यो अकथा हो, जीवनको

Getting your Trinity Audio player ready...
|
गण्डकीपुत्र
यो दशैं रमाइलो भएन । एक दिन दशैं मेला गइयो । ह्यारिसबर्गमा दशैं मेला यो दोश्रो वर्ष हो । त्यहाँ कविता पढ्नु पर्छ भनेर केशब वैरागीले बोलाएका थिए । किन हो केशब वैरागी मलाई प्रेम गर्छन् । त्रिवेणि साहित्य मञ्चको अध्यक्ष उनी संस्थाको गतिविधिले समाजमा केही सन्देश दिन चाहन्छन् होला । कार्यक्रममा मुख देखाइयो भनौँ न , मेलाको भिडमा कविताको संवाद त्यति अनुकूल हुन्न । तर पनि पढियो । त्यसपछिका दिन घरमै अध्ययनमा बित्यो ।
यसै बिच एउटा कुराले म झस्किएँ । यस कारण पनि बिरहिणी म तिमीलाई धेरै सम्झिरहेको छु । मेरो हर कविताका अक्षरमा तिमी छौ र म लेख्न सकिरहेको छैन र तिमी सङ्ग साक्षात्कार हुने त्यो अवसर वाट वञ्चित छु । केही तनावमा छु र तिमीले भनेको एउटै कुरा सम्झिरहेको छु । तिमी पटक पटक भन्थ्यौ । तिमी अरूको विश्वासमा पर्छौ तर त्यही मानिसले तिमीलाई बेइज्जत गर्छ । बिरहिणी म अहिले तिमीले भनेको त्यही कुरा सम्झेर आफैसँग हाँस्दै छु । मैले कहिले पनि तिम्रो कुरालाई गम्भीर भएर लिन सकिन र दिल्लगी गर्दै तिमीले भनेको कुराले मलाई पिछा गर्न छोडेन । मानौँ म अश्वत्थामा हुँ र मेरो निधारमा गल्ती नगरीकनै जबरजस्त टन्की रहने घाउको खत लगाइएको छ । यो खत मलाई मेरो सबभन्दा नजिकको आत्मीय साथीले दिएको हो ।
मानिसले मलाई कसरी बुझ्छ त्यो कुरामा मलाई त्यति वास्ता छैन । म त्यस्तो खास पनि होइन जसको बारेमा बुझ्नु परोस् । तिमी सङ्ग जब देखी भेट भयो मैले तिम्रो कलाकारिताको पूजा गरेको छु । भनौभने म कलाको पुजारी छु । सायद तिमी सङ्ग भेट भएपनी नभए पनि म तिम्रो नृत्य कलाको सधैँ सम्मान र आदर गर्छु । तिमी ले एक दिन भनेको सम्झन्छु । हामी नारी भनेको प्रेम र सम्मान समर्पण गर्न धर्तीमा अवतरित भएका हौँ । म तिमीलाई मेरो प्रेम समर्पण गर्छु । मैले त्यसको कडा प्रतिवाद गर्दा तिमीलाई सम्झना छ ? तिमी ले मलाई कस्तो रिसाएको भनेकी थियौ । मेरो भनाई थियो । नारीलाई बाँध्ने पहिलो साङ्लो हामी ले मान्दै आएको कुसंस्कार हो । त्यसपछि पितृ सत्ता हो र अर्को भनेको महिला स्वयम् आफू लाई आएका समस्यामा आफू नबोल्नु हो ।
अशिक्षा , अज्ञानताले पुरुष आफू बलशाली भएको भ्रममा नारीलाई अघि बडेर आफ्नो समस्यामा बोल्न दिनुभन्दा पहिले आफू अग्रसर भएर समाधान खोज्ने परिपाटी हाम्रो हिन्दु संस्कारमा विद्यमान छ । यो एक प्रकारको सामन्ती संस्कार पनि हो । मैले यसो भनिरहँदा तिम्रो भाव कति गम्भीर भएको थियो । मैले जिस्केर भनेथे , बुद्धजस्तै शान्त भयौ त बिरहिणी । तिमीले भनेकी थियौ । के यो सब तिमीले किताबमा पढेको हो ? तिम्रो यो प्रश्न सुनेर म चुप लागेको थिए ।
