अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण : राष्ट्रपति ट्रम्पका अनुसार सुप्रिम लिडर खामेनी मारिए
कार्लाल, पेन्सिलभेनिया / संयुक्त राज्य अमेरिकाले शनिवार इरानविरुद्ध सैन्य आक्रमण तथा ‘ठूलो युद्ध कारबाही’ सुरु गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले इरानको मिसाइल क्षमतालाई लक्षित गर्दै आक्रमण गरिएको बताएका हुन् । अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मार्फत खामेनीको मृत्यु पुष्टि गरेका छन् ।
राष्ट्रपति ट्रम्पले लेखेका छन्, “इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक खामेनी अब जीवित छैनन् । यो इरानका जनताका लागि मात्र होइन, महान् अमेरिकीहरू तथा विश्वका अन्य देशका ती मानिसहरूका लागि पनि न्याय हो, जसलाई खामेनी र उनका हिंस्रक सहयोगीहरूले मारेका वा घाइते बनाएका थिए।”
उनले “भारी र सटीक बमबारी” हप्ताभरि वा आवश्यक परेसम्म निरन्तर जारी रहने बताएका छन्।
अमेरिकी–इजरायली आक्रमणपछि इरानले प्रतिकार स्वरूप अमेरिकी र इजरायली लक्ष्यहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ ।
इरानले बहराइनस्थित अमेरिकी नौ सैनिक अड्डामा प्रहार गरेको जनाएको छ । इरानले आफ्ना शत्रुहरूलाई निर्णायक रूपमा पराजित गरिने चेतावनी दिएको छ । यद्यपि ती आक्रमणमा कुनै पनि अमेरिकी सैनिक घाइते वा मृत भएको विवरण छैन ।
शनिवार बिहान तेहरानबाट प्राप्त तस्बिरहरूमा राजधानी शहरमा धुवाँ उडिरहेको र सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिएको छ । इरानले दक्षिणी क्षेत्रमा रहेको विद्यालयमा भएको आक्रमणमा परि १ सय ८ जनाको मृत्यु भएको जनाएको छ ।
यो द्वन्द्व पछिल्ला केही हप्तादेखि बढ्दो तनावको पृष्ठभूमिमा भएको हो । राष्ट्रपति ट्रम्पले इरानको आणविक र मिसाइल विकास कार्यक्रमबारे वार्ता असफल भए आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए ।
















