आम निर्वाचनमा ६१ प्रतिशत मत खस्यो, १५ केन्द्रमा मतदान स्थगित
काठमाडौं / प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
देशभर निर्वाचन सकिए पछि आयोगले आइतवार साँझ पत्रकार सम्मेलन गर्दै खसेको मत प्रतिशतबारेमा जानकारी गराएको हो।
मतदान बिहान सात देखि साँझ पाँच बजे सम्म भएको थियो।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खसेको मत परिणाम बढ्न सक्ने बताए। उनले यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको बताए।
यस अघि २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मत खसेको थियो । यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ७८ प्रतिशत र २०६४ सालको पहिलो संविधासभा सभा निर्वाचनमा ५४.५७ प्रतिशत मत मात्रै खसेको थियो ।
यस्तै गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४ प्रतिशत मत खसेको थियो । यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो ।
१५ केन्द्रमा मतदान स्थगित
निर्वाचन आयोगले मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको छ। सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको प्रमुख आयुक्त थपलियाले पत्रकार सम्मेलनमा बताए ।
रोकिएका केन्द्रमा मतदान कार्य दुई दिन भित्र पुन शुरु गर्ने निर्देशन दिइएको उनको भनाई छ।
प्रतिनिधि सभाका लागि एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ।