ट्रम्प प्रशासनद्वारा ‘डब्लुएचओ’को काम पुनः निर्माण गर्न २ अर्ब डलरको योजना अघि सारियो
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले ‘एचएचएस’ले अमेरिका ‘डब्लुएचओ’बाट जनवरीमा बाहिरिएपछि छुटेका विश्व स्वास्थ्य निगरानी प्रणालीहरू पुनः निर्माण गर्ने प्रस्ताव तयार गरिरहेको बताएको छ ।
वार्षिक करिब २ अर्ब डलर लागत अनुमान गरिएको उक्त योजना अन्तर्गत प्रयोगशालाहरू, डाटा–साझेदारी सञ्जालहरू तथा आपत्कालीन द्रुत–प्रतिक्रिया प्रणाली स्थापना गरिनेछ । जुन हाल वल्ड हेल्थ अर्गनाइजेन ‘हु’ को पूर्वाधारसँग मिल्दो जुल्दो रहेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकी हित र पारदर्शितालाई प्राथमिकता दिने सहयोगी राष्ट्रहरूको गठबन्धनमार्फत नयाँ स्वास्थ्य अनुगमन सञ्जाल गठन गर्ने परिकल्पना गरेको जनाइएको छ । यता, आलोचकहरूले यस्तो कदमले विश्वव्यापी स्वास्थ्य सूचनामा विखण्डन ल्याउने र सङ्कटका बेला समस्या उत्पन्न हुने चेतावनी दिएका छन्।
सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार ‘डब्लुएचओ’को विकल्प सिर्जना गर्दा विश्वव्यापी चिकित्सकीय सूचनाको एकरूपता कमजोर हुने बताएका छन् ।
उनीहरूले अमेरिकी नेतृत्वको नयाँ प्रणालीले ‘डब्लुएचओ’ सदस्यताबाट प्राप्त हुनेभन्दा कम गुणस्तरको र कम व्यापक डाटा प्रदान गर्ने सम्भावना रहेको बताएका छन् । साथै, डब्लुएचओको पूर्वाधार दोहोर्याउँदा अनावश्यक खर्च बढ्ने र नयाँ रोगहरू देखा पर्दा विश्वव्यापी प्रतिक्रिया ढिलो हुने जोखिम रहने उनीहरूको तर्क छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि ‘डब्लुएचओ’माथि चीनको अत्यधिक प्रभाव रहेको भन्दै गत जनवरीमा ‘डब्लुएचओ’बाट अमेरिका बाहिरिने निर्णय गरेका थिए ।
नयाँ प्रस्तावित योजना अनुसार वार्षिक २ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अमेरिकाले आफ्नो सबैभन्दा उच्च योगदान अवधिमा ‘डब्लुएचओ’ लाई उपलब्ध गराएको करिब ६ सय ६६ मिलियन डलरभन्दा करिब दुईदेखि तीन गुणा बढी हो।
‘डब्लुएचओ’ विभिन्न सदस्य राष्ट्र र निजी दाताहरूको संयुक्त सहयोगबाट सञ्चालन हुने संस्था हो। नयाँ प्रस्तावित निकायको वित्तीय स्रोत मुख्यतः अमेरिकी कङ्ग्रेसबाट स्वीकृत बजेटमा निर्भर रहने देखिन्छ।
















