भर्जिनियामा अर्को हृदयविराक घटना : श्रीमती र छोरीको धारिलो हतियार प्रहार गरि हत्या
भर्जिनिया, अमेरिका / अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्समा एक परिवारमा अत्यन्त दुःखद र हृदयविदारक घटना भएको छ।
सोमबार बिहान भएको पारिवारिक हिंसामा श्रीमती र छोरीको ज्यान गएको छ भने ज्वाइँ गम्भीर घाइते भएका छन्।
फेयर फ्याक्स पुलिस डिपार्टमेन्टका अनुसार ५० वर्ष आसपासका एक व्यक्तिले करिब १० इन्च लामो धारिलो हतियार (मासु काट्ने छुरा) प्रयोग गरी आफ्नै परिवारमाथि आक्रमण गरेका थिए।
घटनास्थलमै पुगेका प्रहरीले आक्रमणकारीलाई पटक–पटक हतियार छोड्न चेतावनी दिएका थिए। तर उनले आक्रमण जारी राखेपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको जनाइएको छ।
प्रहरीका अनुसार, आक्रमणमा श्रीमती र ३० वर्ष आसपासकी छोरीको मृत्यु भएको हो। गम्भीर घाइते ज्वाइँ अस्पतालमा उपचाररत छन् र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घटनाका बेला घरमै रहेको एक वर्षे नाति भने शारीरिक रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ। बाल संरक्षण सेवामार्फत शिशुको हेरचाहको व्यवस्था गरिएको छ।
स्थानीय सचार माध्यमहरूका अनुसार प्रहरी प्रमुखले घटनालाई “अकल्पनीय र अत्यन्त रक्तपातपूर्ण दृश्य” भन्दै घरेलु हिंसा कहिलेकाहीँ सतहमा नदेखिए पनि एक्कासि भयावह रूप लिन सक्ने चेतावनी दिएका छन्।
एनआरएनए भर्जिनियाका अध्यक्ष अभिजित राईले घटना नेपाली परिवारमा नै भएको हो भनेर प्रहरीले अझै नखुलाएको बताए।
‘म घटना स्थलमा छु यो अपार्टमेन्ट भवन हो यहाँ नेपालीहरू पनि बस्छन् तर प्रहरीले कुन समुदायको परिवार हो भनेको छैन।’ समाज टाइम्स सँग राईले भने।
















