संसद् चले नेपाल विश्वविद्यालय विधेयक– २०८० प्रस्तुत हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (सोमबार) ३ बजेका लागि बोलाइएको छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद् सुचारु गर्न तयार भएमा आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक पेस गर्ने कार्यसूची रहेको छ । सो विधेयक अघिल्लो सोमबार बसेको राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको थियो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् । मन्त्री गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने गुरुङले प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोभिता गौतम र सुमना श्रेष्ठले दिएको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहालले असार १८ गते व्यक्त आफ्ना धारणाका विषयमा प्रतिनिधिसभाको बैठकमा स्पष्ट पार्ने छन् । प्रधानमन्त्री दाहालको स्पष्टीकरणमा विपक्षी दलले चित्त बुझाए मात्र संसद् बैठक सुचारु हुनेछ ।
सदन खुलाउने विषयमा आइतबार प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
तीन दलका शीर्ष नेताहरू बिच प्रधानमन्त्री दाहालले असार १८ गते व्यक्त धारणाप्रति प्रतिनिधिसभाको बैठकमा आत्मालोचना गर्ने र सदन सुचारु गर्ने समझदारी बनेको थियो ।तर, प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा असार २१ गते जारी गरेको प्रेस विज्ञप्तिका विषयमा असन्तुष्टि जनाएपछि आइतबार नै प्रधानमन्त्री दाहालले संसद्मा बोल्ने र सदन सुचारु गर्ने कार्यक्रम आज ३ बजेसम्मका लागि सारिएको हो ।