नारीलाई भोग्य बस्तु भन्दा पर नदेख्नेहरूले , शृङ्गारको साधन ठान्नेहरूले नारीको प्रयोग ठाउँ कुठाउँ गरेको पाइन्छ । कतिपय घटनामा नारीलाई ढाल बनाएको पाइन्छ । नेपाली समाजमा सत्ताको अतिचारका विरुद्ध बोल्ने महिलाहरूमा योगमायाको नाम अग्रपङ्तीमा आउँछ । अन्यत्र पनि महिलाहरूले अभूतपूर्व साहस प्रस्तुत गरेका छन् । तसर्थ बिरहिणी तिमी प्रेम समर्पण गर्न मात्र होइन आफ्नो परिचय खोज्न पनि तत्पर हुनुपर्छ । मेरो यति कुरा सुनेपछि तिमीले लामो सास तानेर भन्यौ । तिमी बोल्न थालेपछि मेरो त बोल्ने कुरै हराउँछ गण्डकी ।
बिरहिणी तिमी ले मेरो बारेमा सोधेकी थियौ नि । त्यति बेला मैले हाँसेर टारेको थिए । आज भन्छु सुन । म निम्न मध्यम किसान परिवारमा जन्मिएको मेरा बा आमाको साइँलो छोरो हुँ । मैले बस्तुभाउ घाँस दाउरा गरेर सामान्य लेख पढ गर्न सिकेँ । म सङ्ग कुनै विश्वविद्यालयको प्रमाणपत्र छैन । मैले जान्दा देखी म सधैँ आवाज विहीन र गरिबहरूको पक्षमा बोल्ने गर्थे । त्यसैले होला म सधैँ सत्ताको विरुद्धमा उभिन्थे । म थारु गाउँमा हुर्किएको हुनाले मेरो उठबस बढी तिनै सङ्ग हुन्थ्यो । यो सोझो जाती अत्यन्त मेहनती हुन्छन् । म तिनको पक्षमा बोल्थे । दलित उत्पीडित लाई उपल्लो जाती भनिएकाहरू घर भित्र पस्न दिँदैन थिए । यो विषयमा म हल्ला गरी रहन्थेँ ।
मेरा बा यो कुरामा मेरो पक्षमा हुनुहुन्थ्यो । वहाँ श्रीबैष्णब हुनुहुन्थ्यो र तिलक लगाएर हिँड्नु हुन्थ्यो । खाना त बा मैले छोएको पनि खानु हुन्थ्यो । तर मानिस जोसुकै भएपनी घरभित्र पस्न प्रतिबन्ध थिएन । म आमाको पनि प्रिय थिए अरू दाजुभाइ भन्दा । औशी पूर्णिमाका दिन र अन्य चाडपर्वमा मझेरी , पीढी , अगेनु सबै लिप्नु र पोत्नु पर्थ्यो म आमालाई त्यो काममा सघाउँथे । आमा महिनावारी हुँदा बढी खुन जान्थ्यो र ओछ्यान पर्नु हुन्थ्यो । त्यस्तो बेला आमाले लगाएका कपडा घर पछाडिको होलिमा लगेर म घुम्थे । सायद यी आमाका दुर्दुरता पीडा नजिकबाट देखेर होला म महिला हक अधिकारको विषयलाई गम्भीर भएर अध्ययन गर्थे । बिरहिणी तिमी मेरो साथी हौ । तिमी सङ्गको सम्बन्ध साथीको हो । महिलाका अनेक रूप हुन्छन् । आमाहरू , दिदीहरू , बहिनीहरू , साथीहरू , पत्नी र प्रेमिका । बिरहिणी तिमी मेरो पत्नी र प्रेमिकाभन्दा माथिको साथी हौ र त तिमी मेरो लेखनीमा आइ रहन्छ्यौ ।
बिरहिणी तिम्रो दशैं कस्तो भयो । अचेल सम्पर्क छैन । सम्झना गर्न र आत्मिक सम्मान प्रकट गर्न सम्पर्क हुनुपर्छ भन्ने पनि छैन । कुनै आशा राखेर न तिमीले न मैले सम्बन्ध जोडेको हो ।
तिमी बिरामी भएर हस्पिटलको बेडमा सुतेकी छ्यौ भनेर कसैले तिम्रो तस्बिर फेसबुकमा देखाइदियो । तिमीलाई के भयो बिरहिणी जब तिमी स्वयम् एक योद्धा जस्ती थियौ ? तिमी भन्थ्यौ नि , गण्डकी तिमी भाग्यमानी छौ कि तिमी लाई माया गर्ने पत्नी छन् । उनले तिमीलाई मेरो भन्दा बढी माया गरून् । मेरो अन्तस्करणले भन्छ यो सम्बन्ध अटुट होस तर कता कता मलाई बिर्सन्छौ कि भन्ने पीडा पनि छ । तिमी सङ्गको सम्बन्ध मात्र सम्झना त हो नि गण्डकी ! बिर्सन्नौ त होला नि । तिम्रो यो भनाइले म आफैँसँग अलमलिन्थे ।
