यु १९ साफ च्याम्पियनसिपमा नेपाल पराजित
काठमाडौं । यु १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सन् २०१५ पछि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिम पाकिस्तानसँग पराजित भएपछि सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा मल्दिभ्सलाई पराजित गर्नु पर्ने छ ।
दशरथ रंगशालामा पाकिस्तानविरुद्ध नेपालले कुनै पनि बेला दबाब सिर्जना गर्न असफल रह्यो । ७६ औं मिनेटमा पाकिस्तानले गोल गर्दै नेपाली टोलीलाई निराश बनायो । पाकिस्तानका सलि जफरले गोल गरेपछि १–० को जित पक्का गराए ।
उनले गरेको लङ प्रहार नेपालका गोलरक्षक जियारथ शेखले रोक्न असफल भएका थिए । अब नेपालले सोमबार माल्दिभ्ससँग खेल्ने छ । आजै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।














