राष्ट्रपति ट्रम्पद्वारा खाद्य सहायता कार्यक्रममा ठगी रोक्न विशेष टास्क फोर्स गठन
कार्लाल, पेन्सिलभेनिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाद्य सहायता ‘फुड स्ट्याम्प’ र संघीय बाल पोषण कार्यक्रमहरूमा हुने ठगी, दुरुपयोग र अनियमितता नियन्त्रण गर्न विशेष टास्क फोर्स गठन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति ट्रम्पले मिनेसोटा राज्यमा सार्वजनिक भएको ठूलो ठगी प्रकरणपछि यो कदम चालिएको हो।
यो टास्क फोर्स उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहनेछ र सप्लिमेन्टल न्यूट्रिसन असिस्टेन्स प्रोग्राम ‘स्न्याप’ तथा बाल पोषण कार्यक्रमहरूमा हुने ठगी नियन्त्रणका लागि राष्ट्रिय रणनीति तयार गर्नेछ।
प्रशासनका अनुसार टास्क फोर्सले लाभग्राहीको योग्यताको कडाइका साथ जाँच गर्ने, भुक्तानी अघि नै नियन्त्रण प्रणाली सुदृढ गर्ने, ठगीका संकेत र जोखिम पहिचान गर्ने, विभिन्न निकायबिच सूचना आदानप्रदान बढाउने तथा सङ्गठित ठगी सञ्जालहरू भत्काउने जस्ता काम गर्नेछ।
सरकारले मिनेसोटामा भएका केही ठगी घटनालाई यस्तो टास्क फोर्स आवश्यक हुनुको मुख्य कारण मानेको छ। त्यहाँ प्रत्येक वर्ष फुड स्ट्याम्पमा खर्च हुने करिब ८६६ मिलियन डलरमध्ये झन्डै ९ प्रतिशत रकम त्रुटिपूर्ण रूपमा खर्च हुने अनुमान गरिएको छ।
विशेष गरी ‘फिडिङ अवर फ्युचर’ नामक गैरनाफामूलक संस्थाले करिब २५० मिलियन डलर बराबरको ठगी गरेको खुलासा भएको थियो।
उक्त संस्थाले नक्कली भोजन केन्द्र खोलेर हजारौँ बालबालिकालाई खाना खुवाएको झूटो दाबी गर्दै करोडौँ डलर बराबरको भुक्तानी लिएको आरोप छ। यो प्रकरण कोभिड–१९ महामारीको समयमा सुरु भएको थियो । बाल पोषण कार्यक्रममा सहभागी हुनुपर्ने केही नियमहरू खुकुलो पारिएको थियो।
अमेरिकी सरकारी वकिल कार्यालयका अनुसार उक्त संस्थाकी कार्यकारी निर्देशक एमी बक र सलिम सइदले मिलेर हजारौँ बालबालिकालाई खाना वितरण गरेको झूटो विवरण पेश गरेका थिए। उनीहरूले सन् २०१९ मा करिब ३ दशमलव ४ मिलियन डलर र सन् २०२१ मा झन्डै २०० मिलियन डलर संघीय रकम प्राप्त गरेका थिए।
संघीय जूरीले बक र सइदलाई महामारीकालीन कोषमा २५० मिलियन डलर ठगी गरेको ठहर गर्दै दोषी ठहर गरेको छ। उनीहरूको सजाय निर्धारण हुन बाँकी रहेको छ।
यसअघि सन् २०२५ मे महिनामा कृषि विभागले सबै राज्यहरूबाट स्न्याप सम्बन्धी विवरण माग गरेको थियो। डिसेम्बरमा कृषि मन्त्री ब्रुक रोलिन्सले आवश्यक तथ्यांक नदिने २१ राज्यहरू ‘मिनेसोटासहित’ बाट प्रशासनिक रकम रोक्ने चेतावनी दिएकी थिइन्।
त्यस्तै, फेब्रुअरीमा क्यालिफोर्नियाको संघीय अदालतले उक्त रकम रोक्न नपाइने भन्दै अस्थायी आदेश जारी गरेको थियो।
नयाँ टास्क फोर्समा ट्रेजरी, कृषि, न्याय, श्रम, स्वास्थ्य तथा मानव सेवा, आवास, शिक्षा, भेट्रान्स मामिला, होमल्याण्ड सेक्युरिटी, साना व्यवसाय प्रशासन लगायत विभिन्न संघीय निकायका प्रतिनिधिहरू रहनेछन्। साथै, फेडरल ट्रेड कमिसनका अध्यक्ष एन्ड्रु एन.फर्ग्युसनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।















