पाकिस्तानमा पत्रकारको अवस्था खराब
इस्लामावाद । पाकिस्तान अहिले राजनीतिक अस्थिरता र अनिश्चिततासँग संघर्ष गरिरहेको छ, जसले राजनीतिक वातावरण र ध्रुवीकरण बढाएको छ । यसले मिडिया सुरक्षा र प्रेस स्वतन्त्रतामा आक्रमण गरेको छ ।
राजनीतिक ध्रुवीकरण र अनिश्चितताले पाकिस्तानमा सञ्चारमाध्यमको सुरक्षालाई असर गरेको छ । राज्यबाट मिडिया प्रतिबन्धहरू जारी हुँदै आएका छन् । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी पेमिराले नियामकभन्दा मिडिया सेन्सरको रूपमा काम गरिरहेको छ ।
पाकिस्तानी मिडियाले प्रत्यक्ष रूपमा शारीरिक आक्रमण, रिपोर्ट गरिएका मुद्दाहरू, पत्रकारहरूको गिरफ्तारी, आलोचनात्मक पत्रकारहरूलाई आक्रमण गर्न प्रयोग गरिएको बयानबाजी, र राज्यद्वारा लागू गरिएको नियमहरूमार्फत राजनीतिक उथलपुथलको प्रभाव प्रत्यक्ष रूपमा महसुस गरेको छ ।
गत वर्ष २०२३ मा दलीय राजनीतिको वातावरणले सञ्चारमाध्यममाथि हमला गरेको थियो, जसका कारण पत्रकार र सञ्चारकर्मीमाथि शारीरिक आक्रमणका दुई घटना, पत्रकार हत्याका ६२ घटना, चोटपटकका तीन घटना गरी कम्तीमा ७२ घटना दर्ता भएका छन् । छापा मार्ने तीन र हिरासतका दुई घटना भएका छन् । कम्तिमा २० घटनाहरूमा पत्रकारहरूलाई धम्की दिइएको छ ।
पत्रकारहरूले पनि आफ्नो कामको लागि गिरफ्तारीको सामना गर्नु परेको छ, जसमा गत डेढ वर्षमा एन्कर पर्सन इमरान रियाज खान दुई पटक पक्राउ परेका थियो । पूर्व सेना प्रमुखको बारेमा रिपोर्टिङ गरेको आरोपमा बोल न्यूजका पत्रकार शाहिद असलमलाई पनि पक्राउ गरिएको थियो । सूचना चुहावट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
शाहीद अस्लमको गिरफ्तारी, उनको पासवर्ड माग्नु र इलेक्ट्रोनिक उपकरणहरू जफत गर्नु उनको स्वतन्त्र रूपमा काम गर्ने अधिकारको प्रत्यक्ष उल्लंघनका घटना भएका थिए । त्यसैगरी एआरवाई न्यूजका प्रमुख इमाद युसुफलाई बिना वारेन्ट पक्राउ गरी उनको गोपनीयताको अधिकारको हनन गरिएको थियो ।
राजनीतिक तापक्रम बढ्दै जाँदा, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक अध्यक्ष इमरान खानलाई देशको प्रधानमन्त्री पदबाट हटाएको विरोधमा विभिन्न र्यालीहरू र प्रदर्शनहरू भएका थिए । इमरान समर्थकहरुले पनि मिडियालाई नै तारो बनाएका थिए ।















