इरानसँग जारी युद्धका कारण अमेरिकाभर पेट्रोलको मूल्य वृद्धि, क्यालिफोर्नियामा सबैभन्दा महँगो
कार्लाल, पेन्सिलभेनिया / इरानसँग जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा अमेरिकाभर पेट्रोलको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ।
अमेरिकन अटो मोबाइल एसोसिएसन ‘एएए’का अनुसार सोमबारसम्म देशभर पेट्रोलको औसत मूल्य प्रति ग्यालोन ४.१४ डलर पुगेको छ।
सबैभन्दा बढी असर क्यालिफोर्निया राज्यमा परेको छ। त्यहाँ पेट्रोलको औसत मूल्य ५.९२९ डलर प्रति ग्यालोन पुगेको छ। ‘एएए’का अनुसार क्यालिफोर्नियाको मोनो काउन्ट्रीमा सबैभन्दा धेरे मूल्य बढेर ६.७२१ डलर प्रति ग्यालोन पुगेको जनाएको छ।
केही पेट्रोल पम्पहरूमा मूल्य ७ डलर प्रति ग्यालोनसम्म पुगेको जनाएको छ ।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यतिर आक्रमण गरेपछि तेलको मूल्य तीव्र रूपमा बढेको हो। सोमबार बजार खुल्दा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको थियो।
इरानले मध्यपूर्वको महत्त्वपूर्ण जलमार्ग हर्मुजमा नियन्त्रण कायम राखेकाले विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ।
क्यालिफोर्नियामा पेट्रोल अन्य राज्यभन्दा महँगो हुनुको कारण त्यहाँ प्रयोग हुने विशेष प्रकारको पेट्रोल, सीमित रिफाइनरी तथा उच्च कर रहेको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ। यसैबीच पेन्सिलभेनिया राज्यमा भने प्रति ग्यालेन ५.४९९ पुगेको छ ।
















