पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग डाउन टाउनको त्यो देउसी भैलो
बिष्णु हरि घिमिरे
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गको डाउन टाउनमा नेपाली भाषीको बसोबास अत्यन्त न्यून छ। डाउन टाउन भन्दा अलि बाहिर वरिपरि भने नेपाली भाषीको संख्या बाक्लो छ।
डाउन टाउनमा नेपाली भाषी समुदायले हतपत कार्यक्रम गर्न खोज्दैनन्। त्यसका दुई कारण छन्। पहिलो कार्यक्रम स्थल भेटाउन मुस्किल र अर्को हो पार्किङको समस्या।
तर यस वर्षको तीज पछि भने परिस्थिति अलि फरक भएको छ। डाउन टाउनको मध्य भाग स्ट्रबेरी स्क्वायरमा ‘माउन्ट एभरेष्ट’ रेस्टुरेन्ट छ जसले गर्दा नेपाली भाषीलाई त्यहाँ पहुँच पुर्याएको छ। आइतबार कार्यक्रम भए पछि सडक पार्किङ निःशुल्क ।
तीजमा पहिलो पटक त्यहाँ कार्यक्रम भएको थियो। त्यसैको बलमा तिहारले पनि डाउन टाउनमा स्थान पायो।
‘तपाईँहरू सबैलाई स्वागत छ, यहाँ हामी सबै आयोजक हौ, सामूहिक रुपमा हाम्रो चाड मनाउ भनेर यो कार्यक्रम आयोजना गरेका हौ।’ गत आइतबार (अक्टोबर १९ तारिख) दिउँसो साढे तीन बजे गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका पूर्व सचिव रमेश लामिछानेले स्टेजबाट भन्दै थिए।
दशै तिहारको शुभ कामना तथा देउसी भैलो कार्यक्रममा सहभागी हुन ह्यरिसबर्ग बाहेक मेकानिसबर्ग, कारलय, योर्क, ल्यानक्यास्टर, फिलाडेल्फिया लगायतका स्थानबाट मानिसहरू भेला भएका थिए।
‘तीन सय ७० वटा ह्याण्डब्यान्ड खर्च भयो, त्यसमा कार्यक्रमको तयारीमा रहेका ३०-३५ जनाको गणना छैन्।‘ माउन्ट एभरेष्ट रेस्टुरेन्टका संचालक श्री पुनले भने। उनकी श्रीमती सरिता लामा, छोरी सिया र छोरा सियोन पनि मध्यान्न देखि नै पाहुनाको स्वागतका लागि खटिएका थिए।

रोचक पक्ष के थियो भने कार्यक्रममा प्रवेस निःशुल्क थियो। शुरुमा सहभागीलाई शुरुमा सेल रोटी, अचार र चियाको व्यवस्था गरिएको थियो। त्यस पछि साँझ रात्रि भोज खुवाएर बिदा गरियो।

कार्यक्रमको संयोजन नेपाली एट मेकानिसबर्गले गरेको थियो। जुन संस्थाले पछिल्लो सात वर्ष देखि यस क्षेत्रमा हरेक वर्ष वनभोज गर्दै आएको छ।
कार्यक्रममा माउन्ट एभरेष्ट रेस्टुरेन्ट, नेपाली पाठशाला एण्ड एजुकेशन कार्यक्रम मेकानिसबर्ग, एनआरएनए पेन्सिल्भेनिया च्याप्टर, नमस्ते ट्याक्स एण्ड वेल्थ एडभाइजर र बराल ज्वलर्स सहयोगी भूमिकामा थिए।
सहभागीले सेल रोटी र अचारको स्वाद लिँदा नलिँदै स्टेजमा एक पछि अर्को कार्यक्रम शुरु भयो। मुकुन्द ओझा र नवीन भट्टराईले आलो पालो कार्यक्रमलाई निरन्तर अगाडि बढाए।

वरिष्ठ सङ्गीतकर्मी मुस्कान बलमपाखीले किबोर्डबाट धुन बजाउँदै हलमा तिहारको माहौल सृजना गरेका थिए। बलमपाखीलाई अर्का बहुप्रतिभाशाली सङ्गीतकर्मी, नृत्य निर्देशक तथा तेक्वान्दो प्रशिक्षक बिकास घले गुरुङले पनि मादलमा साथ दिएका थिए।

