पेन्सिल्भेनिया एफसीले जित्यो ह्यारिसबर्ग च्याम्पियन्स लिगको उपाधि
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ह्यारिसबर्ग च्याम्पियन्स लिगको उपाधि पेन्सिल्भेनिया एफ सीले जितेको छ।
शनिवार भएको लिगको फाइनलमा योङ्ग हर्ट न्यु योर्कलाई दुईका विरुद्ध तीन गोलले हराउँदै पेन्सिल्भेनियाले उपाधि घरमा नै राखेको हो।
खेलमा दुई शून्यले पछाडि परेको अवस्थामा पेन्सिल्भेनियाले खेलको नतिजा उल्टाएको थियो।
खेलको शुरुवातमा नै निसान विष्टले योङ्ग हर्टलाई अग्रता दिएका थिए। विष्टको कडा प्रहारलाई विपक्षी गोलरक्षकले ठम्याउनै सकेनन्।
त्यसको लगत्तै जिम्मे शेर्पाले योङ्ग हर्टका लागि अन्तर दोब्बर पारे। तर दुई शून्यको त्यो अग्रतालाई उसले जोगाउन सकेन।
पेन्सिल्भेनियाका समीर गुरुङले गोल फर्काउँदै खेललाई २-१ को अवस्थामा ल्याए। त्यस पछि साजन मगरले खेल बराबरी बनाए।
खेल सकिन केही समय बाँकी हुँदा अजित सुब्बाले गरेको गोल पेन्सिल्भेनिया एफसीलाई उपाधि दिलाउन महत्त्वपूर्ण बन्यो।
सुब्बा नै फाइनल खेलको म्यान अफ दि म्याच बने।
एके म्यानेजम्यान्टद्वारा आयोजित लिगको यस अगाडि शनिवार नै भएको सेमिफाइनलमा पेन्सिल्भेनिया एफसीले बाल्टिमोर एफसीलाई ४-३ र योङ्ग हर्टले झापा ठिटोलाई २-१ गोलले हराएका थिए।
एक दिने लिगमा नौ टिमले भाग लिएका थिए। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी खेलाइएको थियो।
लिगमा व्यक्तिगत तर्फ पनि पेन्सिल्भेनिया एफसीका खेलाडीको दबदबा रह्यो । पेन्सिल्भेनिया एफसीका मनोज चुहान मस्ट भ्यालुएवल प्लेयर घोषित भए। यस्तै सर्वाधिक गोलकर्ता समिर गुरुङ भए। उनले पाँच खेलमा दश गोल गरेका थिए।

बेस्ट मिडफिल्डर योङ हर्टका निश्चल बस्नेत घोषित भए। बेस्ट डिफेन्समा पेन्सिल्भेनियाका सौगात राई, वेस्ट गोलकिपर पेन्सिल्भेनयाकै कृष्ण सुनुवार घोषित भए।
लिगको विजेताले सात र उपविजेता चार हजार डलर नगद पुरस्कार, मेडल र ट्रफी पाए। विजेता टिमलाई इन्ट्रा फाउन्डेशनका सांस्कृतिक विभाग प्रमुख ओमराज गुरुङ र उप विजेतालाई इन्ट्रा फाउन्डेशनका कार्यकारी निर्देशक चुडामणि भट्टराई पुरस्कार प्रदान गरेका थिए।















