नेपाली भाषी भुटानी अग्रजहरूको नजरअन्दाजले भविष्यको अगुवाको आत्मनिर्भरता खतरामा
भरत तिम्सिना /
ह्यरिसबर्ग, पेन्सिल्भेनिया / संयुक्त राज्य अमेरिका- नेपाली भाषी भुटानी समुदायमा एउटा गहिरो मनोवृत्ति अझै जीवित छ। बच्चा वा परिवारजनले सधैँ अग्रजहरूको स्वीकृति र अनुमोदन खोज्नुपर्छ भन्ने विश्वास बलियो छ। सतहमा यो सम्मान र संस्कार जस्तो देखिन्छ। तर यसको दीर्घकालीन प्रभाव गम्भीर हुन सक्छ। जब कुनै व्यक्ति आफ्नै निर्णयमा विश्वास गर्न सक्दैन र निरन्तर बाह्य स्वीकृतिमा निर्भर रहन्छ, तब उसको आत्मविश्वास, पहिचान र नेतृत्व क्षमता क्रमशः कमजोर बन्दै जान्छ।
बच्चाले यदि सधैँ अनुमति माग्दै हुर्किन्छ भने उसले आफ्नै निर्णय क्षमतामा भरोसा गर्न सिक्दैन। उसको मूल्याङ्कन प्रणाली बाहिर केन्द्रित हुन्छ। यस्तो अवस्थामा व्यक्तित्व विकास सीमित हुन्छ र ऊ अरूलाई खुसी पार्ने मानसिकतामा बन्दिन्छ। धार्मिक, साहित्यिक, साङ्गीतिक वा सामाजिक क्षेत्रमा समेत यही ढाँचा देखिन्छ जहाँ प्रतिभा भन्दा अनुमोदनको राजनीति बलियो हुन्छ।
यसको स्पष्ट उदाहरण समुदायका गतिविधिहरूमा देखिन्छ। पुस्तक छपाउन वा गीत बनाउन नेपालमा हजारौँ अमेरिकी डलर खर्चिनु, हजारौँ तिरेर पुरस्कार किन्नु, तर १५ वा १६ वर्षसम्म पनि अमेरिकामै चर्चित भुटानी कलाकार वा लेखक तयार गर्न नसक्नु संरचनागत सोचको समस्या हो। कार्यक्रममा स्थानीय भुटानी कलाकारले पर्याप्त अवसर नपाउनु र बाहिरी कलाकारमाथि अत्यधिक निर्भर रहनु देखाउँछ कि हामी आत्मनिर्भर प्रतिभा निर्माणभन्दा बाह्य मान्यतालाई प्राथमिकता दिइरहेका छौँ।
पछिल्ला ३ वा ४ वर्षमा यस्ता प्रवृत्तिहरू केही कम भएका छन् तर प्रेरणाको स्तर पनि घटेको देखिन्छ। यो स्वस्थ संकेत होइन। यदि नयाँ पुस्ताले अवसर, स्वीकृति र मार्गदर्शन सन्तुलित रूपमा पाएन भने उनीहरू पूर्ण आत्मविश्वासी बन्न सक्दैनन्।
यदि कुनै बच्चा लगातार अभिभावकबाट स्वीकृति खोज्दै हुर्किरहेको छ भने त्यो चेतावनी संकेत हो। यसको अर्थ उसले आफ्नै निर्णयमा विश्वास गर्न सकेको छैन। यस्तो वातावरणमा हुर्किएको बच्चा आफ्नै क्षमता विकास गर्न हिचकिचाउँछ।
अरूलाई खुसी पार्न आफ्ना चाहना र मूल्य त्याग्छ। स्वतन्त्र र जिम्मेवार निर्णय लिन डराउँछ। असफलतालाई व्यक्तिगत अपमान ठान्छ।
हाम्रो कुरा नमान्ने, केही बुझ्न सक्दैनौ, हामीलाई लाज लाग्यो, आफैँ जान्ने भइस्, ठुलाबडाले भनेको मान्नु पर्छ जस्ता अभिव्यक्तिहरूले वास्तविक सम्मान सिकाउँदैनन्। यी वाक्यहरूले अपराध बोध र लाज सिर्जना गर्छन्। डरमा आधारित आज्ञाकारिता क्षणिक हुन्छ। आत्मसम्मानमा आधारित सम्मान दीर्घकालीन हुन्छ।
धेरै अग्रजहरूले आफ्नो व्यवहारको जरा पहिचान गरेका छैनन्। उनीहरू आफैँ पनि बाल्यकालमा बाह्य स्वीकृतिमा निर्भर थिए। अभिभावक, शिक्षक वा समुदायको मान्यताले नै आफ्नो मूल्य निर्धारण गरिदियो। परिणामस्वरूप अहिले पनि उनीहरू अनुशासन र आज्ञाकारितालाई नै सम्मानको पर्याय ठान्छन्। तर यो वास्तविक नेतृत्व विकास होइन। यो नियन्त्रण र असुरक्षाको विस्तार हो।
परिवार वा समुदायमा यदि मूल्य केवल स्वीकृतिमा आधारित छ भने भविष्यका अगुवा निर्णयमा आत्मनिर्भर हुन सक्दैनन्। उनीहरू सधैँ मान्यता मिल्छ कि मिल्दैन भन्ने डरमा बाँच्छन्। यस्तो मानसिकता भएको समाज नवप्रवर्तन, रचनात्मकता र नेतृत्वमा पछाडि पर्छ।
अग्रजहरूको भूमिका केवल स्वीकृति दिनु होइन। उनीहरूको दायित्व निर्णय क्षमताको विकास गराउनु हो। मार्गदर्शन आवश्यक छ तर नियन्त्रण होइन। अनुशासन आवश्यक छ तर अपमान होइन। सम्मान चाहनु स्वाभाविक हो तर डर र अपराध बोध सिर्जना गरेर पाएको सम्मान स्थायी हुँदैन।
यदि हामी भविष्यमा आत्मनिर्भर, आत्मविश्वासी र सक्षम अगुवा चाहन्छौँ भने सोच परिवर्तन अनिवार्य छ। स्वीकृति केन्द्रित संस्कृतिबाट आत्मविश्वास केन्द्रित संस्कृतितर्फ रूपान्तरण गर्नैपर्छ। नत्र अग्रजहरूको नजरअन्दाजले नै भविष्यको नेतृत्व कमजोर पार्नेछ।
(लेखक क्रियामण फाउन्डेशनका सिइयो हुन् )

















