जब ९० वर्षका बुबाले छोराको नामको प्रतियोगिता हेर्न चर्को घाममा ७ घण्टा मैदानमा बिताए
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ९० वर्षीय सेतु तामाङले आइतबार अमेरिकाको पेन्सलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्काइलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा सात घण्टा बिताए।
बढिरहेको तापक्रमले अमेरिकाको जनजीवन प्रभावित पारे पनि ९० वर्षीय तामाङलाई त्यसले कुनै प्रभाव पारेन। पारोस् पनि किन उनका प्रिय छोरा कालुसिंह तामाङको सम्झनाको आयोजना हुँदै आएको प्रतियोगिताको आठौं संस्करण चलिरहेको थियो। साँझ ६ बजेदेखिको फाइनल खेल भए पनि सेतु दिउँसो १ बजे नै मैदानमा सेमिफाइनल खेल हेर्न पुगेका थिए।
शरिरका अंग प्रत्यंगले बिस्तारै काम गर्न छाडे पनि सेतुको मन मष्तिस्कमा कालुसिंहको सम्झना भने ताजै छ।
च्याम्पियनसिप आयोजक कमिटी सदस्य बृख गुरुङका अनुसार कालुसिंह भुटानको ड्रुक ११ बाट खेल्ने कुशल नेपाली भाषी खेलाडी थिए। त्यहिँ टिम पछि भुटानको राष्ट्रिय टिममा रुपान्तरण भएको थियो।
भुटानको साम्ची जिल्लाको सिप्सुमा जन्मिएका कालु टिमको मुख्य डिफेन्डर थिए। भुटानको रोयल आर्मीमा भर्ती भएपछि उनको फुटबल करिअरले गति लियो।
भुटानलाई प्रतिनिधित्व गर्दै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यहिँ क्रममा उनी नेपालमा समेत खेल्न पुगेका थिए।
पछि भुटानमा नेपाली भाषीको आन्दोलन चर्किएपछि कालुसिंह पनि खेदिन बाध्य भए। नेपालको बेलडाँगी शिविरमा बसेका कालुले त्यहाँ पनि फुटबल खेलेका थिए। शिविरमा उनले धेरैलाई फुटबल सिकाएका थिए भने उनीबाट धेरै प्रभावित बनेका थिए।
कालु सिंहको ४४ वर्षको अल्पआयुमै सन् १९९८ मा नेपालमा निधन भएको थियो। दर्जिलिङबाट प्रतियोगिता खेलेर फर्किएका उनको एक्कासी निधन भए पनि उनलै धेरै सम्झना छाडेर गएका थिए।
२६ वर्षअघि निधन भएका आफ्ना छोराका खेलहरू सेतु अहिले पनि सम्झिरहन्छन्।
‘पहिला खेल्दा जहाँ पनि जितेर आउथ्यो। भुटानमा खेल्दा पनि धेरै खेलहरू जितेको थियो,’ आठौं कालुसिंह तामाङ च्याम्पियनसिप २०२४ को फाइनल खेल हेरिरहदा सेतुले आफ्नो छोरा सम्झिदै भने, ‘कालु धेरै उफ्रिन्थ्यो। उसको खेल हेर्न म पनि जान्थे। उसले मलाई खेल हेर्न भुटान र भारततिरका विभिन्न ठाँउ लैजान्थ्यो।’
त्यतिबेला सेतु बाटो बनाउने काम गर्थे। अरू मानिसले खेल्ने कामलाई नराम्रो दृष्टिकोणले हेरे पनि आफूले भने कालुलाई सधैं प्रोत्साहन गरेको सेतु बताउँछन्।
‘मान्छेहरु खेल्नु भनेको बेकार हो भन्थे,’ उनले भने, ‘कालु सिंह सानै थियो। म बाटो खन्न जान्थे। तर म उसलाई खेल्नलाई छाडिदिन्थे।’
कालु सिंहको निधन भएपछि नेपालमा नै उनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न सुरु भएको थियो। शिविरमा रहेकाहरू तेस्रो मुलुक पुनर्वास भए पछि प्रतियोगिता पनि अमेरिका सर्यो। अमेरिकामा पहिलो पटक नर्थ क्यारोलिनामा भएको प्रतियोगिता पछिल्लो समय ह्यारिसवर्गमा हुँदै आएको छ।
आफ्नो छोराको नाममा प्रतियोगिता हुँदै आठौं संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको सेतु तामाङ बताउँछन्। ‘छोराको नामको प्रतियोगिता आठौं संस्करणसम्म आइपुग्दा धेरै खुसी लागेको छ,’ उनले भने।
