नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने, राज्यको गभर्नरदेखि राजदूतसम्म पुग्ने लक्ष्यमा अघि बढ्न ह्यारि भण्डारीको सुझाव
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / नेपाली मुलका पहिलो अमेरिकन डेलिगेट डा ह्यारि भण्डारीले अब नयाँ पुस्तलाई नेतृत्वमा ल्याउने गरि अमेरिकामा रहेका नेपाली भाषीले लाग्नु पर्नेमा जोड दिएका छन्।
नेपाली महावाणिज्यदूतावास न्यू योर्कद्वारा पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार आयोजित कन्सुलर सेवा शिविरमा आयोजित अन्तर्क्रियामा बोल्दै मेरिल्याण्ड राज्य सभा सदस्य डा भण्डारीले अमेरिका जन्मी हुर्किएका बालबालिकालाई भोली राज्यको गभर्नर देखि राजदूत सम्म पुग्ने लक्ष्य राख्न पनि आग्रह गरे।
भण्डारीले अमेरिकामा जन्मँदै हुर्कँदै गरेका नेपाली मूलका बालबालिकालाई उच्च नेतृत्व तहमा पुर्याउने दीर्घकालीन सोच आवश्यक रहेको बताए।
उनले आफूले सङ्घर्षपूर्ण यात्राबाट ग्यास स्टेशन र रेस्टुरेन्टमा काम गर्दै सुरु गरेर आज राज्यसभामा नीति निर्माण तहसम्म पुग्न सफल भएको उदाहरण दिँदै नयाँ पुस्ताका लागि अझ ठूलो सम्भावना रहेको उल्लेख गरे। “ह्यारिसबर्ग, सिकागो वा डिसीमा हुर्किएको नेपाली मूलको बालबालिका भोलि गभर्नर वा राजदूत बन्न सक्छ—हामीले त्यही लक्ष्यका साथ सोच्नुपर्छ,” उनले भने।
भण्डारीले अमेरिकालाई अवसर र उदारताले भरिएको देशका रूपमा चित्रण गर्दै नेपाली समुदायले यहाँ उल्लेखनीय प्रगति गरेको बताए। उनले हजारौँ नेपाली मूलका डाक्टर, नर्स तथा पेशाकर्मीले विभिन्न क्षेत्रमा योगदान दिइरहेको उल्लेख गरे।
समुदायभित्र बढ्दो आत्महत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले आर्थिक सफलतासँगै मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। “हामीले सकारात्मक सोच, सहकार्य र समुदायबिचको सम्बन्ध बलियो बनाउनुपर्छ,” उनले भने।
उनले नेपाली समुदायलाई संस्थागत रूपमा बलियो बन्न, राजनीतिक तथा सामाजिक सहभागिता बढाउन र अमेरिकाको मूलधारसँग जोडिन आग्रह गरे। साथै, विदेशमा बसेर पनि नेपालप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्नेमा जोड दिँदै आलोचना भन्दा पनि सकारात्मक सन्देश फैलाउन आग्रह गरे।
दोहोरो नागरिकताको सन्दर्भमा उनले यसको फाइदाबारे नेपाल सरकारलाई स्पष्ट रूपमा बुझाउनुपर्ने धारणा राख्दै विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी र आर्थिक योगदान गर्न सक्ने सम्भावना औँल्याए।
कार्यक्रममा नेपाली तथा नेपाली भाषी भुटानी समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता शिविरहरूले सेवा पहुँच विस्तारसँगै समुदायबिच सहकार्य र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।
नेपाली महावाणिज्यदूतावास, न्यू योर्कद्वारा आयोजित उक्त शिविरमा ७७ जनाले राहदानी नवीकरण, भिसा लगायतका सेवा लिएका थिए। शिविरलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पेन्सिल्भेनिया च्याप्टर सहितका संघ संस्थाले सहयोग गरेका थिए।















