एशियन र अरबी फ्युजन खानाको अमेरिकमा मार्केट खोज्दै लाल तामाङ्ग
पेन्सिलभेनिया, अमेरिका । भनिन्छ नी “हेर्दैमा खाँउ खाँउ लाग्ने।” हो झट्ट हेर्दैमा कस्तो मुखै रसायो भन्ने गरि खानाको सजावटकलामा दक्षता हासिल गरेका व्यक्ति हुन् लाल तामाङ्ग ।
काठमाडौं बौद्दका रैथाने तामाङ्ग पछिल्लो दुई दशक देखि अरबी मुलुकमा आफ्नो क्षमता तिखार्दै छन्। अझ यसरी भनौ न, क्षमता प्रस्तुत मात्र होइन उनले आफुलाई प्रमाणित नै गरिसकेका छन्।
त्यही भएर त तामाङ्गले अरबमा पनि लोभलाग्दो जागिर पाएका छन्। युएइको अबुदुवईमा रहेको फाइभ स्टार होटल “अल राहा बीच” मा एक्जुकुटिभ सेफमा कार्यरत तामाङ्ग अहिले अमेरिका भ्रमणमा छन्। पारिवारिक भ्रमणमा रहे पनि उनले आफ्नो कलालाई अमेरिकामा पनि विस्तार गर्ने प्रयास गर्दै छन्। उनी आफ्नो सिपको बजार खोज्दै छन्।
“अमेरिकामा खानाका पारखी धेरै छन् उनीहरुलाई नयाँ टेष्ट किन नदिने भनेर मेरो पारिवारिक भ्रमणका बेलामा पनि मैले जानेको सिप यहाँ सिकाउदै छु” समाज टाइम्स सँगको कुराकानीमा तामाङ्गले भने।
“अरबी खाना अलि बढी चिल्लो र प्रायस तारेका हुन्छ, अनि एशियन खानामा चिल्लो कम हुन्छ र उसिनेका बढी हुन्छ यी दुबैलाई संयोजन गरेर नयाँ टेष्टमा हामीले मेनु बनाएका छौ, जुन कोर्ष अरबमा निकै लोकप्रिय भएको छ” तामाङ्ग अगाडि भन्छन, “अरबमा आउने पर्यटकहरुले पनि हाम्रो नयाँ प्रयासलाई मन पराएका छन् त्यसो हो भने अमेरिकामा पनि किन प्रयास नगर्ने भनेर लागेको हु।”
तामाङ्गका अनुसार उनले क्यालिफोर्नियाका केही रेष्टुरेष्टहरुमा आफ्नो फ्युजन खानाको मेनु शुरु गराएका छन्। यस्तै गरि ओहायोमा पनि उनी आफुले जानेको शिप अरुलाई सिकाउदै छन्। विषेश गरि नेपालीहरुले संचालन गरेका रेष्टुरेण्टहरुमा आफ्नो मेनु थपिए व्यापार पनि फस्टाउने तामाङ्गको दाबी छ।
“क्यालिफोर्नियामा यो खाना निकै राम्रो चलेको छ, अब ओहायो पछि अन्य राज्यमा पनि यो चल्छ भन्ने मेरो विश्वास छ, किनकी अरब घुम्न आएका अमेरिकनहरुले पनि खुबै मन पराएका छन्।” तामाङ्ग भन्छन्। उनको मेनुमा नेपाली खानाका पनि केही परिकार समावेस छन्।
एक्जुकुटिभ सेफ सम्मको यात्रा
लाल तामाङ्ग काठमाडौं बौद्दका रैथाने हुन्। विद्यालय शिक्षा दरबार हाईस्कूलबाट पुरा गरेका तामाङ्गले त्यस पछि रवि भवनमा रहेको होटल टुरिजम म्यानेजमेन्ट स्कूलमा होटल म्यानेजमेन्ट पढे।