प्रतियोगिता यस अगाडि कालु सिंहका परिवार र साथीभाईको तर्फबाट हुदै आएको थियो तर यसपटक देखि एसियन रेफ्युजी युनाइटेड (एआरयू) ले आयोजनाको जिम्मा लिएको हो। यस पटकको च्याम्पियनसिपका लागि रत्न गुरुङको अध्यक्षतामा आयोजक कमिटी गठन गरिएको थियो।
झण्डै पाँच महिनादेखि कमिटीले तिब्रगतिमा काम शुरु गरेको थियो। जसले गर्दा च्याम्पियनसिप व्यवस्थित भएको थियो। आयोजक कमिटी र एआरयूका स्वमसेवकले अहोरात्र खिटिदा प्रतियोगिता चुस्तसँगै उत्कृष्ट बन्यो।
उखरमौलो घाम, भारी वर्षा र हावाहुरीले पनि छेकेन
अमेरिकाका विभिन्न राज्यका आठ र बेल्जियमको एक गरि कुल नौ टोलीले भाग लिएको भेन्ट्रान्स प्रतियोगिताको पहिलो दिन शनिबार विहानैदेखि चर्को घाम लागेको थियो। अघिल्लो दिन नै मौषम विभागले अस्वभाविक गर्मी हुने भन्दै सचेत गराएको थियो। तर आयोजक र खेलाडीको उत्साहमा त्यो प्रचण्ड गर्मी बाधक बनेन्।
आयोजक र स्वयमसेवक पनि उपस्थित खेलाडी, अफिसियल, अथिति र दर्शकको सहजताका लागि सधै तत्पर देखिन्थे। खेलाडी र दर्शक सबैलाई चिसो पानी र गेटरेड प्रदान गर्न उनीहरु हरदम तयार थिए। दुई दिनका लागि चाहिने जति पानी र गेटरेडको व्यवस्था स्थानीय व्यवसायी तथा समाज सेवी डिल्ली चौलागाईले गरिदिएका थिए।
शनिवार तपक्रम बढेर ९७ फरनहाइट पुग्दा समेत उनीहरुले आथित्यतामा कुनै कमि आएको थिएन। साँझ भारी वर्षासँगै हावाहुरी आउँदा टागिएका पाललाई क्षति गरेको थियो। तर पनि प्रतियोगितालाई व्यस्थित गराउन उनीहरु खटिरहे।
प्रतियोगितामा सहभागी खेलाडी ४० देखि ५८ वर्ष सम्मका थिए। भेन्ट्रान्स खेलाडीले तालु पोल्ने घाममा पनि खेलेरै छोडे। चर्को घाममा पनि नौं टोलीका खेलाडीले प्रदर्शनमा कुनै कमी आउन दिएनन्। प्रतियोगिताका खेलहरू भइरहदा सहभागी र दर्शक नेपालमा अन्तर शिविर खेलका झल्को आएको बताइरहेका हुन्थे। अहिलेकाँही खेलको कमेन्ट्री गरिरहेका हरि सुब्बाले खेलाडीका पुराना खेल तथा नाम भन्दै पुराना याद ताजा गरिदिन्थे।
नेपालमा रहदा धेरै खेल खेलेका किरण थापा पनि चर्को गर्मीका बीच आफ्नो प्रदर्शनस्तरमा कुनै कमी नआएको बताउँदै थिए। थापाले युनाइटेड बदर्स स्पोर्टिङ क्लब (युबिएससी) लाई आठौं संस्करणको च्याम्पियन बनाउन पिटर्सवर्गविरूद्ध निर्णायक पेनाल्टी गोल गरेका थिए। उनको गोलसँगै मिनिसोटाका खेलाडीको बाहुल्यता रहेको युबिएससीले २-१ गोलको जित निकालेको थियो। युबिएससीबाट तीन जना न्युयोर्कका खेलाडीले समेत खेलेका थिए।
प्रतियोगितामा कुशल नृत्य निर्देशक शंकर बिसीले समेत खेलेका थिए। उनी ह्यारिवर्ग भेन्ट्रान्समा आबद्ध रहेका थिए। तर उनको टिम सेमिफाइनलभन्दा अघि बढ्न सकेन। त्यसो त उद्यमी, समाजसेवी तथा इन्ट्रा फाउन्डेसका सिइओ डिल्ली अधिकारी पनि चर्को घामको प्रवाह नगरि मैदानमा उत्रिएका थिए। कोलम्बस भेन्ट्रान्सबाट खेलेका अधिकारीले शनिबार मध्य दिनमा ९७ डिग्रीको तापक्रममा खेलेपछि आफूँ अझै युवा भएको भन्दै हासिमाजक गरेका थिए।
सहभागि खेलाडीहरु कालु सिंहको प्रतिको सम्मानका लागि आफुहरु टाढाटाढाबाट ह्यारिसबर्ग आएको बताउँदै मौषमको कुनै चिन्ता नरहेको बताइरहेका थिए।
