विश्वकप फुटबल २०२६: अमेरिकामा नयाँ भिसा बन्ड नियम, अन्तर्राष्ट्रिय दर्शकका लागि यात्रा चुनौतीपूर्ण बन्दै
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाले २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको अधिकांश खेलहरू आयोजना गर्न लागेको बेला नयाँ भिसा नियमले अन्तर्राष्ट्रिय दर्शकका लागि यात्रा अझ कठिन र महँगो बनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रम विस्तार गर्दै अहिले नेपालसहित कुल ५० देशमा लागू गरेको छ ।
भिसा बन्ड कार्यक्रम मूलतः एक प्रकारको सेक्युरिटी डिपोजिट हो । यसले मुख्य रूपमा बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसा आवेदनकर्तालाई लागू हुन्छ ।
यस अन्तर्गत दूतावासले आवेदनकर्ताको आर्थिक स्थिति, सामाजिक सम्बन्ध, अमेरिका यात्रा गर्ने उद्देश्य, बसाइँ लम्ब्याउने जोखिम र अघिल्लो यात्रा इतिहास जाँच गर्ने जनाइएको छ । यदि आवश्यक ठानेमा कन्सुलर अफिसरले ५ हजारदेखि १५ हजार धरौटी तिर्नुपर्ने निर्णय दिन सक्नेछ ।
भिसा नियम पालना गरेमा धरौटी रकम फिर्ता हुन्छ, तर नियम उल्लङ्घन भएमा रकम जफत हुन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यस कार्यक्रमको सुरु सन् २०२५ को अगस्टमा मलावी र जाम्बियाबाट भएको थियो । विस्तार हुँदै अहिले यसले नोपलसहित ५० देशमा प्रभाव पारेको छ ।
समावेश हुनेहरुमा ३० अफ्रिकी देश, ९ एशियाली देश, ५ उत्तर अमेरिकी देश (क्यारेबियन, केन्द्रीय अमेरिका सहित), ५ ओसेनिया देश र १ दक्षिण अमेरिकी देश रहेका छन् । अप्रिल २ सम्म नयाँ थपिएका देशहरूमा क्याम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनेडा, लेसोथो, मौरिसस, मंगोलिया, मोजाम्बिक, निकारागुवा, पापुआ न्यू गिनी, सेशेल्स र ट्युनिसिया समावेश छन् ।
विदेश मन्त्रालयका अनुसार हालसम्म खेलाडी र अफिसियल टोलीलाई छुट दिने स्पष्ट व्यवस्था गरिएको छैन । यद्यपि अधिकांश खेलाडी र टोलीका सदस्य ए–१ भिसा मा यात्रा गर्ने भएकाले उनीहरू प्रत्यक्ष असरबाट बच्न सक्ने बताइएको छ । यता दर्शक र केही मिडिया प्रतिनिधिहरूको लागि धरौटी रकम र प्रक्रिया अनिश्चितताका कारण यात्रा चुनौतीपूर्ण हुन सक्ने छ ।
विशेष गरी कम्तीमा पाँच देश अल्जेरिया, केप भर्डे, कोट दिभ्वार, सेनेगल, र ट्युनिसिया ‘भिसा बन्ड’ कार्यक्रम अन्तर्गत पर्छन् । यी देशका दर्शकहरूले हजारौँ डलर अग्रिम तिर्नुपर्ने भएकाले साना देशका लागि दर्शक सहभागिता कम हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।
अमेरिकाले अधिकांश खेलहरू आयोजना गर्ने भएकाले क्यानडा र मेक्सिकोमा विकल्प सीमित रहेको छन् । धरौटी र सिङ्गल इन्ट्री भिसाले आवतजावत कठिन बनाउनुका साथै प्रशासनिक प्रक्रिया ढिला हुँदा खेल छुट्ने जोखिम बढ्ने छ ।
अमेरिकाको यो नयाँ भिसा नीति ‘ओभरस्टे’ कम गर्ने उद्देश्य राख्दै आएको भए पनि वास्तविक दर्शकका लागि यात्रा अझ महँगो, जटिल, र अनिश्चित बनाउने खतरा बढाएको छ । विश्वकपका लागि अग्रिम योजना बनाउन नचाहने वा आर्थिक रूपमा सक्षम नभएका दर्शकहरूका लागि यो नियमले प्रत्यक्ष असर पार्ने निश्चित छ ।
















