नेविसंघ स्थापना र वर्तमान विकृत विद्यार्थी राजनीति: उत्सब नरसिंह केसी

Getting your Trinity Audio player ready...
|
नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिको ठूलो भूमिका रहेको छ।
समयसँगै विद्यार्थी राजनीतिले अनेक उतारचढाव पार गरेका छन्, तर आजको दिनमा यसको रूप र उद्देश्य निकै विकृत भएको छ।
जहाँ विद्यार्थी राजनीति शैक्षिक सुधार, सामाजिक न्याय र लोकतान्त्रिक परिवर्तनको अगुवा थियो, आज यो केवल राजनीतिक दलहरूको आस्थापत्र बन्न पुगेको छ।
नेविसङ्घको स्थापना र उद्देश्य
नेविसंघ अर्थात नेपाली काङ्ग्रेस पार्टीमा नेता उत्पादन गर्ने थलो। हाल काङ्ग्रेसको केन्द्रीय तहमा स्थापित अधिकांश नेताहरु नेविसंघबाटै आएका हुन्।
नेविसंघका संस्थापक संयोजक अर्जुन नरसिंह केसी को संयोजकत्वमा २०२७ वैशाख ६ गते औपचारिक रुपमा स्वयम्भूको सतलमा सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईबाट उद्घाटित नेविसंघले हालसम्म आइपुग्दा निकै जटिलताहरु भोगेको विषय हामी सबैलाई ज्ञात नै छ।
नेपाल विद्यार्थी सङ्घको स्थापना र यसको प्रारम्भिक उद्देश्यले नेपालको राजनीतिक इतिहासमा ठूलो भूमिका खेलेको छ। नेविसङ्घको स्थापना सँगै विद्यार्थी राजनीति एउटा महत्वपूर्ण सामाजिक परिवर्तनको चालकको रूपमा उभियो।
नेपाल विद्यार्थी सङ्घको उद्देश्य भनेको विद्यार्थीहरूको हक र अधिकारको रक्षा गर्नु मात्र थिएन, देशको समग्र सामाजिक र राजनीतिक उन्नतिको लागि योगदान गर्नु पनि हो। यस्तै मुलुकको जेठो विद्यार्थी संघ, “नेविसंघ”को ५६ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
विकृत विद्यार्थी राजनीति
विद्यार्थी राजनीति, जुन शिक्षालयको आँगनमा छात्र-छात्राबीच राजनीतिक सचेतना फैलाउने उद्देश्यले सुरु भएको थियो, आजको दिनमा यसको मूल उद्देश्य गुमाउन पुगेको छ। विद्यार्थी सङ्घ र अन्य संगठनहरूको स्थापना शिक्षा र सामाजिक न्यायको आधारमा गरिएको थियो, तर वर्तमान अवस्थामा यसको वास्तविक उद्देश्य प्रायः भुलिएको छ। विद्यार्थी नेताहरूको प्राथमिकता शैक्षिक सुधार भन्दा पनि पार्टीको शक्ति बढाउने र व्यक्तिगत स्वार्थ सिद्धि बनिसकेको छ। यस कारण, विद्यार्थी राजनीति विकृत हुँदै गएको छ र यसको प्रभाव विद्यार्थीहरूको मानसिकता र शैक्षिक वातावरणमा नकरात्मक रूपमा देखिदै गएको छ।
आजको विद्यार्थी राजनीतिमा पार्टीको राजनीति, गुटबन्दी, र व्यक्तिगत स्वार्थ बढी हावी भएका छन्। विद्यार्थी संगठनहरूको मूल उद्देश्य अब शिक्षा र सामाजिक न्यायको रक्षा नगरी, पार्टीको विचारधारालाई स्थापित गर्नु बनिसकेको छ। विद्यार्थी नेताहरूको चिन्ता भनेको आफूलाई पार्टीका संरक्षकका रूपमा प्रस्तुत गर्नु र बलियो बनाउनु भएको छ। यसले विद्यार्थी राजनीति र विद्यार्थी सङ्घको छवि धूमिल बनाएको छ।
