ह्यारिसबर्गमा नेपाली भाषी भुटानी समुदायमा आत्महत्या रोक्न बीसीएचको कदम

पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको ह्यारिसबर्ग क्षेत्रमा नेपाली भाषी भुटानी समुदायमा पछिल्लो समयमा आत्महत्याको घटना ह्वात्तै पढे पछि त्यसको न्यूनीकरणका लागि भुटानी कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) राय सङ्कलन गरेको छ।
बीसीएचका अनुसार पछिल्लो ९० दिनमा समुदायका ६ जनाले आत्म हत्या गरेका छन्। जसमा चार जना २० देखि ३० वर्षका छन्। समुदायलाई नै स्तब्ध बनाउने घटना रोक्न के गर्न सकिन्छ भन्दै बीसीएचले सरोकारवाला सँग शुक्रवार आफ्नो मुख्यालयमा छलफल गरेको हो।
बीसीएचका अध्यक्ष तिलक निरौला र कार्यकारी निर्देशक तेज मिश्रले छलफलमा विषय प्रवेश गराएका थिए।
छलफलमा दाउफिन काउन्टी मानसिक स्वास्थ्य विभागका प्रशासक एन्ड्रिया केप्लर, लोअर प्याक्सटन प्रहरी विभागका प्रमुख एडम कोशेबाले भाग लिएका थिए। यस्तै टिम केयरका सिइयो जेनिफर हाइन्स, पेन्सिल्भेनिया स्टेट शरणार्थी कार्यक्रमबाट सुजनले आआफ्नो धारणा राखेका थिए।
उनीहरूले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले रोग लुकाउन नहुने र तत्काल उपचारमा लैजान पर्नेमा जोड दिए।
स्थानीय सरकारी अधिकारीहरूले समुदायको समस्याका लागि आफूहरू हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
यस्तै डा. खेम अधिकारी, मानसिक स्वास्थ्य सम्बन्धी फिँजियो थेरापीस्ट डिपी न्यौपानेले पनि छलफलमा आ आफ्नो धारणमा राखेका थिए।
छलफलमा सहभागीले आर्थिक अवस्था, भाषाको समस्या लगायतले पनि आफ्नो समुदायका व्यक्ति मानसिक स्वास्थ्यको समस्यामा जाने गरेको अनुभव सुनाएका थिए।
यसै बिच बीसीएचका अध्यक्ष तिलक निरौलाले समुदायको समस्या समाधानका लागि कार्यदल नै बनाएर अभियान चलाउने गरी आफूहरूले योजना बनाउन लागेको बताए।
उनले सरकारी र गैरसरकारी संघ संस्थाको सहयोगमा अभियान चलाउने बताए।