भाइ काँग्रेसको भरोसा
क्रान्ति डल्लाकोटी
विधि र प्रविधिमा विश्वास गर्नेहरु दिगो रहन्छन् । उनीहरु सुशासनको यात्रामा जित्न र जिताउन सक्छन् । अहिले काँग्रेसभित्र कुण्ठा व्याप्त देखिन्छ । त्यही कुण्ठालाई कलामा बदल्न सक्ने भाइ पुस्ता भरोसापूर्ण भूमिका निर्वाह गर्न तयार छ ।
हिंसादेखि हार्दिकतासम्मको यात्रा
हिंसात्मक शक्तिलाई हार्दिकता देखाउने नाममा हिजो मतपत्र च्याती च्याती रेणु जिताउनु महंगो सावित भयो हाम्रो लागि ! शेर बहादुर दाईको निर्णय प्रति त्यतिबेला जुनसुकै खालको भएपनि विद्रोह गर्न सकेको भए भलै पार्टीको कारबाहीमा पारिन्थ्यो होला तर जनताले साथ छाड्ने पक्कै थिएनन् !!! यस अर्थमा चितवनमा दिनेश कोइरालाको विद्रोह सही प्रमाणित हुँदैछ । हामी अब पुनः जनताको घर घर जाने र अनेक खुरापाती तरिका लगाएर रेणु जिताउँ अभियानको नेतृत्व लिएकोमा आत्मा आलोचना गरौं । जनताले मन् होइन मत मात्र बदलेका हुन भन्ने कुरा हिजो देखियो । उनीहरूले मन् बदल्नु अगाबै सच्चिउँ है सम्भव छ।
काँग्रेसभित्रको सकस
आफू प्रत्यक्षमा । आफ्नो श्रीमतीलाई समानुपातिक सूचीमा । कुनै हालतमा परिवार नै सांसद बनाउने । भाइलाई जिल्लाको सभापति अनि मेयर बनाउनै पर्ने । भतिजालाई प्रदेश सांसद अनि मन्त्री बनाउने । कुनै हालतमा परिवार र पद नछोड्ने । महाधिवेशनमा युवा नेताहरुले यस्तो प्रवृत्तिको ‘आइस ब्रेक’ गर्न खोज्दा खिसी टिउरी गर्ने र बुढानिलकण्ठको दाइले नजिते पार्टी सकिन्छ जस्तो गर्ने महाधिवेशन प्रतिनिधिहरुको मानसिकता पनि सिर्जिनशील हुन समयको सन्देश रहेको छ ।
तमाम महाधिवेशन प्रतिनिधिहरूको भूमिकाले त हो नी लोकतन्त्र आएको यो देशमा । २०६२/६३को आन्दोलनमा कलंकी चोकमा प्रहरीको गोली सेकेण्ड सेकेण्डले छलेर जोगिएकाहरु हुनुहुन्छ । यदि लागेको भए हामी शहीदको लिस्टमात्र हुन्थ्यौं । यस्तो संर्घषशील पुस्तालाई भाइ पुस्ताले धिक्कार नगरोस, ‘न हाम्रो पुस्तालाई अवशर दिनु भो न रुखमा भोट हाल्न नै पाइयो ।‘ अहिले परिवर्तनका आयमलाई हेर्नुहोस । र तपाईहरुको सोच र पार्टी सञ्चालन बीचको अन्तर हेर्नुहोस । जनताको सचेतना स्तर हेर्नुहोस । गगन थापाले काठमाडौं ४ मा स्वर्णिम वाग्लेलाई छाड्न खोज्दा थापामाथि खनिनेहरू अहिले निर्वाचनको प्रारम्भिक मत गणना सँगै पुनः गगन विश्व प्रकाशमाथि निर्लज्ज गाली गरिरहेको छन् । दाइ काँग्रेसको हालत देख्दा ताज्जुब लाग्छ । “धान खाने मूसा चोट खाने भ्यागुता” जस्तो बनाईयो उता इमान्दार नेता गोविन्द भट्टराईलाई !
यतिबेला काँग्रेस साँच्चै कठिन मोडमा छौ । पार्टी कठिन अवस्थामा गुज्रँदै गर्दा पार्टी सुधार गर्न वर्षौंदेखि विधि पद्धतिका लागि चिच्याई रहेका गगन र विश्वप्रकाशहरूलाई गाली होइन साथ दिन अब ढिलो गर्न हुदैन ।
शेर बहादुर, आरजु र बालकृष्ण, पूर्ण ब खड्काहरुको भूमिकाले मात्रै राम्रो नतिजा ल्याउँदैन भन्ने कुरा धेरै पटक प्रमाणित भै सकेको छ । आरजु र कोर टीमबाट सबै भन्दा धेरै अवशर लिनेहरुले नै कठिन समयमा पार्टीको विरुद्धमा लेख्ने बोल्ने र साथ छाड्ने गरेको देखियो । चितवन नियाल्दा, कांग्रेसबाट जीवनभर आर्थिक र राजनीतिक अवशर लिएको परिवारले नै रुखमा मतदान गरेन ।
हिजोको उप निर्वाचनमा त्यसैले हामीले पहिले आफ्नो भूमिकाको आत्म समीक्षा गरौं ! कठिन समयमा पार्टी, देश र लोकतन्त्रको निम्ति हामी लड्छौ, अवशर आउँदै गर्दा तिम्रा परिवार जन बाहेक कोही देख्दैनौ भन्ने कथन भत्काउनु छ । अब धेरै आशा र थोरै निराशाका साथ अगाडि बढ्ने हो ।
काँग्रेसको कुण्ठा र गगनको गति
२०७९ मंसिर ४ को परिणाम हेर्दा तनहुँमा काँग्रेस फेल भएको होइन । त्यहाँ फेल भएको हाम्रो सोचाइ र संगत हो । सिद्धान्तको फेद न टुप्पो नमिल्नेसंग सत्ताको लागि गरिएको “अवसरबादी गठबन्धन” फेल भएको हो । अबका दिनमा सिद्धान्त नमिल्नेसंग गठबन्धन गर्नु हुँदैन । पार्टीभित्र हिरा र कीरा नचिन्ने, आफन्तबाट घेरिन रुचाउने, युवा र प्रगतिशीलहरुलाई घेराबन्दी गरेर कामै गर्न नदिने नेतृत्व असफल भएको हो । समयको पदचाप बुझ्न आफू संग क्षमता केही बाँकी छैन भन्ने कुराको ज्ञान नहुने नेतृत्वको असफलता हो तनहुँको उपनिर्वाचनको परिणाम । असफल नेतृत्वको कारण एउटा असल मानिस हार्न पुग्यो । यद्यपि नेपालको संसदले गर्व गर्न लायक अर्थविद्लाई आफ्नो सांसदको रूपमा पाएको छ ।
इतिहास जत्तिकै परिपक्क राजनितिक संस्कार देखाउदै जनसंख्याको बहुसंख्यक उमेर समुहलाई प्रतिनिधित्व गर्न सक्ने युवा नेतृत्वलाई गतिरोध गर्नु हुदैन । अन्यथा अबको जनसंख्याको बहुसंख्यकलाई ‘लिड‘ गर्ने जुन सुकै दलमा होस् युवा नै हुनेछ ।
(लेखक नेपाली काँग्रेस धादिङ्ग जिल्लाकार्य समितिका सहसचिव हुन्)