अमेरिकी राष्ट्रिय टिमको सपना साकार पार्न डिस्काका खेलाडी लस भेगास तर्फ
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ आधा शताब्दी उमेर नाघेका रन राई तीन दशक भन्दा धेरै समय देखि करातेमा छन्।
ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन डो (डिस्का) का प्रमुख प्रशिक्षक राईलाई खेल जीवनमा थै थै लाग्ने भनेको एउटै कारण छ, उनले कहिल्यै राष्ट्रिय टिमबाट कहिल्यै खेल्न पाएनन्।
तन्नेरी उमेरमा उनी जन्मिएको देश भुटानबाट लखेटिए। त्यस पछि लगभग दुई दशक उनी नेपालको शरणार्थी क्याम्पमा बसे। नेपाल बसाइँको क्रममा उनले कराते खुब खेले। तर जहिले पनि राष्ट्रिय टिमका लागि छनोट हुन्थ्यो उनी दर्शकमा मात्र समिति। कारण थियो उनी अनागरिक थिए।
एक पटक नेपालको राष्ट्रिय टिम छनौटका लागि भएको प्रतियोगितामा भाग लिएका पनि थिए। तर भुटानी हो भन्ने थाहा पाए पछि निकालिए।
भुटानमा जन्मिए नागरिकता पाएनन्, नेपालमा कुरै भएन। जब अमेरिका आए पछि हातमा नागरिकता त आयो तर उमेर ढल्की सकेको थियो। आफूमा प्रचुर सम्भावना भएर पनि देशका लागि खेल्न नपाएका राई अहिले आफ्ना चेलाहरू मार्फत त्यो अधुरो सपना पुरा गर्न लागेका छन्।
‘तयारी राम्रो गरी रहेका छौ सकिन्जेल, हाम्रो यहाँबाट (सेन्टर डोजो) नौ जना र सम्पूर्ण डिस्काबाट २९ जनाले युएस ओपनमा भाग दिँदै छन्।‘
युएस ओपन विश्वभरका कराते खेलाडीहरूका लागि कुम्भ मेला हो। नेपालबाट पनि दुई जना खेलाडी यस प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्न आएका छन्। विश्व च्याम्पियनहरूको जमघट रहने युएस ओपनबाट अमेरिकाले राष्ट्रिय टिमका लागि खेलाडी छनौटको आधार बनाउँछन्।
प्रत्येक श्रेणीका शीर्ष दुई खेलाडीहरूले मे २२-२५, २०२५ मा मेक्सिकोको मोन्टेरीमा हुने प्रतिष्ठित पान अमेरिकन च्याम्पियनसिपमा टिम अमेरिकाको प्रतिनिधित्व गर्न पाउने छन्। त्यहाँ उत्कृष्ट हुनेले अन्य अन्तर्राष्ट्रिय च्याम्पियनसिप र ओलम्पिकका लागि ढोका खोल्ने छन्।
डिस्का सन् २०१६ मा स्थापना भएको संस्था हो। विशेषता अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायमा कराते खेलको विकास र विस्तारका लागि यो संस्था स्थापना भएको हो। अमेरिकाको विभिन्न राज्यमा गरी सात वडा डोजो सञ्चालनमा छन् र तीन सय भन्दा बढी खेलाडी नियमित प्रशिक्षणमा छन्।
‘आ आफ्नै डो जोमा सबैले आपसमा कोअडिनेशमा तयारी भयो।‘मुख्य प्रशिक्षक राईले भने। राईका अनुसार च्याम्पियनसिपमा सहभागी हुन केही खेलाडी लस भेगास पुगी सकेका छन्। केही जाँदै छन्।‘ युएस ओपन शुक्रवार देखि सोमबार सम्म (अप्रिल १८-२१) हुँदै छ। युएस ओपनमा ४० देशका २६ सभ भन्दा धेरै खेलाडीले खेल्दै छन्।
‘हाम्रा धेरै खेलाडीले एडभान्समा नै खेल्दै छन्, कारलय डोजोका तीन जनाले यस पटक इलिटबाट खेल्दै छन् र उनीहरू सँग हामीलाई धेरै आस छ।‘ मुख्य प्रशिक्षक राईले भने, ’उनीहरुले स्वर्ण पदक जिते भने राष्ट्रिय टिमबाट खेल्न पाउने छन्।
डिस्काले यस अगाडि पनि युएस ओपनमा खेल्दै आएको छ। तर इलिटमा भने पहिलो पटक प्रतिस्पर्धा गर्दै छ।
‘यस पटक हाम्रो उद्देश्य नै राष्ट्रिय टिममा पुर्याउनु हो।’ मुख्य प्रशिक्षक राईले भने।
‘म दोस्रो पटक युएस ओपनमा भाग दिँदै छु, उत्साहित र नर्मस दुवै छु, यस पटक स्वर्ण पदक जित्ने र अर्को पटकका लागि इलिटमा भाग लिने हो।‘ सेन्टर डोजो ह्यारिसबर्गमा नियमित अभ्यास गर्दै गरेकी रोजा तामाङले भनिनन्।
यस्तै ह्यारिसबर्गमा नै प्रशिक्षणमा रहेका एविन गिरी, आकाश बजगाईँ, एरिक खतिवडाले पनि लसभेगासबाट स्वर्ण पदक जित्ने लक्ष्य रहेको बताए।
यस पटक युएस ओपनमा डिस्का टिमका प्रशिक्षक ओल्सा राईले पनि आफू उत्साहित रहेको बताए। ‘विश्वभरिका खेलाडी सँग प्रतिस्पर्धा गर्दै छन् म उत्साहित छु, हाम्रा सबै जना फरक फरक क्षमता छ।‘ उनले भने।
‘हामी शरणार्थी शिविरमा हुँदा खेल्न पाएको भए राष्ट्रिय टिममा खेल्न पाएको भए सायद त्यो बेलाको जोस जाँगरमा सायद हामी राष्ट्रिय टिममा हुन सक्ने थियौ होला, एउटा सपना थियो तर त्यो हुन सकेन किनकि हामी नागरिक थिएनौ शरणार्थी थियौ। मौका पाएनौ अहिले सबैले अवसर पाउने ठाउँ नानीहरू भाग्यमानी हो हामी पनि उमेरमा आएको भए गर्न सक्थ्यौ होला।‘ मुख्य प्रशिक्षक राईले भने, ‘नानीहरूको मौका छ हाम्रो जुन आकांक्षा थियो राष्ट्रिय टिममा पर्ने त्यो सपना यी नानीहरूले पुरा गरिदिउन् भन्ने छ। उनीहरू सफल हुनु भनेको हामी नै सफल हुनु हो। ‘