नेविसंघलगायत ४ भ्रातृ संस्थालाई पूर्णता दिने तयारीमा देउवा
|
Getting your Trinity Audio player ready...
|
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघलगायत ४ भ्रातृ संस्थाहरूलाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन्।
नेविसंघ, नेपाल तरूण दल, नेपाल महिला संघ र नेपाल किसान संघलाई छिट्टै पूर्णता दिने तयारीमा देउवा छन्।
केन्द्रीय समितिले भ्रातृ संस्थाका तदर्थ समिति बनाउने जिम्मा सभापति देउवालाई दिएको लामो समय भइसक्दा पनि भ्रातृ संस्थाहरूले पूर्णता पाउन सकेका छैनन्, अध्यक्ष मात्रै तोकिएका छन्।
सभापति देउवा निवास धुम्बाराहीमा बुधबार नेताहरू रञ्जित कर्ण, मनोजमणि र सुवास पोखरेलसँग भएको कुराकानीमा देउवाले भ्रातृ संस्थाहरूलाई पदाधिकारीसहित पूर्णता दिइने बताए।
‘भ्रातृ संस्थालाई पदाधिकारीसहित पूर्णता दिने कुरामा सभापतिज्यू सहमत हुनुहुन्छ,’ कर्णले सेतोपाटीसँग भने, ‘कार्यसमिति आकार बढाउने उहाँको प्रतिबद्धता छ।’
सभापति देउवाले भ्रातृ संस्थाका केन्द्रीय र प्रदेश समिति एकैसाथ ल्याउन आफू सकारात्मक रहेको पनि बताएका थिए।
साथै सभापति देउवाले राष्ट्रपति चुनावमा पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेकोले एकताबद्ध भएर सबै लाग्नुपर्ने र गुटका विवादहरू देखिन नहुने बताएका थिए।
‘कुनै विवाद नहुने गरी भ्रातृ संस्थाहरूलाई पूर्णता दिइन्छ। सबैसँग छलफल गर्छु भनेर उहाँले भन्नुभएको छ,’ उनले भने।
प्रतिनिधि सभा चुनावको परिणाम आएको केही समयभित्र नेविसंघलगायतको महाधिवेशन गर्ने भने पनि तदर्थ समितिलाई नै कांग्रेसले पूर्णता दिन सकेको छैन। सभापति देउवाले हालै भएका पदाधिकारी बैठकमा पनि भ्रातृ संस्थालाई पूर्णता दिनेबारे कुरा राखेका थिए।
स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई छिटो पूर्णता दिनुपर्ने मागसमेत भइरहेको छ।












