अमेरिकामा पेट्रोलको मूल्य बढ्दा उपभोक्ताको दैनिक जीवनमा असर, पेन्सिलभेनियामा प्रति ग्यालेन ४ डलर नजिक
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / संयुक्त राज्य अमेरिकामा पेट्रोलको मूल्य लगातार उकालो लागिरहेको छ ।
पेट्रोलको बढ्दो मूल्यले उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्न थालेको छ। इरानसँग सम्बन्धित युद्धका कारण विश्वव्यापी तेल आपूर्ति शृङ्खला प्रभावित भएपछि अमेरिकामा इन्धनको मूल्य तीव्र रूपमा बढेको हो।
हाल पेट्रोलको औसत मूल्य प्रति ग्यालोन करिब ४ डलर पुगेको छ । जुन युद्ध सुरु भएयता करिब ३६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ। पेन्सिलभेनियामा भने यो मूल्य अझै संवेदनशील अवस्थामा रहँदै प्रति ग्यालोन ३.९८ डलर पुगेको छ।
अमेरिकन अटो मोबाइल एसोसिएसनका अनुसार अप्रिल १ सम्मको यो मूल्य सन् २०२२ को अगस्टपछि सबैभन्दा उच्च स्तर हो। ऊर्जा बजारमा आएको अस्थिरताले उपभोक्तालाई मात्र नभई समग्र अर्थतन्त्रलाई नै असर पार्ने सङ्केत देखिएको छ।

पेट्रोलको मूल्य निर्धारणमा ब्रेन्ट कच्चा तेलको महत्त्वपूर्ण भूमिका हुन्छ । जसले करिब ५१ प्रतिशत हिस्सा ओगटेको अमेरिकी ऊर्जा सूचना प्रशासनले जनाएको छ। यसको अर्थ, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने बित्तिकै अमेरिकी उपभोक्ताले पनि महँगो पेट्रोल किन्न बाध्य हुने अवस्था सिर्जना हुन्छ।
इरान नजिक रहेको ‘होर्मुज जलमार्ग’ विश्वव्यापी ऊर्जा आपूर्तिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हाल देखिएको सैन्य तनाव र अवरोधका कारण यो जलमार्ग प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा पुगेको छ । जसले विश्व बजारमा तेलको आपूर्ति घटाएको छ।
आपूर्ति घटेपछि स्वाभाविक रूपमा मूल्य वृद्धि हुने भएकाले यसको असर विश्वभरिका उपभोक्तामा परेको छ।
ऊर्जा विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाले छोटो अवधिमा मात्र होइन, दीर्घकालीन रूपमा पनि बजारलाई अस्थिर बनाउन सक्ने बताइएको छ । आपूर्ति र मागबीच असन्तुलन बढ्दै जाँदा मूल्य अझै माथि जाने सम्भावना रहेको जनाइएको छ ।

अमेरिकाभित्रै पनि यसले विभिन्न क्षेत्रमा प्रभाव पार्न थालेको छ। ढुवानी खर्च बढ्दा खाद्यान्नदेखि अन्य उपभोग्य वस्तुको मूल्यमा समेत वृद्धि हुन सक्ने छ। यसले आम उपभोक्ताको क्रय शक्ति घटाउने र आर्थिक दबाब बढाउने जोखिम रहेको छ। साथै, लामो समयसम्म पेट्रोलको मूल्य उच्च रहिरहेमा उद्योग, व्यवसाय र सेवा क्षेत्र पनि प्रभावित हुन सक्ने छन् ।
अमेरिकन अटो मोबाइल एसोसिएसनका अनुसार क्यालिफोर्नियामा प्रति ग्यालोन ५.८४, हवाईमा ५.३८, वासिङ्टनमा ५.३१, ओरिगनमा ४.८७ र मेरिल्याण्डमा ४.०५ प्रति ग्यालोन डलर पुगेको जनाइएको छ ।
















