क्रिसमसका बेला विश्वभर हजारौ उडान रद्द, यात्रुहरु विमानस्थलमै अलपत्र

Getting your Trinity Audio player ready...
|
अमेरिका । ओमिक्रोम संक्रमणको वृद्धिको कारण क्रिसमस छुट्टीमा रहेका विश्वभरका हावाइ यात्रुले ठूलै सास्ति बेहोरेका छन् । स्वास्थ कर्मचारीको अभावका कारण हजारौं उडानहरू रद्द भएको विमान कम्पनीहरुको भनाई भन्दै बीबीसीले हवाई यात्रु अलपत्र परेको जनाएको छ ।
शुक्रबार झण्डै २ हजार ४ सय र शनिबार २ हजार ३ सयभन्दा बढी उडान रद्द भएका छन् । शनिवार रद्द गरिएका मध्ये आठ सय भन्दा बढी अमेरिकी एयरपोर्टहरू बाट उडान भर्ने वा अवतरण गर्ने रहेको जनाइको छ ।
अमेरिकाका बरिष्ठ संक्रामक रोग विशेषज्ञ, डा एन्थोनी फौसीले यस हप्ताको सुरुमा क्रिसमसको यात्राले पूर्ण खोप लगाएकाहरूमा पनि ओमिक्रोन फैलन सक्ने चेतावनी दिएका थिए । यस्तै विश्व स्वास्थ संगठनले पनि क्रिशमस र नयाँ वर्षको छुट्टि रद्द गर्न भनेको थियो । यी चेतावनीका बाबजुत पनि यात्रा शुरु गरेकाहरु विभानस्थलमा अलपत्र परेका हुन् ।
अमेरिकाका डेल्टा, युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्सले धेरै मात्रामा उडान रद्द गरेका छन् । युनाइटेड एयरलाइन्सले ओमिक्रोन केसहरूको बढ्दो संख्याले उडान टोली र अन्य कामदारहरुमा प्रत्यक्ष प्रभाव परेको बताएको छ । उसले विमानस्थल आउनु अगाडि यात्रुहरुलाई सम्पर्क गर्न भनेको छ ।
ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा हल्का छ भन्ने प्रारम्भिक निष्कर्ष निकालिए पनि संक्रमण फैलिने क्रम नरोकिए पछि वैज्ञानिकहरू चिन्तित छन्। विश्वमा जस्तै अमेरिकामा पनि ओमिक्रोनको केसहरु तिब्र रुपमा बढेका छन् ।
बेलायतमा ओमिक्रोन बृद्दिले कीर्तिमान नै राखेको छ । युरोपका अन्य देशहरुले पनि ओमिक्रोनको रोकथामका लागि आप्नै उपायहरु लगाएका छन् । इटाली, स्पेन र ग्रीसले फेरि घर बाहिर मास्क अनिवार्य बनाएका छन् । स्पेनको उत्तरपूर्वी भागमा पर्ने क्याटालोनियाले रातभरको कर्फ्यू लगाएको छ । नेदरल्याण्ड्सले हप्ताको सुरुमा कडा लकडान नै शुरु गरेको छ ।
जर्मनीले डिसेम्बर २८ देखि १० जना भन्दा बढी निजी जमघट हुन नपाउने र नाइटक्लब बन्द गर्ने बताएको छ। फुटबल खेल दर्शक विनाको रंगशालामा खेलाइने छ ।
पोर्चुगलले डिसेम्बर २६ देखि बार र नाइटक्लबहरू बन्द गर्न आदेश दिएको छ र जनवरी ९ सम्म घरबाट काम गर्न भनेको छ । तर दक्षिण अफ्रिकामा – जहाँ ओमिक्रोन संस्करण पहिलो पटक पहिचान गरिएको थियो – सरकारले गम्भीर क्लस्टर प्रकोप वा जेलहरू बाहेक, कोविड सम्पर्क ट्रेसिंग समाप्त गरेको छ।
अमेरिकाले यसअघि ३१ डिसेम्बरमा ओमिक्रोन भेरियन्टको चिन्ताका कारण दक्षिण अफ्रिका र अन्य सात अफ्रिकी देशहरूमा लगाइएको यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको थियो।
दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीका यात्रुहरूलाई नोभेम्बर २९ देखि रोक लगाइएको थियो। समग्रमा, विश्वव्यापी एयरलाइन्सहरूले शुक्रबार र शनिबार उडान गर्ने तालिकामा चार हजार सात सय भन्दा बढी उडानहरू रद्द गरेका छन्।
अष्ट्रेलियामा, शुक्रबार चाडपर्व मनाउन निस्किएका हजारौं यात्री प्रभावित बने । सिड्नी र मेलबर्नबाट अन्य शहरहरूमा एक सय भन्दा बढी आन्तरिक उडानहरू रद्द भएका छन्। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोनाभाइरसबाट ५.३ मिलियन भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ ७९ मिलियन पुष्टि भएका केसहरू छन्।