भ्यालेन्टाइन साँझमा ल्यानक्यास्टर झुम्यो : रामकृष्ण ढकालको स्वर, सुशील विश्वकर्माको बाँसुरी र प्रेमिल माहोल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ को चिसो शनिवार साँझ। बाहिर हिउँले ढाकेको पेन्सिल्भेनियाको ल्यानक्यास्टर, भित्र राताम्य बेलुनले सजिएको ताज महल रेष्टुरेन्टको हल। करिब दुई सयको हाराहारीमा दर्शक, अधिकांश जोडीहरू। प्रेमिल वातावरणबीच सुरु भयो एउटा यादगार सांगीतिक साँझ—ड्रिम सपोर्ट फाउन्डेशन अफ अमेरिका द्वारा आयोजित विशेष कार्यक्रम।
स्टेजमा थिए नेपाली सुगम संगीतका दुई परिचित नाम—रामकृष्ण ढकाल र सुशील विश्वकर्मा।
स्वर र बाँसुरीको समिश्रणले साँझलाई मधुर बनायो। प्रत्यक्ष बाध्यवादन टिमको साथमा ढकालको सुमधुर आवाज र विश्वकर्माको बाँसुरीले हललाई प्रेमिल लयमा डुबायो।
यी दुवै कलाकार नेपाली आधुनिक संगीतका सदाबहार गायक नारायण गोपालको सांगीतिक छत्रछायामा हुर्किएका व्यक्तित्व हुन्। सुरुवातमा सुशीलले रामकृष्णको खुलेर प्रशंसा गरे। काठमाडौँका रेष्टुरेन्टहरूमा सँगै गाएको–बजाएको संघर्षपूर्ण समय सम्झिए। एकै पटक युवा संगीत पुरस्कार पाएको क्षणलाई पुनः स्मरण गरे।
रामकृष्णले पनि सुशीलको तारिफ गर्दै नारायण गोपालसँग जोडिएका प्रसंगहरू कोट्याए। हाँसो, सम्झना र संगीत—तीनैको मिश्रणले वातावरण थप आत्मीय बन्यो।
गीतसँगै गफ, गफसँगै जीवनका पाना
‘लाइभ’ कार्यक्रमको आफ्नै मिठास हुन्छ। गीत र गीतबीचका खाली क्षणहरू गायकका कथा, संघर्ष र रमाइला प्रसंगहरूले भरिन्छन्। अनुभवी ढकाल त्यसमा निपुण देखिए।

गीत जन्मिँदाको प्रसंग सुनाए, केही ठट्टा गरे, केही आत्मव्यङ्ग पनि।
“हिसाब मिलाउन लागिरहेको छु, मिलाउँदै छु… के हुन्छ!” भन्दै जब उनले गाउन थाले, हलमा हाँसोको लहर दौडियो।
उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे।
“हाम्रो सुन्दर संसार थियो, हावा आइ उडाइदियो…”
“ओराली लागेको हरिणको चाल भयो…”
‘ओराली लागेको हरिणको चाल भयो’ गाउने घोषणा गर्दा दर्शकदीर्घामा हल्का हाँसो गुन्जियो। गीतको भाव र उनको जीवनबीच दर्शकहरूले आफैंले समानता खोजे जस्तो देखिन्थ्यो।

कार्यक्रम प्रवेश निःशुल्क थियो तर २१ वर्षमाथिका लागि मात्र। केही अभिभावकले घरमा रहेका सन्तानलाई लाइभमार्फत गीत सुनाइरहेका थिए—यो पनि भ्यालेन्टाइनको आफ्नै भावनात्मक पाटो थियो।
गीतकार पनि हलमै, सिर्जनाको सम्मान
हलमा उपस्थित थिए गीतकार आकास केसी र मनोज खड्का।
केसीको रचना “बचन तोडे…” र खड्काको “गाउँघरले सोध्यो परदेशीलाई फर्कन्छौ कि उतै भासिन्छौ” गाउनु अघि र पछि ढकालले गीतकारलाई पनि स्टेजमा बोलाए र सबै सँग परिचय गराए।
जीवन, व्यथा र मुस्कान
ढकालको आवाज आज पनि अद्भुत छ। नेपाली संगीतमा नारायण गोपालपछि विरासत थाम्ने नामका रूपमा उनलाई लिइन्छ। सडकबाट सुरु भएको सांगीतिक यात्रा, लोकप्रियताको शिखर, अनि जीवनका उतारचढाव—यी सबै पाटाहरू उनले मुस्कानभित्रै लुकाएका छन्।
बीचबीचमा अमेरिकी जीवनशैलीबारे ठट्यौली पारा प्रस्तुत गरे।
“छोरीको कफि अडर लेखेर राखेको छु, त्यही देखाउँछु,” भन्दै दर्शक हसाए।
अमेरिकामा खाना अर्डर गर्दाको रोचक अनुभव सुनाए।
नेपाली चलचित्र आशीर्वाद को गीत “मलाई जिन्दगीले कहाँ पुर्यायो…” गाएर पुरानो समय सम्झाए। साथै आफू निर्माता रहेको आगामी चलचित्र मालती मंगले हेर्न आग्रह गर्न पनि भ्याए।
स्टेजमा मोनु गजमेर
आफैले बनाएको चलचित्र मालती मंगलेको “नखोज रंग आँसु र पानीको…” गाइरहेका ढकालसँगै हरियो वन–पीसमा स्टेजमा आइन् गायिका मोनु गजमेर।
त्यस पछि
दुवैले सँगै गाए—“बाँचुन्जेललाई…”
दर्शकदीर्घामा प्रेमिल जोडीहरूले हात समाउँदै थिए ।
मध्यराततिर बढ्दै गरेको घडी, तैपनि संगीत नरोकिने
बाहिर तीन सातादेखि हिउँले ढाकिएको ल्यानक्यास्टरको चिसो मौसम। भित्र भने गीतको ताप।
घडी मध्यराततिर लम्कँदै थियो।
ढकाल रोकिएनन्।
छिट्को गुन्यो ….
ट्र्याकमा गाउन थालेपछि कुर्सीमा बसेका दर्शकहरू स्टेजअगाडि पुगे। आफ्ना भ्यालेन्टाइनको हात समाउँदै,
तिमिले लगाउदा … भाखा छोप्दै नाच्दै
फेब्रुअरी १४ बिदा हुँदै थियो, तर त्यो साँझको मधुरता उपस्थित हरेक जोडीको स्मृतिमा लामो समयसम्म बाँकी रहनेछ।
रामकृष्ण ढकालको स्वरले फेरि एकपटक प्रमाणित गर्यो—संगीत कहिल्यै ओरालो लाग्दैन, त्यो त सधैं हृदयतिर बगिरहन्छ।
हो व्यवहारको हिसाब किताव मिल्दै गर्छ।

















