अमेरिकी नेपाली समाजमा किन बढ्दो छ आत्महत्या ?

Getting your Trinity Audio player ready...
|
डा. अविन ओझा
प्रसङ्ग,
अमेरिकाको विभिन्न मूल्य मान्यता मध्ये एक हो, कडा परिश्रम र समुन्नति । सामान्य परिश्रम र सीपले पनि समापन्नजनक तथा सुविधाजनक जीवन सम्भव हुन्छ, अमेरिकामा । शिक्षा, सीप र लगानीले यहाँ निकै लोभलाग्दो अवसरहरूको ढोका खोलिदिन्छ । असीमित अवसर र सम्भावनाका कारण नेपालीहरूको पनि आकर्षणको देश हो, अमेरिका । करिब तीन लाख को हाराहारी नेपालीहरू अमेरिका मा बसोबास गर्दै आएका छन् । नेपाली भाषी सबैलाई समावेश गर्ने हो भने मातृभाषा नेपाली हुनेको संख्या करिब १० लाखको हाराहारीमा होला । पछिल्लो समय नेपाली समाज अमेरिकामा आत्महत्याको घटना सामाजिक समस्याको रुपमा देखा परेको छ । यस आलेखमा आत्महत्या का सन्दर्भमा केही सिद्धान्तगत र तथ्यगत विषयवस्तुको चर्चा गरिएको छ ।
कस्तो छ त आत्महत्याको तथ्याङ्क ?
सी.डी.सी. (२०२३) को पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सन् २०२३ मा ४९ हजार आत्महत्या भएको थियो । यो आँकडा अनुसार अमेरिकामा हरेक ११ मिनेट मा १ जनाको मृत्यु आत्महत्या बाट हुन्छ ।
अमेरिकामा नेपालीको आत्महत्याको ठ्याक्कै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन । पछिल्ला केही वर्ष यता अमेरिकी नेपाली समाजमा वार्षिक आधा दर्जन मृत्युको कारण आत्महत्या हुने गरेको आँकलन गर्न सकिन्छ । अमेरिकामा नेपाली भाषी भुटानी समुदायको तथ्याङ्क भने अमेरिकी राष्ट्रिय औसत भन्दा झन्डै दोब्बर छ । एक तथ्याङ्क अनुसार प्रति एक लाख भुटानी मध्ये २४ दशमलव ४ जनाको मृत्यु आत्महत्या बाट हुने गर्दछ । सी.डी.सी. का अनुसार अमेरिकामा प्रति एक लाख मानिसमा १४ दशमलव एक जनाले आत्महत्या गर्ने गर्दछन् । सानो संख्यामा रहेका नेपाली समुदायमा पनि पछिल्ला केही वर्ष यता आत्महत्याको घटना बढ्दो छ ।
त्यसो त, नेपालमा पनि आत्महत्याको तथ्याङ्क निकै भयावह छ । दी काठमाण्डौं पोष्टको सेप्टेम्बर १५, २०२५ प्रकाशित एक सामग्रीका अनुसार नेपालमा आर्थिक वर्ष (ईस्वित सम्वत्) २०२३/२४ मा सात हजार दुई सय २३ आत्महत्या भएको थियो । सोही सामग्री अनुसार उक्त आर्थिक वर्षमा प्रत्येक २४ घण्टामा २० आत्महत्या भएका थिए । यसको कारण तथा रोकथामको चर्चा अर्को आलेखमा गरौँला ।
आत्महत्याको कारण सम्बन्धी समाजशास्त्री डुरकाइमको विश्लेषण
प्रसिद्ध फ्रेन्च समाजशास्त्र एमिल डुरकाइम ले १८९७ मा पश्चिमेली समाजमा सुसाइड (आत्महत्या) को समाजशास्त्रिय अध्ययन गरेर सुसाइड नामक पुस्तक प्रकाशन गरेका थिए। उक्त पुस्तकमा डुरकाइमले आत्महत्याका चार सामाजिक कारण या प्रकारका विश्लेषण गरेका छन् ।
पहिलो, अहङ्कारी आत्महत्या (इगोइस्टिक सुसाइड) । यस अन्तर्गत जब मानिस प्रचलित सामाजिक मूल्य र मान्यता अनुरूप जीवन यापन गर्दैन । समाजबाट अलग महसुस गर्दछ । समाजसँग सम्बद्ध नभएको तथा एक्लिएको पाउँछ । तब, मृत्यु को बाटो रोज्दछ ।
दोश्रो, परोपकारी आत्महत्या (अलट्र्स्टीक सुसाइड) जस अन्तर्गत असीमित व्यैक्तिकरण र अपर्याप्त व्यैक्तिकरण । असीमित व्यैक्तिकरण भन्नाले मानिसहरू समाज र सामाजिक जीवनबाट निकै अलग्गिएको या एक्लिएको हुन्छ । अर्को तर्फ, अपर्याप्त व्यैक्तिकरण अन्तर्गत मानिस समाज र सामाजिक जीवन सँग निकै भर परेको या आश्रित हुन्छ । यी दुवै कुरा आत्महत्या दुरुत्साहन गर्दछन् । जस्तो कि पतिको मृत्यु पश्चात् पत्नीले आत्महत्या गर्नु या धर्म गुरु या शासक को मृत्यु पछि शिष्यको आत्महत्यालाई यसको उदाहरण मान्न सकिन्छ ।
तेश्रो, विसङ्गति (यानमि) आत्महत्या । यस धरै जसो आत्महत्याको कारक हो । विसङ्गति (यानमी) मनको चाहना र परिपूर्तिको खाडल ले सृजना गर्ने निराशा र हीनता हो । युद्ध, प्रकोप, जीवनमा निकै छिट्टो परिवर्तन, एवम् नयाँ परिवेश अनुकूल बन्न नसक्नु आदीले यस्तो अवस्था निम्ताउने गर्दछ ।
चौथो, भाग्यवादी (फेटलीस्टीक) आत्महत्या । समाजको जड सूत्र वाद, कडा नीति, भाग्यवाद, धर्म आदी जस्ता विषयका कारण पनि मानिसले आत्महत्याको बाटो रोज्न पुग्छ ।
यी त भए सिद्धान्तगत विश्लेषण । अव नेपाली समाजमा किन बढ्दो छ आत्महत्या? यसको व्यावहारिक पक्षको चर्चा गरौँ ।
नेपाली समाजमा किन बढ्दो छ त आत्महत्या?