मेरो लागि बिरहिणी तिमी भन्दा सुन्दर कुनै युवती या आइमाई छनननै । सुन्दर त चरित्र हुनु पर्छ । व्यवहार हुनुपर्छ ।जो तिमीबाट पाएको छु । मेरा लागी तिमी बाहेक सम्झनु पर्ने वा पछि लाग्नु पर्ने महिला छैनन् । कसै सङ्ग कुनै दिन बोले या जिस्किएपनी त्यो तत्क्षणको रमाइलो मात्र हो । खै किन हो ? बिरहिणी ! मेरी श्रीमती तिमी लाई नजानिँदो प्रेम गर्छिन् । उनी तिम्रो टिकटक हेर्दी रहिछिन । मलाई लागेथ्यो तिमी बिरामी भएको खबर कुनै साथीबाट थाह पाएको थिए भ्रम रहेछ । उनै बाट थाह पाएको रहेछु , तिमी बिरामी भएर हस्पिटलमा सुतेको खबर । जस्तो छौ चाडै जाती हुनु । यही कामना छ ।
तिमीलाई मेलाको कुरा गरेथेँ । मैले मेलामा या अन्यत्र सुनाएको कविता जहाँ होस । मेरो कविताको विषय या प्रसङ्ग तिमी सङ्ग जोडिएको हुन्छ । तिमी जन्मिएको भूगोल र म जन्मिएको भूगोल फरक हो । मित्रताले हामी एक भयौँ तर नियति हामी ले उस्तै भोग्यौँ । र त तिम्रो हृदयको आवाज म मेरो कवितामा पोख्न खोज्छु । म कति सफल छु या असफल तिमी नै खुट्ट्याउन । कविता यही हो हेर ।
हामी सङ्गै छ हाम्रो पहिचान
छोड्नु पर्यो देश
छोड्नु पर्यो हामीले सन्तानलाई झै
माया गरेर हुर्काएका
सुन्तला र अलैचिका बोटहरु
हाम्रा सुखदुःखका साथीजस्ता
गोठमा बाधिएका गाई बस्तु छोडिए
छोडियो मुटुकै टुक्रा जस्ता
धान फल्ने खेत
पानी भर्ने पधेरो
र सन्तमान साहुको पान पसल ।
त्यसरी नै छोडियो हाट बजार गर्न
सधै बोकि हिड्ने नाम्ला र डोकाहरु
ठेकी छुट्यो , मदानी छुट्यो
बर्षै पिच्छे बनाई रहनु पर्ने कुलाको
टारी खेतमा बग्ने पानी छुट्यो
आमाले दुना टपरी गांस्न
पात टिप्ने सालका पोथ्राहरु
आलि ताछ्ने कोदालो
र पर्मजादाँ ओड्ने घुम छुट्यो ।
छोडिए पनि सबै कुरा
छोडिएन आफ्नो पहिचान
आफ्नो जातीको गौरब गाथा
छोडिएन पुर्खाले लडेको बिरताको कथा
अहिले हामीसङ्गै छन
दशैको मेला र तिहारको देउसी
हामी सङ्गै छन सिलि र साकेलाहरु
रोदिको मादल र ह्लोसारको गित ,
हामी सङ्गै छन
हामिले पुज्दैआएका देबि देउता
गायन्त्री मन्त्र , मुन्धुम र पालमहरु
आमाको माया हामीसङ्गै छ
बाबाको भरोसा हामी सङ्गै छ
साथीको साथ र मायालुको हात
हामी सङ्गै छ !
छोड्दा खेरी जन्मिएको माटोमा
अलिकती माया छोडियो
खसेका दुइथोपा आँसु
भक्कानिएको उच्छ्वास छोडियो
पुर्खालाई बिसाएको
घाट छोडियो
त्यो चिहान घारी र पाखो वारि छोडियो
नानीहरुको खेल्ने आगन
सुन्तलाका बगान
आफैले बनाएको
सडक र बाटो छोडियो
अरु त सग्लै लिएर आएका छौ
काधको जनै , चन्डीको च्याब्रुङ
बुद्धको मानेपेमे हुँम
गिताका पबित्र रिचाहरु
श्रम गर्ने हात र माया गर्ने मन ।
छुटेका छन केही आफन्त
भेट्नु छ एकदिन
भत्कने छ निशेध गर्न लगाइएको पर्खाल
उभिने छ न्यायको झण्डा
च्यातिने छ हामी लाई लखेट्ने कानुन
जलाइने छ देश छोड्न बाध्य बनाउने न्याय
फर्कने छौ आ-आफ्नो घर
जो जहाँबाट आएको होस
चुम्ने छौं आफू जन्मिएको माटो
हेर्ने छौं आफू जन्मिदा हेरेको आकाश
फेरि बाँच्ने छौं
अग्रजले झै निर्धक्क जीवन
रोक्ने तागत हुने छैन
ढुङ्गाजस्ता चिसा बन्दुकहरुमा
निर्वाध पस्ने छौ आफ्नो देश ।
यत्ती हो , अहिले हामी यहिबाट
एकोहोरो संम्झिरहेकाछौं देश !
र यो पनि…