एसिया कपको लागि १७ सदस्यीय टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एशिया कप क्रिकेटका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
सोमबार घोषित १७ सदस्यीय नेपाली टोलीका कप्तान रोहित पौडेल छन् । क्यानका अनुसार टोलीका अन्य सदस्यहरुमा आसिफ शेख ( विकेट किपर ) , कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतीश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् ।
आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुने एशिया कपका लागि यो नै अन्तिम टोली भने होइन । तर अहिले पूर्व तयारीका लागि नेपाली टोलीमा १७ खेलाडी नै रहने छन् ।
नेपाल समूह ए मा रहेर भारत र पाकिस्तान जस्ता क्रिकेटका विश्वका हस्ती मुलुकविरुद्ध उत्रदैछ । यस्तै समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानविरुद्ध उस्को घरेलु मैदान मुल्तानमा खेल्नेछ भने दोस्रो खेल भारतविरुद्ध भदौ १८ गते श्रीलंकाको केन्डीमा खेल्नेछ । पहिलो पटक एशिया कप खेल्न लागेको नेपालले यस्लाई ठूलो अवसरकोरुपमा लिएको छ ।