यसको चर्चा पूर्व आत्मघाती विचार धार किन मानिसमा आउँछ त्यसको बहस गर्नु जरुरी छ । कुनै पनि मानिसले जीवन यात्रा समाप्त गर्ने निर्णय लिनु पूर्व उसमा आउने नैराश्य विचार नै आत्मघाती विचारधारा (सुसाइढल आइडसेन) हो । बृहद रुपमा भन्नु पर्दा पारिवारिक, आर्थिक, व्यैक्तिक र सामाजिक समस्या तथा मानिसक रोगका कारण उत्पन्न हुने नैराश्य एवं भय, दोष, रिस, बेहोसपन आदीले आत्मघाती विचारधारा प्रेरित गर्दछ । सूक्ष्म रुपमा सुसाइड आइडेसनको विश्लेषण गर्ने हो भने, यसका विभिन्न कारणहरू छन् । जसलाई यहाँ प्रस्तुत गरिएको छ ।
पहिलो, यानमी अर्थात मूल्यहीनता एवम् दिशाहिनता । यानमीलाई समाजशास्त्री डुरकाइमले प्रतिपादन गरे भने यसको बृहद व्याख्या रर्वट के. मोर्टन गरे । सामान्य अर्थमा यानमी एउटा यस्तो अवस्थाको जहाँ मानिस नियम-विहीनता महशुस गर्दछ । आफू अर्थ-विहीन भएको ठान्दछ । यसको मूल कारण हो, आफ्नो इच्छा वा आकंक्षा अनुसार को सफलता प्राप्त गर्न नसक्नु । आकंक्षा र परिपूर्तिको दुरी ले मानिसमा नैराश्यता पैदा गर्दछ । अमेरिकालाई सपनाको देश मानिन्छ । मानिसहरू यहाँ पाइला टेक्न साथ सुविधाको पहाड चढ्न पाइन्छ भन्ने बुझाइ रहेको हुन्छ । तर, यर्थाथ भने फरक छ । अमेरिका यस्तो देश हो, जहाँ कडा परिश्रम गर्न नसक्ने मानिस सिधै गरिबीमा धकेलिन्छ । धैर्यता गर्न नसक्ने मानसिक रोगको शिकार बन्न सक्छ ।
दोश्रो, इनकम्पयाटवीलिटी अर्थात, पारिवारिक सदस्य तथा पति-पत्नी बीचको सम्बन्ध सुमधुर र सन्तुलन कायम राख्न नसक्नु । पारिवारिक खर्च, भौतिक सुविधा, र अचल सम्पत्तिको लागी परिवारका प्रायशः सबै वयस्क र सक्षम सदस्यले काम गर्नु पर्ने बाध्यता सबै आप्रवासीको साझा समस्या हो । यसले परिवार र पारिवारिक जिम्मेवारी का लागी समय निकै कम मिल्ने गर्दछ । यसका कारण पनि पति-पत्नी बीच सन्तुलित सम्बन्ध कायम राख्न पनि चुनौती पूर्ण हुन्छ । यस्तो, अवस्थालाई व्यवस्थापन गर्न नसक्ने परिवारमा पारिवारिक बेमल हुन्छ । घरेलु हिंसा, विवहाइत्तर सम्बन्ध तथा परागमान लाई पनि प्रश्रय मिल्छ । फतल, पारिवारिकि दुर्घटना निम्तिन पनि सक्छ ।
तेश्रो, एक्स्पोज अर्थात, आफूलाई समाजमा अरू भन्दा फरक तरीकाले प्रस्तुत गर्ने बानी । हाम्रो समाजमा कतिपय व्यक्ति या परिवार आफ्नो परिस्थिति र अवस्था भन्दा अब्बल शैलीको जीवनयापन गरेको प्रदर्शन गर्दछन् । जुन केही हिसाबले कसैका लागी प्रेरणा पनि होला । आर्थिक हिसाबले उच्च रहेको परिवार र समुदायको लागी उचित पनि होला । तर, त्यो रूपको जीवन शैली र सोख ले पारिवारिक सम्बन्ध र आर्थिक पाटो कहिले सम्म चल्छ । यसलाई पनि ख्याल राख्नु पर्ने हुन्छ । आफू रित्तिएर, ऋणमा डुबेर, परिवारको सदस्यलाई साथमा नलिईकन गरिने कुनै पनि समाज सेवा, दानवीरता, एवम् सहभागिता प्रायशः अहितकार हुन्छन् । यसले केवल पारिवारिकि दुर्घटना मात्र निम्त्याउँछ ।