त्यस पछि इन्ट्रा फाउन्डेसनमा नृत्य सिक्दै आएका बालबालिकाहरूले एक पछि अर्को सुन्दर नृत्य पस्कँदै गए। । उनीहरूका प्रस्तुति नेपाली मौलिकता झल्काउने थिए। तिहारलाई सम्झाउने खालका थिए।

ल्यानक्यास्टरबाट गएका बालिकाहरूले पनि मज्जाले आफ्नो नाचको कौसल देखाए।


साहित्यकर्मी गण्डकीपुत्र र त्रिविक्रम न्यौपाने तिहारकै सेरोफेरोमा आफ्नो कृति सुनाए। निश्चल कडरियाको बाँसुरीको धुनमा भगी फुयाँलले ‘आमा’ गीतिकविता सुनाए।
‘द भ्वाइस किड्स नेपाल सिजन ३ की विजेता अनुह्या तामाङले आफ्नो सुरिलो स्वरमा गीत मात्र गाइनन् उनीले समूहगत नृत्यमा पनि सहभागी भइन।

रेड ओसन मल्टी एकेडेमीका तेक्वान्दो खेलाडीहरूले पनि आफ्नो कला प्रदर्शन गरे। त्यस पछि सामूहिक रुपमा देउसी भैलो खेलिएको थियो। दोहोरी सहितको देउसी भैलोमा गोमा गुरुङ, निशा गुरुङ, सनमाया गुरुङ, अभिषेक थापा लगायत सहभागी थिए।



‘कार्तिक दान’ का लागि आयोजकले गरेको नाङ्लोको व्यवस्थाले तिहारको मौलिकतालाई झल्काएको थियो।

