्लेख गर्दै सापिरोले प्रभावित मानिसहरूले भोगिरहेको पीडा वास्तविक र गहिरो रहेको बताएका छन्।
नेपालमा बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको, आफ्ना प्रियजन तथा घर गुमाएको र पूरै समुदाय प्रभावित भएको उल्लेख गर्दै गभर्नर सापिरोले विपत्तिको वास्तविक क्षतिको विवरण अझै बाहिर आउने क्रममै रहेको बताएका छन्।
सापिरोले नेपालमा भएको विपत्तिको प्रभाव समुद्रपारि पेन्सिल्भेनियामा रहेका नेपाली तथा भूटानी समुदायसम्म पनि पुगेको उल्लेख गरेका छन्। पेन्सिल्भेनियामा करिब ७० हजार नेपाली तथा भूटानी मूलका मानिस बसोबास गर्दै आएको उल्लेख गर्दै उनले उनीहरूको सांस्कृतिक तथा पारिवारिक सम्बन्ध नेपालसँग दूरीका कारण कमजोर नहुने बताएका छन्।
“यी सम्बन्धलाई कठिन समयमा सान्त्वना र शक्तिको स्रोतका रूपमा बलियोसँग समातेर राख्न” उनले प्रभावित समुदायलाई आग्रह गरेका छन्।
गभर्नरले पेन्सिल्भेनिया विविध र जीवन्त समुदायहरूको साझा घर भएको उल्लेख गर्दै नेपाली तथा भूटानी समुदायले राज्यको सांस्कृतिक विविधतामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
वक्तव्यको अन्त्यमा उनले पेन्सिल्भेनियाका सबै नागरिकको तर्फबाट नेपालमा भएको प्राकृतिक विपत्तिबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
“गभर्नरका रूपमा र सम्पूर्ण पेन्सिल्भेनियावासीको तर्फबाट नेपालमा हालै भएको प्राकृतिक विपत्तिबाट प्रभावित सबैसँग ऐक्यबद्धतामा उभिन पाउँदा म सम्मानित महसुस गर्छु,” सापिरोले वक्तव्यमा उल्लेख गरेका छन्।
गभर्नर कार्यालय, ह्यारिसबर्गबाट जारी गरिएको उक्त वक्तव्यमा सापिरोले व्यक्तिगत रूपमा हस्ताक्षर गरेका छन्। वक्तव्यमा नेपालको बाढीबाट प्रभावित नेपाली तथा पेन्सिल्भेनियामा रहेका नेपाली–भूटानी समुदायप्रति सहानुभूति, समर्थन र ऐक्यबद्धताको सन्देश दिइएको छ।














