हतियारसहित संसद भवन अगाडि दौडिएका १८ वर्षीय युवक पक्राउ
वासिङ्टन डिसी / अमेरिकी संसद भवन ‘यूएस क्यापिटल’ तर्फ लोड गरिएको सटगन बोकेर दौडिएका एक युवकलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ।
अमेरिकी क्यापिटल प्रहरी प्रमुख माइकल सुलिभानका अनुसार १८ वर्षीय ती युवकलाई कुनै अप्रिय घटना नघट्ने गरी नियन्त्रणमा लिइएको हो। उनको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन।
प्रहरीका अनुसार ती युवकले ट्याक्टिकल भेस्ट र ट्याक्टिकल ग्लोभ्स लगाएका थिए। उनको सवारीसाधनमा केभ्लार हेल्मेट र ग्यास मास्क समेत फेला परेको थियो।
सुलिभानले पत्रकारहरूलाई जानकारी दिँदै भने, “ती युवक दिउँसो १२ बजेपछि सेतो मर्सिडिज एसयूभीमा क्यापिटल नजिक आइपुगेका थिए। गाडी पार्क गरेपछि उनी अमेरिकी कंग्रेस रहेको भवनतर्फ दौडिएका थिए।”
प्रहरीले उनलाई चुनौती दिँदै हतियार फाल्न आदेश दिएको र उनले आदेश पालना गरेपछि नियन्त्रणमा लिइएको सुलिभानले बताए। यो घटना तीन महिना अघि ह्वाइट हाउस नजिकै भएको एम्बुस आक्रमणमा एक नेशनल गार्ड सदस्यको मृत्यु र अर्का एक घाइते भएको घटनापछि भएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता क्यापिटलमा ‘स्टेट अफ द युनियन सम्बोधन’ गर्ने कार्यक्रम तय भएको छ।
“हामी स्टेट अफ द युनियनलाई अत्यन्त गम्भीर रूपमा लिन्छौं। यस घटनाले हाम्रो सुरक्षा तयारीमा कुनै परिवर्तन ल्याउँदैन। सो रात हामी पूर्ण रूपमा तयारी अवस्थामा हुनेछौं,” सुलिभानले बताए।

















