दक्षिण कोरियामा रहेका नेपाली कामदारको तलब ५ प्रतिशतले बढ्यो
|
Getting your Trinity Audio player ready...
|
सोल । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत दक्षिण कोरिया आएका नेपाली कामदारको तलब यो वर्षदेखि ५ प्रतिशतले बढेको छ ।
अंग्रेजी नयाँ वर्षसँगै सुरु हुने भएसंगै कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशले बढेर अब प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ भने उनीहरुको मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पुगेको छ ।
अझ पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० (१४ सय ४०) दिनेछन् भने राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ) कामदारले पाउने छन् ।
पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने यो नियम लागू हुँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छूट छ ।
कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ । यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाइएको थियो ।
त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबैभन्दा कम बढेको तलब हो । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।








