अमेरिकामा ग्रीन कार्डवाहकका लागि नयाँ नियम लागू: २०२६ मा के–के बदलिँदैछ?
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकामा बसोबास गर्ने ग्रीन कार्डवाहकहरूका लागि २०२६ मा केही महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू लागू भएका छन् ।
नयाँ नियमहरूले व्यावसायिक ऋण प्राप्त गर्ने प्रक्रिया, देश प्रवेश र बाहिरिने क्रममा हुने बायोमेट्रिक जाँच तथा शरणार्थीहरूको स्थायी बसोबास (ग्रीन कार्ड) सम्बन्धी प्रक्रियामा असर पार्ने बताइएको छ ।
संघीय निकायहरूले जारी गरेका आधिकारिक सूचना अनुसार यी नियमहरू निश्चित मितिदेखि लागू भइसकेका छन् । ग्रीन कार्डवाहक, व्यवसायी, यात्रु तथा शरणार्थीहरूले आफ्नो योजना र निर्णयहरू पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।
स्थायी बसोबासको अनुमति पाएका व्यक्तिहरू र शरणार्थीहरूले प्रायः आर्थिक योजना, यात्रा तथा स्थायी बसोबासका आवेदनहरू संघीय नियम र समय सीमामा आधारित भएर बनाउने गर्छन् । नयाँ नियमहरूले यस्ता निर्णयहरूमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । सरकारी निकायहरूले जारी गरेका आधिकारिक सूचना तथा ज्ञापन पत्रहरू अनुसार यी नियमहरू निश्चित मितिदेखि लागू भइसकेका छन् ।
‘एसबीए’ व्यावसायिक ऋणमा ग्रीन कार्डवाहकलाई स्वामित्व निषेध
अमेरिकाको स्मल बिज्नेस एड्मिनिट्रेसन ‘एसबीए’ ले १ मार्च २०२६ देखि लागू हुने गरी नयाँ नियम ल्याएको छ । यसअनुसार ‘एसबीए’ समर्थित व्यावसायिक ऋण अब केवल अमेरिकी नागरिक वा अमेरिकामा बसोबास गर्ने अमेरिकी राष्ट्रियहरूले पूर्ण स्वामित्व भएको व्यवसायलाई मात्र उपलब्ध हुनेछ ।
त्यस्तै, २ फेब्रुअरी २०२६ मा प्रकाशित नीति सूचनाका अनुसार नयाँ नियम लागू भएपछि ग्रीन कार्डवाहकहरूले कुनै पनि प्रतिशत स्वामित्व राखेको व्यवसाय ‘एसबीए’ ऋणका लागि योग्य नहुने बताइएको छ ।
अमेरिका प्रवेश–प्रस्थानमा बायोमेट्रिक ट्र्याकिङ लागू
अमेरिकामा प्रवेश गर्ने तथा बाहिरिने गैर–नागरिकहरूका लागि बायोमेट्रिक ट्र्याकिङ सम्बन्धी नयाँ नियम लागू भएको छ ।
यु.एस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन ‘सिबीपी’ का अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डिएचएस’ ले जारी गरेको नयाँ नियम सन् २०२५ को २६ डिसेम्बरदेखि कार्यान्वयनमा आएको हो ।
नयाँ व्यवस्थाअनुसार अब अमेरिका प्रवेश गर्दा वा बाहिरिँदा सबै गैर–नागरिकहरूको अनुहारको बायोमेट्रिक डेटा अर्थात् फेसियल स्क्यान सङ्कलन गरिने छ । यो प्रक्रिया विमानस्थल, स्थलसीमा, समुद्री बन्दरगाह तथा अन्य स्वीकृत प्रस्थान बिन्दुहरूमा लागू हुने जनाइएको छ ।
संघीय दर्तामा प्रकाशित विवरणअनुसार आवश्यक परे विदेशी नागरिकहरूबाट थप बायोमेट्रिक जानकारी पनि सङ्कलन गर्न सकिनेछ । सिबीपी अधिकारी डियान जे. साबाटिनोले यो प्रणालीले अमेरिका प्रवेश–प्रस्थान प्रक्रियालाई अझ सुरक्षित र आधुनिक बनाउने विश्वास व्यक्त गरेका छन् ।
ग्रीन कार्ड समीक्षा अवधिमा केही शरणार्थीलाई हिरासतमा राख्न सकिने
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ‘डिएचएस’ ले १८ फेब्रुअरी २०२६ मा जारी गरेको नयाँ ज्ञापन पत्रअनुसार अमेरिका आएका केही शरणार्थीलाई ग्रीन कार्ड समीक्षा प्रक्रियाका क्रममा हिरासतमा राख्न सकिने व्यवस्था गरिएको छ ।
नीतिअनुसार शरणार्थीहरूलाई सुरुमा अस्थायी रूपमा अमेरिका प्रवेश दिइन्छ र एक वर्षपछि उनीहरूको केस पुनः समीक्षा गरिन्छ ।
नयाँ नियमअनुसार एक वर्ष पुगेपछि शरणार्थीहरूले समीक्षा प्रक्रियाका लागि सरकारी निकायमा उपस्थित हुनु पर्नेछ । यदि उनीहरू आफैँ उपस्थित नभए ‘डिएचएस’ले पक्राउ गरी हिरासतमा राखेर पनि समीक्षा प्रक्रिया सञ्चालन गर्न सक्ने जनाइएको छ ।
ज्ञापन पत्रमा आवश्यक परे समीक्षा प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्न सकिने उल्लेख गरिएको छ । यसअघि सन् २०१० देखि लागू भएको नियमअनुसार ग्रीन कार्ड नपाएकै कारण मात्र शरणार्थीलाई हिरासतमा राख्ने व्यवस्था थिएन । नयाँ निर्णयले ती पुराना सुरक्षा प्रावधानहरू हटाएको छ ।















