महेश श्रेष्ठले एनआरएनएमा मिलाएको कि बिलाएको ?
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) मा एउटा समूहको नेतृत्व गरिरहेका जापान निवासी महेश श्रेष्ठले एकताको नाममा विलयको बाटो रोजेको भन्दै उनी निकटबाटै आलोचना शुरु भएको छ।
श्रेष्ठका पछिल्लो कदमले ‘चुनाव हार्ने तर पद चाहिने’ भन्दै अर्को समूहले लगाएका आरोपहरू सत्यमा बदलिन लागेको भन्दै उनका पदाधिकारीहरूले सच्चिन सचेत गराएको जनाइएको छ।
आफ्नै कार्यसमितिको बहुमतको असहमति हुँदा हुँदै महेश श्रेष्ठ मिलाउने नाममा किन विलयको बाटो रोजे, उनमा किन यसरी विचलन आयो के भूतपूर्व अध्यक्ष हुनैका लागि उनले यो सब गतिविधि गरेका हुन भन्ने प्रश्न पनि उठ्न थालेको छ।
सेप्टेम्बरमा (भदौ) जेन्जी विद्रोह हुनु भन्दा अगाडि सम्म उनी नेपाली कांग्रेसका तत्कालिन सभापति शेर बहादुर देउवाकी धर्मपत्नी एवं तत्कालिन परराष्ट्र मन्त्री डा. आरजु राणाका खास मान्छे थिए। सामाजिक सञ्जालमा आरजु सँग नारिएका तस्बिर छ्यापछ्यापी थिए।
जब जेन्जी विद्रोहको क्रममा शेर बहादुर देउवा दम्पती आफ्नै घरमा कुटिए, उनीहरूको घर र त्यहाँ रहेको सारा सम्पत्ति जल्यो, लगत्तै महेशले आरजु सँग नारिएर खिचिएका तस्बिरहरु फटाफट हटाएको आरोप छ।
हिजो एनआरएनएको एकता महाधिवेशनका लागि सरकार नै विभाजित थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली डा. बद्री केसी समूहको पक्षमा थिए । ओली क्याबिनेटकी परराष्ट्रमन्त्री डा. राणाले महेशलाई अध्यक्ष बनाउने भए मात्र एकता महाधिवेशनमा आउँछु भन्ने शर्त नै राखेको खबर बाहिरिएको थियो।
देउवा दम्पतीले निर्घात कुटाइ खाएको बेला र त्यस पछि पनि उनलाई आफ्ना समर्थकहरूको साथ सहयोग चाहिएकै थियो होला । तर उनीहरुले महेश श्रेष्ठ जस्तो व्यक्तिबाट त्यस्तो सहयोग पाएनन् । जसले हिजो उनीहरू सत्ता रहँदा फेसबुकमा राखिएको प्रोफाइल फोटो स्वार्थ प्रेरित थियो भन्ने पत्तो नै पाएनन्।
हुन त देउवा दम्पतीमा त्यस्तो ज्ञान भएको भए २०८४ मा हुनु पर्ने सङ्घीय संसद्को चुनाव दुई वर्ष अगाडि अहिले धकेलिने नै थिएन।
हिजो देउवा दम्पती सत्तामा हुँदा महेशले किन फोटा राखे र जेन्जी विद्रोह पछि हतार हतार किन हटाए ?
त्यसमा कति स्वार्थ लुकेको छ ? महेश माथि प्रश्न थोपरिएको छ।
‘के उनी स्वार्थी व्यापारी मात्र हुन ?’ जसले नाफा मात्र हेर्छ । जसको मन हुँदैन । विवेक प्रयोग नै गर्दैन ?
अब फेरि मूलमुद्दामा जाऊ
सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएका पूर्व अध्यक्ष शेर घले नेतृत्वको उच्चस्तरीय समितिले मे महिनामा सम्पन्न गरेको एकता महाधिवेशनमा अमेरिका निवासी डा. केशव पौडेल र कतार निवासी आरके शर्मा पनि अध्यक्षको लाइनमा थिए।
माथि पनि भने । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चको परमादेश विरुद्ध हात धोएरै लागेका थिए, डा. बद्री केसी समूहलाई स्थापित गराउनका लागि । त्यसमा तालुकदार निकाय परराष्ट्रमन्त्री डा. राणा सँगको निकटताका कारण महेशले रेस जिते ।
तर अहिले जसरी सामाजिक सञ्जालमा आरजु सँग जोडिएको फोटो हटाउन हतार गरे त्यसै गरि एनआरएनएमा बुझाउन हतार गरेका छन्।
एनआरएनमा यत्रो वर्षको विवाद चुनाव हारेका भनिएका महेशलाई पनि अध्यक्ष मान्दै भित्तामा फोटो झुन्डाउनका लागि मात्र थियो ?
