हिमालयन तेक्वान्दोको १२औँ ब्याचको ब्ल्याक बेल्ट दीक्षान्त समारोह सम्पन्न, १२ खेलाडी दीक्षित
ह्यारिसबर्ग, पेन्सिलभेनिया / अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग सन् २०१८ मा स्थापित हिमालयन तेक्वान्दोले आफ्नो १२औँ ब्याचको ब्ल्याक बेल्ट दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा १२ जना खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरेका छन्।
साहित्यकार केशब बैरागी माइलोको विशेष अतिथि रहेको दीक्षान्त कार्यक्रममा प्रशिक्षक ओम विष्ट, याम विष्ट , बल बस्तेत, भिम बस्नेत , पुनम दुलाललगायतको उपस्थिति रहेको थियो।
हिमालयन तेक्वान्दोका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माले समारोहको नेतृत्व गरेका थिए । दीक्षित भएका सबै खेलाडीले आफ्नो खेल जीवनका तितामिठा अनुभव सुनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि माइलोले तेक्वान्दो खेल शारीरिक अभ्यास र आत्मरक्षाको विधा मात्र नभई स्वास्थ्य प्रवर्द्धन तथा रोग निवारणमा समेत सहयोगी हुने बताए।
नियमित तेक्वान्दो अभ्यासले शारीरिक तन्दुरुस्ती कायम राख्नुका साथै मानसिक स्फूर्ति, आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो। उनले बालबालिका तथा युवालाई खेलकुदमा आबद्ध गराउनु स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणका दृष्टिले महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे।
अभिभावकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कार्यक्रममा अभिभावकहरूलाई मायाको चिनो दिएर खेलाडीहरुले सम्मान गरे । खेलाडीको नियमित प्रशिक्षण, मनोबल अभिवृद्धि र लक्ष्य प्राप्तिको यात्रामा अभिभावकको सहयोग तथा प्रोत्साहन महत्त्वपूर्ण रहने पक्षलाई समारोहले विशेष महत्त्व दिएको थियो।
सन् २०१८ मा स्थापना भएको हिमालयन तेक्वान्दोले प्रशिक्षणमार्फत नयाँ खेलाडी उत्पादन तथा तेक्वान्दो खेलको प्रवर्द्धनमा निरन्तर सक्रियता देखाउँदै आएको छ। १२औँ ब्याचमा १२ जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गर्न सफल हुनुले संस्थाको प्रशिक्षण निरन्तरता र संस्थागत प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
प्रवासमा नेपाली समुदायका बालबालिका तथा युवालाई खेलकुदसँग आबद्ध गराउँदै शारीरिक तन्दुरुस्ती, आत्मरक्षा, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित यस्ता गतिविधिले नेपाली समुदायमा खेल संस्कृतिको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
१२ जना खेलाडी ब्ल्याक बेल्टबाट दीक्षित भएको यस समारोहले ह्यारिसबर्ग क्षेत्रमा तेक्वान्दो खेलको विकास र विस्तारका साथै भावी पुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्ने सन्देश दिएको छ।



