रेष्टुरेन्ट क्षेत्रमा कार्यरत दाजुहरुले दैनीक रुपमा ल्याउने गरेको टिप्सले उनलाई पनि त्यस क्षेत्रमा आकर्षित गराएको थियो। ” म सानो छदा बेलुका घर आउदा दाईहरुले टिप्स गनेको देखेर म पनि यही काम गर्नु पर्छकी भन्ने थियो, सायद त्यसैले होला हाइस्कूल सके पछि होटल मेनेजमेन्ट तिर लागे।” समाज टाइम्स सँगको कुराकानीमा तामाङ्ग आफ्नो अतित सम्झन्छन्।
होटल म्यानेजमेन्ट पढ्दै गर्दा तामाङ्गलाई भविश्यमा वेटर भन्छु भन्ने लक्ष्य थियो। तर समयले उनलाई किचन तर्फ प्रवेस गरायो । पाककलामा पोख्त भए पछि अहिले उनी अब दुबईको पाँच तारे होटलमा आफ्नो विभागको नेतृत्व नै गर्न सफल भएका छन्।
काठमाडौंमा रहेको सोल्टी होटलमा प्रशिक्षार्थीको रुपमा जादा एक भारतीय सेफले लगाएको बचनले तामाङ्गलाई आफु पनि सेफ किन नबस्ने भन्ने हुटहुटी जागेको बताउछन्। “म खाना पकाउदै थिए, तेल पोखियो, त्यही बेला साथमा रहेका भारतीय मुलका कुकले बचन लगाए तैले गरि खादैनस, त्यस पछि क्षन इख पलायो, मेहनत गरे र सफल पनि भए।”
उनको काम होटलको रेष्टुरेष्टमा आएका पाउनालाई स्वादिस्ट खाना खुवाएर फेरि पनि आउ आउ बनाउनु हो। त्यति मात्र होइन आफ्नो विभागमा रहेका झण्डै एक सय जनाको कामको रेखदेख पनि उनैको जिम्मा छ। जसमा उनी सफल हुँदै आएका छन्।
कुकले पकाएको खानाको स्वाद जिब्रोले मात्र लिन्छ तर सेफले त आँखाले नै स्वाद लिने गरि मिलाउन पर्ने हुन्छ। त्यसैले त भनिन्छ नी “हेर्दैमा खाँउ खाँउ लाग्ने” यी दुबै क्षेत्रमा तामाङ्गले ध्यान पुर्याउनु पर्ने हुन्छ। तामाङ्ग भन्छन,” खानाको स्वाद जिब्रोले भन्दा अगाडि आँखाले लिन्छ, सेफले त्यो बारेमा पनि विषेश ध्यान दिनु पर्ने हुन्छ। ग्राहकले आफ्नो मेहनतको तारिफ गरोस फेरि फर्किएर आओस भन्ने गरी काम गर्नु पर्छ।”
सन् २००० मा दोहाको सेराटन होटलबाट बैदेशिक रोजगारको करिअर शुरु गरेका तामाङ्गले त्यस पछि पछाडि फर्कनु पर्को छैन। कुकको रुपमा शुरु भएको उनको यात्रा अहिले फाइभ स्टार होटलको एक्जुकुटेभ सेफमा पुगेको छ।
मरुभुमीको उखर्मउलो गर्मीमा पनि उनी फाइभ स्टार होटलमा रहेर विश्वभरीबाट आउने पर्यटकलाई खुसी बनाउदै छन्। कमाई पनि युरोप अमेरिकाको भन्दा कम छैन्।
त्यति मात्र होइन झण्डै दुई दर्जन नेपाली सहित करिव एक सय जनालाई पनि दैनीक रुपमा खटनपटन गर्नु पर्ने हुन्छ।
मेहनतको फल मिठो हुन्छ नै । ‘बेस्ट एक्जुकुटिभ सुस सेफ अफ द ईयर २०१८ र २०१९ ’ अवार्ड जितेर तामाङ्गले आफुलाई पुष्टि पनि गरेका छन्।
अरबी मुलुकमा आफ्नो क्षेत्रमा कहलिएका लाल तामाङ्ग अब अमेरिकी बजारमा पनि आफ्नो नाम ‘लाल’ गर्ने तरखरमा छन्। जुन यात्रा उनले शुरु गरिसेकका छन्।
तामाङ्ग सँगको भिडियो कुराकानी