आफूलाई लोकतान्त्रिक भन्ने अनि हारेको चुनाव नस्विकार्ने पनि हुन्छ ?
महेशले हिजो के कारणले एनआरएनएमा दुई समूह बन्यो र एक समूहको नेता आफू बने भन्ने जवाफ दिनु पर्दैन ?
यहाँ अलिकति एनआरएनएमा विवाद के थियो चर्चा गरौँ । नवौँ महाधिवेशन सम्म एनआरएनए ठिकठाक चलेको थियो। त्यसो त तत्कालिन अध्यक्ष शेष घलेले आफ्नो दुई कार्यकाल पछि आफ्नी धर्मपत्नीलाई एनआरएनएको नेतृत्व बुझाउन खोजे । त्यसले उनको लोकप्रियता खस्केन मात्र, एनआरएनलाई विवाद तर्फ धकेल्दै लग्यो।
त्यो भन्दा पनि जब एनआरएनएको डेलिगेट छनौटमा प्रतिशतको जोड घटाउको व्यवस्था गरियो त्यसले विवादमा चरम मलजल गर्यो।
दशौँ महाधिवेशन समयमा हुनै सकेन। त्यस पछि तत्कालिन अध्यक्ष कुमार पन्तले एनआरएनएका प्रमुख संरक्षक शेष घलेको नेतृत्वको समितिलाई चुनाव गराउने अधिकार दिए।
विधानमा भएको ‘डेलिगेट’ को व्यवस्थामा कुरा मिलेन । त्यसको नजिता दुई ठाउँमा महाधिवेशन भयो। घलेले गराएको महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष घोषित भए। अर्को तर्फ भएको महाधिवेशनले रातारात विधान संशोधन गराएर कुल आचार्य, डा. बद्री केसी र रविना थापालाई अध्यक्ष घोषणा गरियो।
तीन अध्यक्ष रहेको समितिले ११ औ महाधिवेशन गरायो। मत परिणाम सार्वजनिक हुँदा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौँ बुथमा शून्य मत आयो । त्यसैमा विवाद भयो । एक समूहले डा. बद्री केसी र अर्को समूहले आरके शर्मालाई अध्यक्ष घोषणा गरे।
सो चुनावमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ तेस्रो भएका थिए।
त्यही बेला सर्वोच्च अदालतले एउटा पुरानो मुद्दामा फैसला गर्यो । अदालतले दशौँ महाधिवेशन पछिका सबै गतिविधिलाई खारेज गर्दै डेलिगेटको समस्या समाधान गरि एकता अधिवेशन गराउन परमादेश गर्यो ।
सर्वोच्चले घले नेतृत्वको समितिमा सदस्य नै थपेर जिम्मेवारी दियो। सर्वोच्चको सो फैसलालाई ‘वकिलको अफिसमा लेखिएको फैसला न्यायधीशले वाचन गरेको’ भन्ने टिप्पणी बद्री केसीले गरे । उनको यो भनाइले अदालतको मानहानिको भएको भन्दै परेको मुद्दा विचाराधीन छ।
त्यही बेला सर्वोच्चको दोस्रो फैसला आयो । त्यसलाई आफूहरूले मुद्दा जितेको भन्ने व्याख्या गर्दै बद्री समूहले एनआरएनएको हेडक्वाटर कब्जामा लियो। नेकपा एमालेको युवा दस्ताको आड लिएर ।
सर्वोच्चले बनाएको घले नेतृत्वको उच्चस्तरीय समितिमा डा. बद्री केसी पनि सदस्य थिए। तर उनी कहिल्यै समितिको बैठकमा गएनन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जहिले पनि डा. केसीलाई ढाडस दिए। त्यसैको आडमा केसीले अदालतको आदेशलाई चुनौती दिए।
