‘साँस्कृतिक साँझका’ बीच इनास अमेरिकाद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान
मेरील्याण्ड,अमेरिका/ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले साँस्कृतिक साँझका बीच विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।
मेरील्याण्डको बाल्टिमोरमा शनिवार साँझ विषेश कार्यक्रममा सम्मान गरिएको हो। ‘अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन’ नाराका सहित आयोजित कार्यक्रममा प्रवासमा रहेर पनि कला,संगीत,साहित्य,समाजसेवा,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्याउने व्यक्तित्व सम्मानित भए।
सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त, समाजसेवि डा. श्याम कार्की, डा. बिष्णुमाया परियार,खेलाडी बिना खड्का लामा र पत्रकार दाजुभाइद्वय विश्व र बिजय थापा थिए।
कार्यक्रमकी प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले सम्मानित हुने व्यक्तित्वलाई कदरपत्र प्रदान गरिन। यस्तै विषेश अतिथि गैरआवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्थ, बानाका अध्यक्ष सुवोध विलास पन्थ, इनास मेरिल्याण्डका अध्यक्ष सृजन ताम्राकार, इनास केन्टकी इनासका अध्यक्ष अर्जुन थापा लगायतले सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाएका थिए। यस्तै सम्मानित व्यक्तित्वलाई रुद्राक्षको माला पनि लगाइएको थियो।
सोही कार्यक्रममा नयाँ पुस्तालाई प्रोत्साहन समेत गरिएको थियो। अमेरिकी टेलिभिजनको विश्व चर्चित सो ‘द भ्वाइस’ मा टप टेनमा प्रतिस्पर्धा गरिरहेकी परिजिता बास्तोला, भ्वाइस अफ नेपालमा सहभागि केन्टकीका प्रनिम राई, बाल कलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
चर्चित कलाकारहरुको बाक्लो जमघट रहेको कार्यक्रम शुरु देखि नै रोचक बनेको थियो। निर्धारित समयमा नै शुरु भएको कार्यक्रममा पञ्चेबाजाबाट सहभागिको स्वागत गरिएको थियो।
इनास अमेरिकाका राष्ट्रिय अध्यक्ष कन्हैया सिंह परियारको स्वागत भाषण सहित शुरु भएको कार्यक्रममा पहिलो शत्रमा सम्मान गरिएको थियो भने दोस्रो सत्रमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि इनास अन्तर्राष्ट्रियकी उपाध्यक्ष सावु गदाल कार्कीले कार्यक्रम उदघाटन गरेकी थिइन् ।
‘कला र कलाकारको सारथी इनास’ भन्ने नारा बोकेको इनासको कार्यक्रममा दर्जन बढीले सुन्दर प्रस्तुति दिए। पछिल्लो समय पेन्सिलभेनियाको ह्यारिसबर्गमा एन्ट्रा फाउण्डेशनको कार्यक्रममा नृत्य निर्देशक रहेका शंकर बिसी नेतृत्वको टोलीको प्रस्तुति रोचक, भावुक र सन्देशमुकल थियो। यस्तै गरि अमृत रामदान, यम बराल लगायत अन्य कलाकारले पनि प्रस्तुति दिएका थिए।
लोक तथा आधुनिक गायक श्याम गुरुङले कार्यक्रम संयोजको भूमिका उत्कृष्ठ पूर्वक निभाए।