ह्वाइट हाउस : राष्ट्रपति ट्रम्प द्वन्द्वपछि इरानमा अमेरिकी भूमिकाबारे विचार गर्दै
वाशिङ्टन डी.सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियानपछि इरानमा अमेरिकाको सम्भावित भूमिकाबारे आफ्ना सल्लाहकारहरूसँग छलफल गरिरहेका छन्।
यसबिच अमेरिकी गुप्तचर निकायहरूले इरानका मारिएका सर्वोच्च नेता अलि खामेनी का छोरा मोज्ताबा खामेनी उत्तराधिकारीका रूपमा अगाडि आएको भन्ने रिपोर्टहरू निगरानी गरिरहेको ह्वाइट हाउसले बुधवार जनाएको छ।
वाशिङ्टन डी.सीस्थित ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव क्यारोलिन लेभिटले उक्त विषयमा अमेरिकी गुप्तचर एजेन्सीहरू अध्ययन गरिरहेको बताइन्। “हामीले ती रिपोर्टहरू देखेका छौँ। यसबारे गुप्तचर निकायहरूले मूल्याङ्कन गरिरहेका छन्। अहिलेका लागि पर्खेर हेर्नुपर्छ,” उनले भनिन्।
रिपोर्टहरूका अनुसार मोज्तबा खामेनीले वर्षौँदेखि इरानको प्रभावशाली रिभोल्युशनरी गार्ड्स र धार्मिक संस्थापनासँग नजिकको सम्बन्ध बनाउँदै प्रभाव विस्तार गरेका छन्, जसका कारण उनी उत्तराधिकारीको दौडमा अग्रस्थानमा देखिएका छन्।
प्रेस सचिव लेभिटले राष्ट्रपति ट्रम्पले सैन्य अभियान समाप्त भएपछि इरानको भविष्यमा वासिङ्टनको सम्भावित भूमिकाबारे राष्ट्रिय सुरक्षा टोलीसँग सक्रिय रूपमा छलफल गरिरहेको बताइन्। तर हालको मुख्य ध्यान सैन्य अभियानको सफलतामा केन्द्रित रहेको उनले स्पष्ट पारिन्।
संयुक्त इजरायल–अमेरिका हवाई कारबाहीबारे उठेका आलोचनाहरूको बचाउ गर्दै लेभिटले इरानले अमेरिकाविरुद्ध प्रत्यक्ष र आसन्न खतरा उत्पन्न गरेको दाबी गरिन्। “यो निर्णय इरानले संयुक्त राज्य अमेरिकाविरुद्ध प्रस्तुत गरेका विभिन्न प्रत्यक्ष खतराहरूको समग्र मूल्याङ्कनका आधारमा गरिएको हो,” उनले भनिन्।
उनले इरानलाई “४७ वर्षदेखि अमेरिका, उसका सहयोगी र जनतालाई धम्की दिँदै आएको आतङ्कवादी शासन” भनेर टिप्पणी गरिन् र अमेरिकी जनता युद्धलाई समर्थन गरिरहेको राष्ट्रपति ट्रम्पको विश्वास रहेको बताइन्।
राष्ट्रपति ट्रम्पले इजरायलले अमेरिकालाई द्वन्द्वमा धकेलेको भन्ने आरोप अस्वीकार गरेका छन्। तर उनको प्रशासनले विभिन्न धारणा सार्वजनिक गरेको र केही समर्थक तथा डेमोक्र्याट नेताहरूले यसलाई “छनोटको युद्ध” भन्दै आलोचना गरेका छन्।