शेष घलेले ढिलो गरि सर्वोच्चको परमादेश अनुसार एकता महाधिवेशनको प्रक्रिया अगाडि बढाए।
बद्री केसी समूहले सो एकता महाधिवेशन रोकी पाउँ भन्दै अन्तरिम आदेश माग्दै अदालत भयो। अदालतले चुनाव रोक्नु भन्ने कुनै आदेश दिएन।
एकता महाधिवेशन भयो । तत्कालिन परराष्ट्रमन्त्री डा. राणाले उद्घाटन गरिन्। महेश श्रेष्ठ अध्यक्षमा निर्विरोध भए। महेश अध्यक्षमा चुनिए पनि उनलाई काम गर्न नदिनु भन्दै बद्री केसी फेरि अदालत गए तर अदालतले केसीले भने अनुसार आदेश दिएन।
महेश श्रेष्ठ भने डराए बालुवाटारमा रहेको हेड क्वाटर जान । सडकबाट आफू आधिकारी भन्दै आएका महेशले जेन्जी विद्रोह पछि विवाद मिलाउने क्रममा विलयको बाटो रोजेको भन्दै उनकै कार्यसमितिका पदाधिकारीले असन्तोष व्यक्त गरेका छन्।
नेपालको सर्वोच्च अदालतमा एक दर्जन भन्दा बढी एनआरएनएको मुद्दा छन्। सबै मुद्दा फुल कोर्टमा विचाराधीन छ। जेन्जी विद्रोहको निसाना सर्वोच्च अदालत पनि बन्यो । अदालत जल्यो ।
त्यस पछि महेश श्रेष्ठ झनै हतासिए।
एनआरएनमा विवादको अन्य हुनै पर्छ । तर त्यो विवाद मिलाउँदा हिजो के कारणले विवाद भएको थियो भन्ने पनि बिर्सन हुँदैन।
जेन्जी विद्रोह पछि केही मिडियाहरूमा समाचार आयो ‘महेशले आरजु राणाको जलेको घर बनाउन पैसा उठाउँदै’ । त्यही समूहले उनलाई चुनाव हारेकाले बनाएको समितिको अध्यक्ष भन्दै आएको थियो।
अब महेशले आफ्नो समिति विलय गराउनु अगाडी जवाफ दिनु पर्दैन ? उनी चुनाव हारेर आफै माला लगाउँदै अध्यक्ष भएको हुन की होइन भन्ने ?
डा. आरजु राणा सँग नारिएको फोटो सामाजिक सञ्जालमा हटाएको बालुवाटार हेडक्वार्टर आफ्नो एक थान फोटो राख्नका लागि मात्र होइन भन्ने आधार के ?
के महेश श्रेष्ठ, आरके शर्मा र विनोद कुँवरलाई पूर्व अध्यक्षको फोटो झुन्डाउनका लागि मात्र यत्रा वर्ष एनआरएनएमा विवाद भएको थियो ?
चुनाव नजित्ने तर पद चाहिने ?
उही विधान, डेलिकेट र भोटिङ प्रणाली ठिक भन्दै मार्चमा हुने भनिएको १२ औ महाधिवेशनमा भाग लिनु अगाडि उनीहरुले माफि माग्नु पर्दैन ?
बद्री समूहले बनाएको विधान ठिक थियो भने यत्रो वर्ष के का लागि हत्ते गरेको ? जवाफ दिनु पर्दैन ?
यो विवादले एनआरएनएका मुद्दा कति ओझेलमा परे ? त्यसको हिसाब कसले गर्ने ?
विवादको विषय सम्बोधन नगरी एकता गर्न हुँदैन भन्ने आफ्नै कार्यसमितिको बहुमत पदाधिकारीको कुरा महेशले किन सुनेनन् ? मिल्ने नाममा घुँडा किन टेके ?
महेश र आरके प्रश्नबाट भाग्न मिल्छ ?
‘चुनाव हार्ने, आफै माला लगाउने’ भन्ने आरोप खेप्दै आएका उनीहरुले अब भित्तामा फोटो झुन्डाउन पाउने भए पछि सबै ठिक भन्नु कुन नैतिकता हो ? अनि यसले हिजो आफुहरु माथि लागेको आरोप पुष्टि हुदैन ?
