पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोद्वारा अक्टोबर महिनालाई ‘हिन्दु हेरिटेज महिना’ घोषणा

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोले अक्टोबर महिनालाई ‘हिन्दु हेरिटेज महिना’ को औपचारिक रूपमा घोषणा गरेका छन्।
हिन्दु समुदायले राष्ट्रमा पुर्याउँदै आएको गहिरो सांस्कृतिक, धार्मिक, र सामाजिक योगदानको सम्मान स्वरूप सो घोषणा गरेको गभर्नर कार्यालयले जनाएको छ।
आइतबार ह्यारिसबर्गमा भुटानी–नेपाली समुदायका सदस्यहरू र स्थानीय हिन्दु संस्थाहरूले उक्त ऐतिहासिक घोषणाको उत्सव मनाए। औपचारिक रूपमा उक्त प्रोक्लेमेसन (घोषणापत्र) तीन प्रमुख हिन्दु संस्थाका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो।
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (जीबीएचओ) श्री वैष्णव परिषद् ह्यारिसबर्ग र अर्गनाइजेशन अफ हिन्दु रिलिजन एण्ड कल्चर (ओएचारसी) ले पदाधिकारीले घोषणा पत्र ग्रहण गरेका थिए।
उनीहरुले हिन्दु धर्मका मूल मूल्यहरू -शान्ति, सम्मान र एकताको सन्देशबारे प्रस्टाएका थिए।
सो अवसरमा भुटानी नेपाली कम्युनिटी इन सेन्ट्रल पेन्सिलभेनिया (बीसीसीपी) का अध्यक्ष तथा गभर्नरको एशियन अमेरिकन एण्ड प्यासिफिक आइल्यान्डर (एएपीआइ) सल्लाहकार आयोगका सदस्य तिलक निरौलाले गभर्नर शापिरो प्रति धन्यवाद व्यक्त गरे।
“यो घोषणा केवल हाम्रो धर्मको सम्मान मात्र होइन, यो हाम्रो योगदानको उत्सव हो,” अध्यक्ष निरौलाले भने, “यसले पेन्सिलभेनिया राज्यको विविधता, समावेशिता, र सबै धर्मप्रति सम्मान देखाउँछ।‘
उनले आफ्नो समुदायलाई सम्मान गरेकोमा गभर्नर प्रति सम्मान व्यक्त गरे। ‘हामी गभर्नर शापिरोलाई हाम्रो साझा मूल्यहरू शान्ति, मेलमिलाप र मानव सेवाको आदर्शलाई सम्मान गरेकोमा हृदयदेखि धन्यवाद व्यक्त गर्छौँ।‘ निरौलाले भने।
कार्यक्रममा विभिन्न समुदायका अगुवा, धार्मिक प्रतिनिधि र स्थानीय बासिन्दाहरूको सहभागिता थियो।
सबैले यस घोषणाले आगामी पुस्तालाई आफ्नै संस्कृति र परम्पराप्रति गर्व गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
उनीहरुले पेन्सिल्भेनियाको सामाजिक एकतालाई अझ सुदृढ बनाउने बताए।