सीडीसीद्वारा नयाँ निर्देशिका जारी, खोप मात्र पुरा गरेका कोभिड संक्रमितका लागि ५ दिन क्वारेन्टाइन
अमेरिका । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) ले कोभिड संक्रमण पछि क्वारेन्टाइन सम्वन्धमा नयाँ निर्देशिका जारी गरेको छ ।
सीडीसीले अद्यावधिक गरेको निर्देशिका अनुसार अब कोभिड संक्रमितले पाँच दिन मात्र होम आइसुलेशनमा बसे पुग्ने छ । तर यो खोपको मात्र पुरा गरेकाहरुका लागि मात्र भएको सीडीसीले जनाएको छ ।
सीडीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड-१९ र ओमिक्रोन भेरियन्ट भएका व्यक्तिहरूले पाँच दिनको लागि अलग्गै बस्नु पर्छ । यस्तै २४ घण्टा ज्वरो नआएमा र अन्य कुनै लक्षण नदेखिए पनि अन्यलाई सङ्क्रमणको जोखिम कम गर्न थप पाँच दिन मास्क लगाउन पर्ने छ ।’
खोप नलगाएका वा दोस्रो डोज पुरा गरेको ६ महिना नभएकाहरुले कडा माक्स प्रयोग गरि थप पाँच दिन क्वारेन्टाइनमा बस्न सिफारिस गरेको छ । यदी थप पाँच दिनको क्वारेन्टाइन सम्भव नहुनेका लागि विकल्पको रुपमा संक्रमित व्यक्तिले संक्रमण भएको दश दिनका लागि अरूको वरिपरि जहिले पनि राम्रोसँग फिटिंग मास्क लगाउनु पर्ने प्रावधान सीडीसीले राखेको छ ।
बूस्टर शट प्राप्त गरेका व्यक्तिहरूले संक्रमण पछि क्वारेन्टाइनमा बस्नु नपर्ने तर दश दिनसम्म मास्क लगाउनु पर्ने नियम पनि सीडीसीले बनाएको छ ।
दक्षिण अफ्रिका र बेलायतको तथ्याङ्कले खोपको दुई डोज लगाएका व्यक्तिमा ३५ र बूस्टर डोज लगाएका लागि संक्रमण विरुद्ध ७५ प्रतिशत प्रभावकारिता रहेको पनि सीडीसीले जनाएको छ । खोपले गम्भीर रोग, अस्पताल भर्ना र कोभिड बाट मृत्युको जोखिम कम गर्ने पनि सीडीसीले जनाएको छ ।
सीडीसीले १६ वर्ष वा माथिका सबैका लागि बूस्टर डोजका लागि प्रोत्साहन गरेको छ । सीडीसीले भनेको छ, ‘खोप आफैलाई बचाउन र हाम्रो समुदायहरूमा कोभिड-१९ को प्रभाव कम गर्ने उत्तम तरिका हो।’