चौथौँ, बुलिङ्ग अर्थात, कसै-कतै बाट भयभीत या पीडित हुनु । भाषा, पहिरन, र वर्ण को आधारमा पीडित हुनु या कसैबाट भयभीत हुनु नयाँ भूमिमा आप्रवासीको साझा समस्या हो । यस्तोमा नेपाली समाज पनि अछुतो छैन । यसमा स्कुले बच्चा र बुढ्यौली अवस्थाका मानिसहरू अन्य उमेर समूहका भन्दा बढी संवेदनशील हुन्छन् । यसर्थ, परिवारका सदस्यहरूले यो विषयमा गम्भीर नहुने हो भने, अस्वाभाविक दुर्घटनाको शिकार हुन सक्छ।
पाँचौँ, ड्र्र्ग्स एण्ड डिप्रेशन अर्थात लागु दुर्व्यसन तथा मानसिक रोग । कतिपय अवस्थामा लागु औषध दुर्व्यसन तथा मानसिक रोगका कारण पनि मानिसले स्वमृत्युको मार्ग रोज्न सक्दछ । यसर्थ पनि परिवारका सबै सदस्यहरूले एक अर्काप्रति निकै चासो राख्नु पर्दछ । हरेकले एक अर्काको बानी व्यवहारको ख्याल राख्नु पर्दछ । यस्तो समस्या परिवारको सदस्यमा भएका तुरुन्त स्वास्थ्य सेवा लिन हिचकिचाउन हुँदैन ।
छैटौँ, नेग्लेट्स एण्ड इनसेक्युर अर्थात उपेक्षा तथा असुरक्षा । जब अवस्थामा मानिसले आफू परिवार, समाज, र राज्यबाट उपेक्षा तथा असुरक्षाको महशुस गर्दछ, त्यसले पनि जीवन मोहमा ह्रास पैदा गर्दछ । मुलत, बालबालिका, वृद्धा, र फरक तरीकाले सक्षम व्यक्तिहरू प्रयाश: यो समस्याको शिकार हुने गर्दछन् ।
कसरी थाह पाउने त सुसाइडल आइडेसन का लक्षणहरू ?
मेओ क्लिनिक को एक सामाग्री अनुसार मानिसले आत्महत्या पूर्व विभिन्न खाले स्वभाव एवम् कार्य गर्दछ । आत्महत्याको बारेमा धारण बनाउने, बोल्ने, लेख्ने गर्दछ । अस्वाभाविक औषधी, विष, डोरी आदीको खरिद गर्ने । परिवार, साथीभाइ, र सामाजिक कार्यबाट दुरी बढाउने, एक्लै बस्न रुचाउने । छिन छिन मा मनस्थिति परिवर्तन गर्ने, व्याकुल मनस्थिति । बेमेल दैनिकी, फरक व्यवहार, र अजिब दिनचर्या देखिने । लागु औषध सेवन गर्ने या निरस देखिने । तथा अन्तिम तिर नजिकका मानिसहरूलाई अन्तिम अभिवादन गर्ने सम्मका लक्षणहरू देखा पर्दछन् । यी, लक्षणहरूको बेलैमा पहिचान गर्न सके, सुसाइडल आइडेसन भएका मानिसको जीवन रक्षा गर्न सकिन्छ ।
अन्तमा,
आत्महत्या एक जटिल सामाजिक समस्या हो । यसले परिवार मा तत्कालीन मनोवैज्ञानिक, पारिवारिकि तथा आर्थिक समस्या मात्र दिँदैन । एक व्यक्तिको अस्वाभाविक मृत्युले परिवारमा कम्तिमा एक पुस्ताको लागी पिडा छोडेर जान्छ । यसर्थ रोकथाम का लागि परिवार र समाज एकै ठाउँमा उभिनु पर्दछ । यसका लागी परिवारको सदस्यहरू बिच कम्तिमा पनि फोर सी अर्थात कनेकटेडनेस (सब्द्धता), कम्युनिकेसन (संवाद), केयर (ख्याल), र क्रियाटिभीटी (सिर्जन शीलता) हुनु जरुरी छ ।
(डा. ओझा, मिनेसोटा नर्थ क्याम्पसमा समाजशास्त्र संकायका प्राध्यापक हुन्, उनी फोर्ट हेज स्टेट युनिभर्सिटी केन्ससमा पनि अध्यायन गराउछन्।सं.)