विश्वकप फुटबलको रौनक : अमेरिकाको शानदार विजयी सुरुवात, पराग्वे स्तब्ध
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / आयोजक अमेरिकाले जारी विश्वकप फुटबलमा शानदार विजयी सुरुवात गरेको छ ।
क्यालिफोर्नियाको इन्गलवुडस्थित सोफी स्टेडियममा शुक्रवार घरेलु मैदानमा भएको पहिलो खेलमा अमेरिकाले पराग्वेलाई ४–१ गोलले पराजित गर्यो।
यो विश्वकप अमेरिका स्वयंले आयोजना गरेको ३२ वर्षपछिको पहिलो संस्करण हो। यसपटक अमेरिका, मेक्सिको र क्यानडासँग मिलेर सह–आयोजक राष्ट्रको रूपमा रहेको छ।
लस एन्जलसमा सम्पन्न समूह डी अन्तर्गतको खेलमा स्ट्राइकर फोलारिन बालोगुनले दुई गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले।
उनी विश्वकप इतिहासमा एकै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने दोस्रो अमेरिकी खेलाडी बनेका छन्। यसअघि सन् १९३० को पहिलो विश्वकपमा बर्ट पाटेनाउडले पराग्वेविरुद्ध ह्याट्रिक गरेका थिए।
यो जित अमेरिकाको विश्वकप इतिहासकै संयुक्त रूपमा सबैभन्दा ठूलो जित पनि हो। यसअघि अमेरिकाले सन् १९३० मा पराग्वे र बेल्जियमलाई समान ३–० गोलले हराएको थियो।

खेल सुरु भएको सातौँ मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । पराग्वेका मिडफिल्डर डामियान बोबाडिल्लाको आत्मघाती गोलले घरेलु टोलीलाई सुरुवाती सफलता दिलाएको थियो ।
गोलको मुख्य श्रेय अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकलाई गएको थियो । उनले दुई डिफेन्डरलाई छल्दै वेस्टन म्याककेनीलाई पास दिएका थिए । जसको कटब्याकलाई रोक्ने क्रममा बोबाडिल्लाले आफ्नै पोस्टमा गोल गरे ।
त्यस्तै, खेलको २८औँ मिनेटमा बालोगुनको अर्को गोल अफसाइडका कारण रद्द भए पनि तीन मिनेटपछि उनले पुलिसिकको पासलाई शक्तिशाली प्रहारमार्फत जाली चुमाउँदै अमेरिकाको अग्रता दोब्बर बनाए।
त्यसपछि मालिक टिलम्यानको उत्कृष्ट थ्रु–बलमा बालोगुनले डिफेन्डर ओमार अल्डेरेतेलाई छक्याउँदै गोलकिपर ओरलान्डो गिलमाथिबाट सुन्दर गोल गर्दै टोलीलाई ३–० को मजबुत स्थितिमा पुर्याए।
दोस्रो हाफमा पनि अमेरिकाले दबाब कायम राखेको थियो । ब्राजिलमा जन्मिएका मौरिसियोले जुलियो एन्सिसोको पासमा गोल गर्दै अन्तर घटाएका थिए ।
खेलको अन्तिम क्षणमा वैकल्पिक खेलाडी जियोभानी रेयनाले करिब २० यार्ड टाढाबाट शानदार गोल गरेपछि अमेरिकाले ४–१ को जित सुनिश्चित गर्यो।
यसअघि विश्वकपको अमेरिकी संस्करण भव्य उद्घाटन समारोहका साथ सुरु भएको थियो। चर्चित गायिका केटी पेरीले प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै फुटबल महान् डेभिड बेकह्याम र हलिउड अभिनेता टम क्रुज लगायतका चर्चित व्यक्तिहरू पनि उपस्थित थिए। ७५ हजारभन्दा बढी दर्शकको उपस्थितिले प्रतियोगिताको उत्साह झनै बढाएको थियो।
पुलिसिक र बालोगुनको उत्कृष्ट प्रदर्शन
अमेरिकाको आक्रमणको नेतृत्व कप्तान पुलिसिकले गरेका थिए। बायाँ विंगबाट लगातार दबाब सिर्जना गर्दै उनले टोलीका पहिलो दुई गोलमा प्रत्यक्ष योगदान दिए। यद्यपि उनी हाफटाइममा प्रतिस्थापित भएपछि प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि उनको फिटनेस चिन्ताको विषय बन्न सक्छ।
बालोगुनले पनि आफ्नो क्लब प्रदर्शनलाई विश्वकपमा निरन्तरता दिए। उनले फ्रान्सको एएस मोनाकोबाट खेल खेल्दै सिजनको अन्तिम १३ खेलमा ९ गोल गरेका थिए।
अमेरिकाले खेलभर १६ प्रहार गरेको थियो । त्यस्तै, अझ बढी गोल गर्न सक्ने अवसर पनि सिर्जना गरेको थियो। क्रिस रिचर्ड्स र टिलम्यान गोल नजिक पुगे पनि गोलकिपर गिलले उत्कृष्ट बचाउ गरेका थिए।
अब अमेरिकाले आगामी जुन १९ तारिखमा अस्ट्रेलिया र जुन २० मा पराग्वेले सन् २००२ को सेमिफाइनालिस्ट टर्कीको सामना गर्नेछ । यसअघि शुक्रवार नै भएको पहिलो खेलमा सहआयोजक राष्ट्र क्यानडा र बोस्निाया एण्ड हर्जगोभिनाले १-१ गोलको बराबरी खेल खेलेको थियो ।
तस्विर सौजन्य – फिफा

















