कांग्रेस बैठक : सात मध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा
काठमाडौं । शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका हुन् ।
बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् । सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए ।
प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन् ।
गठबन्धनको बिरोध गर्नेलाई चुनाव जितेर देखाउन देउवाको चुनौती
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको बिरोधमा आवज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।
शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् ।
बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए । नेताहरुको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको बिरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनु पर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भनेका हुन् ।
गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेताहरु गठबन्धनको विपक्षमा
सत्ताको नेतृत्व गरिररहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरु भएको कांग्रेस बैठकलाई चासो पूर्वक हेरिएको छ ।
चुनावमा गठबन्धन गरेर जानु पर्ने र त्यसको बिरोध गर्नेहरुको दुई समूह कांग्रेसमा भएका कारण केन्द्रीय समिति बैठकलाई चासोका रुपमा हेरिएको छ ।
सभापति एवं गठबन्धनबाट प्रधानमन्त्री छानिएका शेरबहादुर देउवाले गठबन्धनको पक्षमा वकालत गरिरहँदा शेखर कोइराला पक्षले भने गठबन्धनको बिरोध गरिरहेको छ ।
केन्द्रबाट स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय लाद्न नहुने पक्षमा रहेको छ ।
आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । यस क्रममा अधिकांश नेताहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे धारणा राखेका छन् ।
गठबन्धनको पक्षमा बोल्नहरुले पनि केन्द्रबाट नभइ स्थानीय स्तरबाट गठबन्धन गर्नु पर्ने धारणा राखेका छन् ।
बैठकमा धारणा राख्दै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । उनले गठबन्धन गर्दै जाँदा कांग्रेसले कांग्रेमा भोट हाल्ने अवस्था कतिपय ठाउँमा नबन्ने बताउँदै पार्टी कमजोर हुने बताएका थिए ।
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले गठबन्धन गर्न नहुने धारणा राखे । उनले अन्य पार्टीले भने अनुसार गठबन्धन गर्दा कांग्रेस आगामी दिनमा थप कमजोर हुने बताएका थिए ।
नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताए । उनले पार्टीमा एकता कायम नगर्ने अनि बाहिर गठबन्धन गर्न खोज्दै हिँड्ने गर्न नहुने बताएका थिए । त्यस्तै नेता नैनसिंह महरले पनि गठबन्धन गर्न खोज्दा बगलीमा रहेको पनि खस्ने डर हुने बताएका थिए ।