इन्ट्राको तिहार कार्यक्रम रमाए अमेरिकी सांसद, गीत संगित मार्फत नेपाली भाषा जगेर्नाको प्रयास
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपाली भाषीहरूसँगै अमेरिकाका सांसदहरूले तिहार उत्सव मनाएका छन् ।
सस्कीहाना टाउन सीप मिडिल स्कुलको अडिटोरियम हलमा अक्टोबर २६ तारिख आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरू डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोली भुटनीज कम्युनिटी इन ह्यारिसबर्ग (बीसीएच) अध्यक्ष तिलक निरौला सहितका जनप्रतिनिधिहरूले नेपाली मूलका बालबालिकाहरू र तिनका अभिभावकसँगै देउसी भैली एवं नेपाली सांस्कृतिक नृत्य र गीतमा रमाइलो गरेका थिए ।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यानक्यास्टर, स्क्रान्टन र पिट्सवर्ग शहरको इन्ट्रा म्युजिक स्कुलका बालबालिकाहरूले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा तिनै बालबालिकाले देउसी भैलो खेलेर नेपाली सांस्कृतिक चाड मनाएका थिए ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई आफूहरू बसेका स्थानहरूमा जीवन्त राख्न र आफ्ना सन्तान दर सन्तानसम्म नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउन्डेसनले अमेरिकाका विभिन्न शहरहरुमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरू सञ्चालन गरेको जानकारी दिए ।
नेपाली मूलका ११ सयभन्दा बढी बालबालिका एवं किशोर किशोरीले ती कक्षाहरूमा नेपाली संस्कृति नृत्य र गायन सिकिरहेको उनले बताए । आफ्नो संस्कृतिको पालना गर्न खोज्दा भुटानबाट लखेटिनु परेको अवस्थाको स्मरण गर्दै उनले शरणार्थी भएर नेपाल बस्दा होस् वा पुनर्वासअन्तर्गत अमेरिका आएर होस् नेपाली संस्कृतिलाई जीवन्त राख्न र पुस्तान्तरण गर्न प्रयास गरिरहेको बताए ।
उनले नागरिकताले राष्ट्रियता फेरिए पनि नेपाली जातीय पहिचान कहिल्यै नफेरिने पनि बताए । कार्यक्रममा अमेरिकी संघीय संसद्का सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षितरुपमा मनाउन पाउनु पर्ने धारणा राखे । उनले आफ्ना पूर्वज कोलम्बियामा आएको, आफ्ना चिफ अफ स्टाफका पूर्वज इटलीबाट आएको बताउँदै नेपाल र भुटानबाट आएका नेपालीहरूको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको बताए ।
वरिष्ठ बासुरीवादक सुशील विश्वकर्माले बाँसुरीबाट तिहारको धुन एवं कलाकारहरूले जहाँ छन् बुद्धका आँखा बोलको राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रममा नेपाली मूलका बालबालिकाले उत्साहपूर्ण प्रस्तुतिले दर्शकहरूले मनोरञ्जन दिएका थिए ।
आयोजक संस्थाका तर्फबाट दावा तामाङले स्वागत एवं ओमराज गुरुङले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा पेन्सिल्भिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताएको बताएका थिए । आयोजक संस्थाका वेद व्यास काफ्लेले दिएको जानकारीअनुसार कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायनका कक्षाको पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा फाउन्डेसनका गीत र नृत्यका प्रशिक्षकहरू मुस्कान बलम्पाकी मगर, जीवन गुरुङ, पार्वती राई, शङ्कर बिसी र विकास घले गुरुङलाई उनीहरूले नेपाली संस्कृति सिकाउन गरेको योगदानको कदर गर्दै अध्यक्ष अधिकारीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा नेपाली मूलका बालबालिका एवं किशोर किशोरीहरूले विभिन्न गीत र नृत्यका ३१ वटा प्रस्तुति दिएका थिए ।
कार्यक्रमका थप तस्विरहरु
