विद्यार्थी नेताहरू प्रायः शक्तिका लागि मात्र प्रतिस्पर्धा गर्दैछन्; उनीहरू क्याम्पसको थलोमा भन्दा नेताको दैलोमा हुन्छन् , जसका कारण विद्यार्थी राजनीति अस्वस्थ र विकृत हुँदै गएको छ। नेपाली विद्यार्थी राजनीतिमा वर्तमान समयमा पार्टीवादी हित र व्यक्तिगत
स्वार्थको प्रमुख प्रभाव देखिन्छ। विद्यार्थी नेताहरूले देशको समग्र सुधारको सट्टा आफ्ना पार्टीका विचारधारामा केन्द्रित गर्दै, गुटबन्दी र आन्तरिक झगडामा आफ्नो शक्ति बढाउने काम गरिरहेका छन्। यसले विद्यार्थी राजनीतिलाई विकृत र असमझदारीको दिशा दिएको छ। वर्तमान विद्यार्थी आन्दोलनहरूमा हिंसा र संघर्ष एक प्रमुख विशेषता बनिसकेको छ। विद्यार्थी संगठनका बीचमा संघर्ष र
द्वन्द्व भनेको एउटा सामान्य दृश्य जस्तो भएको छ। विश्वविद्यालय र क्याम्पसहरूको वातावरणमा नियमित रूपमा हिंसा र असहमति भइरहेका छन् जसले विद्यार्थीकै मनोबल र शैक्षिक वातावरणलाई असर पुर्याएको छ।
यस्तो विकृत विद्यार्थी राजनीतिले विद्यार्थीहरूको मुख्य उद्देश्य शिक्षा र समाज सुधारलाई मात्र नभई राष्ट्रिय एकता र सामाजिक समृद्धिलाई पनि अवरुद्ध बनाएको छ। विद्यार्थी नेताहरूको शक्ति र प्रभाव बढाउने चाहनाले यस क्षेत्रलाई व्यावसायिक राजनीति बनाएको छ, जसको कारण शिक्षा र विद्यार्थीका हकका लागि संघर्ष कम र पार्टीका मुद्दाहरूको लागि बढी ध्यान केन्द्रित भएको छ।
विद्यार्थी राजनीतिमा सुधार ल्याउनका लागि सबैभन्दा पहिलो कुरा भनेको शैक्षिक उद्देश्यको पुनःस्थापना गर्नु हो। विद्यार्थी संगठनहरूलाई यथार्थमा समाज र राष्ट्रका हितमा काम गर्नका लागि स्पष्ट दिशा र उद्देश्य तय गर्न आवश्यक छ। त्यसैगरी, विद्यार्थी नेताहरूले राजनीतिक गुटबन्दी र झगडामा भन्दा, शिक्षा र समाजको समृद्धिका लागि काम गर्न प्राथमिकता दिनुपर्छ।
विद्यार्थी राजनीति कुनै एक पार्टीको लागि मात्र नभई सम्पूर्ण राष्ट्रको भविष्य निर्माणको लागि हुनुपर्छ। यसलाई बलियो र प्रभावकारी बनाउनका लागि विद्यार्थीहरूलाई शिक्षा र नेतृत्वका दृषटिले तयार पार्न जरुरी छ। यसका साथै, विद्यार्थी संगठनहरूमा आन्तरिक लोकतन्त्र र पारदर्शिता लागू गर्नुपर्ने आवश्यकता छ।
विद्यार्थी राजनीति नेपाली समाज र राष्ट्रको महत्वपूर्ण अंग हो। यसको इतिहास ठूलो संघर्ष र परिवर्तनको छ, तर आज यसका उद्देश्यहरू विकृत भएको देखिन्छ। विद्यार्थी राजनीति र संगठनलाई पुनः शैक्षिक, सामाजिक र राष्ट्रिय हितमा केन्द्रित गर्न आवश्यक छ, ताकि यसले सकारात्मक परिवर्तन र सामाजिक समृद्धि ल्याउन सकोस् ।
केसी शंकरदेव क्याम्पसका विद्यार्थी नेता हुन्।