कालुसिंह तामाङको स्मृतिमा भएको प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषी भुटानको उत्सव जस्तै देखिएको थियो। अझ आयोजक समितिको व्यवस्थापनले प्रतियोगितालाई झनै आकर्षित बनाएको थियो। टन्टलापुर घाम होस या भारी बर्षा लगातार दुई दिनसम्म बिहान सबेरैदेखि साँझसम्म उनीहरुको खटाइ लोभलाग्दो थियो।
एआरयू अन्तर्गतका स्वयमसेवक सहभागीलाई पानी पुर्याउन देखि सरसफाइमा दुई दिनसम्म निरन्तर खटेका थिए।
दर्शकले यत्रतत्र फालेका खाली बोतल अन्य फोहोरले उनीहरुको काम थपिएको थियो। तर खेल सकिदा नसकिदै ती स्वमयसेवकले चट्क्क सफा गरिभ्याएका थिए।
प्रतियोगितालाई पेन्सिल्भेनिया राज्यका जनप्रतिनिधिले समेत ‘रिकगनाइज’ गरेका थिए। उद्घाटनमा डेलिगेड तथा आसन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीकी सेनेट उम्मेदवार प्याटी किम प्रमुख अतिथि थिइन। उद्घाटन गर्नु अगाडि उनले चर्को घाम र गर्मीको बिच पनि झण्डै एक घण्टा मैदानमा आथित्यता ग्रहण गरेकी थिइन्।
उनले प्रतियोगिताको प्रशंसा गरिन्। उनले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश जाने भन्दै सदैव सहयोग गर्न तयार रहेको बताइन्।
च्याम्पिसिपको बिट मार्ने क्रममा आयोजक कमिटीका अध्यक्ष रत्न गुरुङ उत्साहित थिए। उनले आफ्नो नेतृत्वमा कार्यक्रम सफल पार्न सहयोग र समर्थन गर्ने प्रति आभार व्यक्त गरे।
नयाँ कालु सिंह जन्माउने दृढता
च्याम्पियनसिपका लागि तीन महिना अगाडि नै ४० हजार अमेरिकी डलर संकलन गरिएको थियो। आयोजना खर्च कटाएर बचेको रकम ‘सकर फर सक्सेस’ कार्यक्रममा खर्च गरिने छ। एआरयुका सिइयो रबिन गुरुङका अनुसार सकर फर सक्सेस महत्वकांक्षी र दीर्घकालिन परियोजना हो।
‘तपाईहरु कालु सिंहका लागि यहाँ हुनुहुन्छ, अब भावी पुस्ताका लागि तपाईहरु प्रेरणा बन्नुस’ फाइनल खेल अगाडि दुबै टोलीका खेलाडी सामुन्ने आयोजक कमिटीका सचिव विनय लुइटेलले भन्दै थिए,’हामी हाम्रो समुहदायमा धेरै कालु सिंह जन्माउन चाहान्छौ।’
फाइनल अगाडि सकर फर सक्सेसको प्रशिक्षणमा रहेका खेलाडीको प्रस्तुतीले कार्यक्रमलाई थप परिष्कृत बनाएको थियो। ‘युएस सकर फाउन्डेशन’ नारा बोक्दै प्रशिक्षक डिल के मगर र पर्शु अधिकारी सहितको टोलीले बालबालिकाको सीप तिखार्दै छन्। त्यो सीप बालबालिकाहरुले आइतवार कालु सिंह मेमोरियल च्याम्पियनसिपको फाइनल अगाडि देखाए।
परियोजनाअन्तर्गत ८ वर्ष भन्दा कम उमेर र १२ वर्षभन्दा कम उमेरका खेलाडीका दुई दुई टोलीले प्रदर्शनी खेल देखाएका थिए। यीनै स साना खेलाडीहरुले व्यवसायीक फुटबल तथा अरु काममा सफलता पाउन भन्ने परियोजना लक्ष्य पनि हो।
आफूहरू लक्ष्य तर्फ उन्मुख रहेको आयोजक कमिटीका उपाध्यक्ष अमल थुलुङको टिप्पणी छ।
‘जुन उद्देश्यले हामीले प्रतियोगिता आयोजना गरेका हौ हामी सफल भयौ।’ समाज टाइम्स सँगको कुराकानीमा थुलुङले भने,’मुख्य कुरा जुन उद्देश्यले खेलाइएको थियो कालु दाइको सम्मानका लागि त्यसमा हामी सफल भयौ, यो पृथक् छ र स्तरीय पनि।’
‘अघिल्ला वर्षहरूमा आर्थिक सहयोग मात्र थियो आयोजकको रूपमा थिइन, संस्थागत रूपमा खेलाउनु पर्छ भनेर मैले नै कुरा उठाएको हुँ, एआरयु सँग जोडियौ’ थुलुङले भने, ‘म इभेन्ट म्यानेजमेन्ट पनि हु शतप्रतिशत नै ठिक भन्ने त होइन तर हामीले राम्रो गर्यौ भन्ने छ, सहभागी साथीहरूले पनि राम्रो भयो भने।’
र यो पनि…