ह्यारिसबर्ग निवासी भागवत दुलाललाई न्यू योर्कमा ‘प्रोस्पेक्ट हिल फाउन्डेशन’ अवार्ड
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / ह्यारिसबर्ग निवासी नेपाली भाषी भूटानी समुदायका युवा तथा स्वयंसेवक भागवत दुलाललाई न्यू योर्क सिटीको म्यानह्याटनमा बिहीबार आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको छ। समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएको योगदानको कदर स्वरूप उनलाई सम्मान गरिएको हो।
न्यू योर्क सिटीस्थित ‘प्रोस्पेक्ट हिल फाउन्डेशन’ ले समुदायमा उल्लेखनीय काम गरिरहेका युवाहरूलाई पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा विभिन्न आप्रवासी तथा शरणार्थी पृष्ठभूमिका युवाहरूलाई छनोट गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
दुलाललाई एशियन रेफ्युजी युनाइटेड (एआरयू) को सिफारिसमा अवार्ड प्रदान गरिएको हो। एआरयू शरणार्थी तथा आप्रवासी समुदायका अधिकार, कानुनी सहयोग, निर्वासनसम्बन्धी मुद्दामा समन्वय तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो।
दुलाल सन् २०२३ देखि एआरयुसँग आबद्ध छन् र हाल ‘रेस्पोन्स संयोजक’को भूमिकामा कार्यरत छन्। उनले डिपोर्टेशन डिटेन्सन, कानुनी सहयोग र अन्य उद्धार कार्यक्रमहरूमा नेतृत्व दिँदै आएका छन्।
सन् २००३ मा जन्मिएका दुलाल सन् २०१० मा परिवार सँगै अमेरिका आएका हुन् । शुरुमा भर्जिनिया बसोबास गरेको दुलाल परिवार पछि पेन्सिल्भेनियाको ह्यारिसबर्ग सरेको हो। उनले पेन स्टेटबाट आइटीमा स्नातक तह पूरा गरेका छन् र हाल सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरिरहेका छन्।

अवार्ड ग्रहण गर्न उनी आफ्नी आमासँगै न्यू योर्क पुगेका थिए। सम्मान प्राप्तिपछि उनले समाज टाइम्ससँग प्रतिक्रिया दिँदै यो उपलब्धि व्यक्तिगतभन्दा सामूहिक प्रयासको परिणाम भएको बताए। “यो अवार्ड मेरो नाममा भए पनि हाम्रो सम्पूर्ण टोलीको मेहनतको फल हो। विगतदेखि समुदायका लागि काम गर्दै आउनुभएका सबै साथीहरूको योगदानले नै यो सम्भव भएको हो,” उनले भने।
समुदायका हकहित र अधिकारका पक्षमा सक्रिय युवाको पहिचान र सम्मानले आगामी दिनमा अझ सशक्त सामाजिक नेतृत्व विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा अवार्ड पाएका अन्य युवा र समूहहरूमा स्थानीय समाज सुधार कार्यक्रमका अगुवाहरू, आप्रवासी हकहितका कार्यकर्ताहरू र रङ्गिन समुदायका लागि काम गरिरहेका विभिन्न टोलीहरूको प्रतिनिधिहरू रहेका थिए ।
प्रोस्पेक्ट हिल फाउन्डेशन एक नयाँ शताब्दीका परोपकारी संस्था हो जसले सामुदायिक नेतृत्व विकास, सामाजिक न्याय, वातावरण तथा आणविक परियोजनालाई अनुदान तथा समर्थन गर्दछ र विशेषगरी युवा नेतृत्वका कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्छ।
फाउन्डेशनले युवाहरूलाई सशक्त पार्ने, विविध समुदायमा अवसर विस्तार गर्ने र विभेद हटाउने लक्ष्यका साथ ग्रान्ट तथा अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ।
“यो सम्मान मेरो लागि मात्र होइन, हाम्रो टिमको साझा उपलब्धि हो। यही कामले गर्दा आज म यहाँसम्म पुगेको छु र म यसमा गर्व गर्छु। एआरयूका सबै साथी तथा समर्थकहरूको योगदान यस अवार्डको मूल आधार हो।” दुलालले भने।
दुलालले थपे, “समाजका हकहित, समान अधिकार र न्यायका लागि काम गर्नु केवल व्यक्तिगत उपलब्धि होइन; यो हाम्रो साझा यात्रा हो। म यो अवसरलाई समुदायका लागि अझ सशक्त आवाज बनाउने प्रेरणामा प्रयोग गर्छु।”


