अमेरिकामा जन्मिहुर्किएका बालबालिकाहरूले सामूहिक देउसी भट्याएका थिए। जसलाई सहभागी धेरैले रुचाएका थिए।
‘हामीले कार्यक्रमलाई विविधता दिनै खोजेका हौ। जसले सहभागीलाई पूर्ण मनोरञ्जन होस।’ कार्यक्रम आयोजनाका लागि शुरु देखि नै लागिपरेका नेपाली एट मेकानिसबर्गका सदस्य तथा एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान उपाध्यक्ष अभिषेक थापाले भने।
थापा आफै डिजेमा खटेका थिए।
‘हाम्रो उद्देश्य नै समुदायलाई एक ठाउँमा ल्याउने र मनोरञ्जन दिने हो।‘ त्यसमा हामी सफल भयौ।‘ थापाले भने, ’कार्यक्रम स्थल वरिपरिका काउन्टीमा बस्नेहरूका लागि सेन्टर पनि भयो त्यसले सहभागिता राम्रो भयो।‘
साङ्गीतिक कार्यक्रमको कोरियोग्राफी गरेका विकास घले गुरुङले पनि कार्यक्रम भव्य भएको बताए। ‘कहिल्यै भेट नहुने पनि भेट भइयो, तीन पुस्तालाई एकै ठाउँ बसेर तिहार मनाए, उपस्थिति पनि राम्रो भयो।‘ गुरुङले भने।
उनले बालबालिकाहरूको प्रस्तुतिमा नेपालीपन र राष्ट्रिय भाव देखिनु राम्रो पक्ष भएको बताए।
‘यहाँ जन्मिहुर्किएका बालबालिकाहरूले नेपाली मौलिक पहिरनमा नृत्य गर्नु राम्रो पक्ष हो’ गुरुङले भने।
ल्यानक्यास्टरबाट पौने घण्टा ड्राइभ गरेर आएका दिपेश चापागाईँले पनि कार्यक्रम राम्रो भएको बताए।
‘सबै भन्दा राम्रो पक्ष सबैलाई समेटिएको थियो, पाँच जिल्लाका मान्छे आए, सबै वर्गको सहभागिता भयो, नानी देखि लिएर हजुरबुबा आमा सम्मले रमाइलो माने।‘ समाज टाइम्स सँग चापागाईँले भने, ‘कार्यक्रम सांस्कृतिक सँग सँगै भावनात्मक पनि भयो।‘
‘भगी फुयाँलको ‘आमा’ कविताले कतिपयको आँखामा आशु नै देखियो, सहभागीलाई बाधेको थियो, त्यो राम्रो पक्ष हो।‘ चापागाईँले भने, ’डाउन टाउनमा फ्रि पार्किङ, दुई पटक खानाको व्यवस्था, हल पनि राम्रो, समग्रमा कार्यक्रम राम्रो भयो, त्यो ठाउँ पनि सबैको सेन्टरमा पर्यो।‘
देउसी भैलोको व्यवस्थापनमा खटेका रमेश लामिछाने कार्यक्रम भव्य र सफल भएको प्रतिक्रिया दिए।
‘यसले अर्को वर्ष पनि हामीलाई कार्यक्रम गर्न पर्छ भन्ने भएको छ।‘ लामिछानेले भने, ‘हामीले गरेको अनुभव सहभागीको नाम दर्ता पहिले नै गर्नु पर्ने रहेछ जसले गर्दा खानाको व्यवस्था गर्न सजिलो हुने र सुरक्षाको कुरा पनि हुने रहेछ।‘
उनले यत्रो मान्छे आउँछन् भन्ने नसोचेको बताए। ‘कार्यक्रम सांस्कृतिक पनि भयो राम्रो भयो।‘ लामिछानेले भने।
फिलाडेल्फियाबाट आएका एनआरएनए अभियन्ता दिपक सापकोटाले यस्ता खाले कार्यक्रमले समुदायलाई जोड्नुका साथै नेपाली मौलिकताको पनि संरक्षण गर्ने बताए।
योर्क निवासी अर्का एनआरएनए अभियन्ता तथा कार्यक्रम आयोजनका लागि शुरु देखि नै खटेका विद्युत इन्जिनियर यदु बन्जाराले अपेक्षा भन्दा कार्यक्रम राम्रो भएको प्रतिक्रिया दिए।
‘हामीलाई एक डेढ सय जना सहभागी हुन्छन् भन्ने थियो, तर हलमा चार सयको हाराहारीमा उपस्थित भए यो राम्रो पक्ष हो।‘
उनले ‘कात्तिक दान’ बाट सात सय डलर जति उठेको र बाँकी रकम आफूहरूले दामासाहीले खर्च जुटाएको बताए।
‘हामी आफै आफैले पनि दुई चार सय डलर हाल्यौ, त्यो ठूलो कुरा भएन मुख्य कुरा यस क्षेत्रमा रहेका हाम्रो समुदाय एक ठाउँमा भेला भयौ, चाड मनायौ यो अमूल्य कार्य हो।’ बन्जाराले भने।
माउन्ट एभरेष्टका संचालक श्री पुनले पनि आफूले नाफा घाटाको हिसाब नगरेको बताए। ‘व्यापारमा सदैव नाफा मात्र हेरिँदैन, यहाँ रहेको हाम्रो समुदायलाई एक ठाउँमा ल्याउनु, हाम्रा मौलिक पर्वहरू नयाँ र पुराना पुस्ता एकै ठाउँमा भएर मनाउनु त्यो ठूलो कुरा हो।’ पुनले भने।
नेपाल डे को घोषणा
देउसी भैलो कार्यक्रमको सफलता पछि आयोजकले ह्यारिसबर्गमा नेपाल डे मनाउने घोषणा गरेका छन्।
‘यो क्षेत्रमा हाम्रो समुदायको बसोबास बाक्लिँदै गएको छ। अब हामी समरमा नेपाल डे आयोजना गर्छौ।’ कार्यक्रमको बिट मार्दै यदु बञ्जराले भने।
बञ्जाराका अनुसार सगरमाथा दिवसको अवसरमा ‘नेपाल डे’ गरिने छ।
‘हामी सबै पक्षलाई समेट्ने गरी एउटा आयोजक समिति बनाउँछौ र त्यो समितिले सबै काम गर्ने छ, क्यापिटल हिलको आसपासमा मुख्य सडकमा हामी नेपालीपनलाई चिनाउने छौ।‘ बञ्जराले थपे।











