मिसन वैशाख १० : तीन पदमा ६९ जनाको उम्मेदवारी
काठमाडौं । तीन पदमा हुने उपनिर्वाचनका लागि ६९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार निर्धारण भएको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको हो ।
निर्वाचन आयोगका अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तय गरिएको थियो ।
निर्धारित समयभित्र चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नंं. १ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।
राप्रपाको तर्फबाट केन्द्रीय सदस्य शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार, राष्टिय जनमुक्तिको तर्फबाट पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।
चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गरे ।
बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतले उम्मेदवारी दर्ता गरे ।
गत मंसिर मा सम्पन्न निर्वाचनमा तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि पद रिक्त हुन पुगेको थियो । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।