म बाधक बन्दिन
महेश श्रेष्ठले आफू एनआरएनएको एकता गराउन कै लागि नेतृत्वमा आएको दाबी गरेका छन्।
‘म मिलाउन पर्छ भन्ने शर्तमा नै त्यो बेला अध्यक्ष भएको हो, साथीहरू मिल्न हुँदैन भन्छन् भने र कोही अगाडि आउँदा हुन्छ म वाधक बन्दिन।’ समाज टाइम्स सँगको कुराकानीमा महेशले भने।
‘साथीहरूको गुनासो छ, गुनासो गर्ने साथी भएर पनि मिलाउन परेको हो।’ महेशले भने, ‘विधान सभा गरेर विधान संशोधन गर्ने भनिएको छ। अब अक्टोबरमा त्यो गर्ने हो । सबै एकै पटक समाधान हुँदैन।’
उनले मिल्नको लागि बीच को बाटो खोजिएको दाबी गरे। ‘दुइटै पक्षले विन विन हुने खालको खोज्दै छौ ।’ श्रेष्ठले भने, ‘हाम्रो कमिटी भङ्ग भएको त भएको छैन नि। त्यही भएर हामी चुनाव भाग नलिने उनीहरुले आफ्नो तरिकाले चुनाव गर्छन्।’
तपाईँ किन यति साह्रै हतार गर्नुभयो तपाईँकै टिमका पदाधिकारीले महेशले गद्दार गर्यो, धोका दियो भनिरहेका छन् भन्ने प्रश्नमा महेशले भने, ‘त्यो भन्ने त भनिहाल्छ। नमिल्न लागि अझै पनि हामी छुट छ।त्यो हतार गरेको हैन नमिल्न भने नमिल्न भनिराख्या छु। अझै पनि नमिल्न तपाईँ नमिल्दा भयो नि भनेर।’
उनले आफूले कसैलाई धोका नदिनको बताए ।
‘यदि नमिल्ने भने त्यो त छ, त्यो अधिकार त हामीले राखेकै छौँ नि।’ श्रेष्ठले भने।
यो त हिजो चुनाव हारेर हार स्वीकार्न नसकेर गएका थिए। अब अहिले थाके अनि घरमा फर्किए, एउटा फोटो भित्तामा राख्नुस् भन्ने भयो नि भन्ने अर्को प्रश्नमा महेशले त्यो सोचमा फरक पर्ने बताए ।
‘अब पोजेटिभ सोच्यो भने पोजेटिभ हुन्छ, नेगेटिभ सोच्यो भने नेगेटिभ हुन्छ।’ उनले भने।
तपाईँले किन सलाइन्डर गर्नुभयो भन्ने प्रश्नमा महेशले कोही नेतृत्व गर्छु भनेर अगाडी आए आफूले छोडिदिने बताए।
‘गर्छु भन्छन् नि त्यो गर्दा अहिले पनि छ। मैले छोडिदिएकै छु, त्यो कमिटीलाई छोडिदिएको छु, गर्दा हुन्छ । त्यो अधिकार दिएकै छु । उहाँहरूले गर्यो भने छुट्टै गर्दा हुन्छ, म इन्भोल्व हुनु पर्दैन ।’
महेशले आफू मिलाउनकै लागि त्यो समय नेतृत्वमा आएको बताए।
‘मिलाउनको लागि आएको हो । त्यो अधिवेशनको म्यान्डेट पनि मिलाउनकै लागि हो ।’ उनले भने, ‘हैन मिल्न हुँदैन हामी आफ्नो तरिकाले लाग्छौँ, हामी समानान्तर समिति गठन गर्छौँ भने त्यो अधिकार छ, मैले खोसेको छैन् ।’
सबै कुरा ठिक थियो भने हिजो तपाईँहरू किन फुट्या भन्ने प्रश्नमा महेशले अब कति लुज गर्ने भन्ने भएको बताए।
‘अब लुज कति गर्ने भन्ने हो, हामीले बढी लुज गरेर मिल्ने भन्ने मात्रै हो।’ महेशले भने ।
तपाईँलाई मिल्ने होइन विलय हुन भयो भन्ने आरोप छ तपाईँकै समितिबाट भन्ने अर्को प्रश्नमा उनले फेरि सोचाइको कुरा दोहोर्याए ।
‘त्यो त सोचाइको हो । मिल्ने भनेको यो सामाजिक संस्थामा त्यस्तो हुन्छ । यो त मिल्ने भनेको साथी साथी हो। कुनै सरकार गठन होइन । सामाजिक संस्था हो ।’
त्यसो हो भने हिजो किन हार स्वीकार नगरेको भन्ने प्रश्नमा उनले विषेश अधिवेशन सर्वोच्चले गरेको भएर भाग लिएको बताए। उनले सबै साथीहरूले भन्छन् भने आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए।
‘म एकतालाई सफल बनाउन लाग्छु यसमा सहमत नहुने साथीहरूलाई आफू अनुसार लाग्न छुट छ। म त्यसको लागि छोडिदिन्छु। बाटो मार्ग प्रस्तुत गर्न तयार छु।’ श्रेष्ठले भने, ‘कमिटीलाई बुझायो भन्ने त्यो दोष लिन चाहन्न, कमिटीलाई आफ्नो तरिकाले अगाडी बढ्दा हुन्छ ।’
तर तपाईँहरू हिजो किन फुटेको अहिले किन मिलेको भन्ने प्रश्नको प्रस्ट उत्तर आएन की भन्ने प्रश्नमा उनले भने ‘झिना मसिना कुरा हुन्, यो मिल्ने कुरामा यस्ता कुराले अर्थ राख्दैन ।’

















