दुई दशकपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता
काठमाडौं/ नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ ।
नेपाल जिम्न्याष्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको १३ औं संस्करण भएको थियो । दुई दशक पूरा भएपछि १४औं राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता शुक्रवारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा शुरु भएको छ ।
कम्पिटिसन वानमा टिम (भल्ट र फ्लोर एक्सरसाइज) को प्रतिष्पर्धा भइरहेको छ । पुरुषतर्फ भल्टमा नेपाल आर्मी, बागमती प्रदेश र एपिएफ छन् । आर्मीले ३७.८ स्कोर र बागमतीको ३६.७ स्कोर रहेको छ । एउटा टिममा ६ जना खेलाडी समावेश हुन्छन् ।
व्यक्तिगत तर्फबाट भल्ट र फ्लोरको प्रतिष्पर्धा हुनेछ । यस प्रतियोगिता एक सय १४ जनाले प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो १३औं संस्करण २०६१ सालमा पोखरामा भएको थियो । २१ वर्षपछि १४औं संस्करण आयोजना भएको छ । त्यतिबेला टिम च्याम्पियन भक्तपुर हो । अलराउन्डरमा पूण्यराम घेमसु च्याम्पियन हुँदा श्रीप्रसाद कोजु उपविजेता भएका थिए । कोजु यस प्रतियोगिता आयोजक भइसकेका छन् ।
दुई दिने प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान र संघका उपाध्यक्ष राजकुमार कार्कीलगायतले उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री गौतमले जिम्न्यास्टिक खेलमा फोकस र कन्सनट्रेसन धेरै हुने भएकाले यो खेल विशेष महत्व रहेको बताइन् । यो खेलले पढ्न र जीवनलाई सहज रूपमा अगाडि बढाउन पनि मद्दत दिने उनको विश्वास छ ।
पछिल्ला समय देशमा धेरै नकरात्मक कुराहरू आइरहने भएकाले आफू मन्त्री भएपछि मानसिक स्वास्थ्यलाई ध्यान दिएर अगाडि बढेको उनले उल्लेख गरिन् । खेलले मस्तिष्कलाई सकारात्मक बनाउन मद्दत मिल्ने भएकाले यसको विशेष महत्व रहेको र खेलकुदले मानसिक स्वास्थ्य राम्रो गर्ने उनी बताउँछिन् । टिम भावना र सहकार्यजस्ता आधारभूत शिप खेलकुदबाट नै सिक्न पाइने भएकाले खेलकुदको विशेष महत्व रहेको उनको बुझाइ छ । मन्त्री गौतमले खेलकुदले मानिसको जीवनमा आत्मविश्वास बढाउने बताइन् ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ क्लवका एक सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य तथा पछिल्ला संस्करणका उपविजेता श्रीप्रसाद कोजुले जानकारी दिए । संघका अध्यक्ष प्रधानले लामो समयपछि प्रतियोगिता हुँदा विभाग र सातै प्रदेशका खेलाडीहरू धेरै उत्साहित भएर खेलेको बताए । यो प्रतियोगिताले नेपालमा जिम्न्यास्टिक खेलले उचाइ प्राप्त गर्ने उनको विश्वास छ । सरकारले यो खेललाई प्राथमिकता दिन थालेको उनी बताउँछन् ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा संघका नेपाल जिम्न्यास्टिक संघ उपाध्यक्ष राजकुमारी कार्कीले यस प्रतियोगितामा पुरुष÷महिलामा समान आठ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको बताए । प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिम्न्याष्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने कार्कीले जानकारी दिए । उनले यो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।
उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूले लामो समयपछि नेपालमा राष्ट्रिय च्याम्पियनसिप हुँदा उत्साहित भएको बताएका छन् । उनीहरूले पछिल्ला समय नेपालमा जिम्न्यास्टिक खेल पुर्नजिवित हुने संघारमा रहेको आशा व्यक्त गरेका छन् ।
—न्युज एजेन्सी नेपाल
















