नेपाली राष्ट्रिय गानमा ओलीको आपत्ति : धुन हटाउन ओलीको सुझाव
वीरगन्ज। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गीत त्रुटिपूर्ण भएको भन्दै सच्याउन सुझाव दिएका छन् ।
बुधबार अखिल नेपाल पिछडा वर्ग (ओबिसि) महासङ्घको प्रथम अधिवेशनको उद्घाटनका लागि वीरगन्ज पुगेका ओलीले नेपालको राष्ट्रिय गान ‘सयौँ थुङ्गा फूलका हामी,एउटै माला नेपाली’ मा रहेको सुरुको धुनलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने ‘म सरकारलाई आग्रह गर्न चाहन्छु। राष्ट्रिय गान अगाडि प्याँ प्याँ प्याँ प्याँ धुन बजाइन्छ । सयौँ थुङ्गा फूलका हामी भन्दा अगाडिको धुन हटाइनुपर्छ ’।
उनले राष्ट्रिय गानअघि किन प्याँ प्याँ प्याँ ….धुन रहेको भन्दै राष्ट्र गानमा शब्द सुरु हुनुभन्दा १५ सेकेन्ड अगाडिको धुनलाई हटाउन सरकारलाई आग्रह गरेका छन्। नेपाली राष्ट्रिय गान सयौँ थुङ्गा सुरु हुनुभन्दा अगाडिको धुन राष्ट्रिय गानसम्बन्धी नभएको भन्दै गीत बज्नुभन्दा पूर्व धुन नभएर त्यो शब्दबाट सुरु भएर शब्दमै राष्ट्रिय गानको अन्त्य हुनुपर्ने उनको भनाई रहेको छ ।
ओलीले राष्ट्रिय गान बजाउँदा छातीमा हात राख्ने चलन समेत नेपालको नभएको टिप्पणी पनि गरेका छन् ।














