साहित्य परिषद् भूटानमा नयाँ नेतृत्व, अध्यक्षमा खेम रिजाल निर्विरोध
अर्जुन प्रधान /
भर्जिनिया, अमेरिका / भूटानी नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा क्रियाशील संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्य सेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध चयन भएका छन्।
सन् २०२६ मे ९ (शनिबार) का दिन सम्पन्न परिषद्को भर्चुअल बैठकमा निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा निल अधिकारी, कोषाध्यक्षमा खगेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन भएका छन्।
निष्पक्ष र पारदर्शी निर्वाचनका लागि रूपनारायण पोख्रेल, मनोज राई र प्रतिमान सिवा सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
परिषद्का ६३ सदस्यहरूमध्येबाट आवेदन आह्वान गरिएकोमा प्रारम्भिक चरणमा पाँच जनाको मात्र उम्मेदवारी परेको र थप १५ दिनको समय थप्दा पनि अन्य आवेदन नआएपछि उम्मेदवारी दिने सदस्यहरूलाई नै जिम्मेवारी सुम्पिएको हो ।
यो घोषणा भुट्नीलिट्रेचर डटकम पाक्षिक प्रकाशनको १७औँ स्थापना दिवसको विशेष अवसरमा गरिएको हो । पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो । यसअघि सन् २०१० देखि २०२६ सम्ममा साहित्यकार तथा पत्रकार भक्त घिमिरे , कवि शिवालाल दाहाल र साहित्यकार गंगाराम लामिटारे सम्म तीनवटा कार्यसमितिहरूले काम गरिसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष खेम रिजालको नेतृत्वमा रहेको यस समितिले आफ्नो गतिविधिलाई विश्वव्यापी बनाउन अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालयहरू स्थापना गर्ने निर्णय गरेको छ ।
परिषद् अमेरिकामा दर्ता भएको गैर-नाफामुखी संस्था (एलसीओबी) भएकाले कार्यसमितिमा अमेरिकामा रहेका सदस्यहरूलाई समावेश गरिएको छ ।
“यो नयाँ नेतृत्वले आगामी दिनहरूमा अग्रहजहरूलाइ सम्मान गर्दै , अनुजहरूलाई धेरै समावेश गर्दै नेपाली भाषा साहित्यको प्रवर्धनमा क्रियाशील रहने छ ।” खेम रिजालले बताए ।
सन् १९९३ मार्च १७ मा झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा ‘भाषा परिषद्, भुटान’का रूपमा स्थापना भएको यस संस्थाले विस्थापनको कठिन समयमा पनि नेपाली भाषा र साहित्य जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
सन् २००३ देखि यसको नाम ‘साहित्य परिषद्, भूटान’ राखिएको हो । यस संस्थाले शरणार्थी शिविरहरूमा रहँदा १० हजारभन्दा बढी भुटानी नेपालीहरूलाई साक्षर बनाउने ऐतिहासिक अभियान समेत सञ्चालन गरेको थियो ।
नयाँ कार्यसमितिले प्रवासमा फैलिएको भुटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने र नेपाली भाषा, संस्कृति तथा पहिचानको जगेर्नामा समर्पित रहने विश्वास व्यक्त गरेको छ ।



















