आन्तरिक राजश्व सेवा ‘आइआरएस)’को २०२६ कर समायोजन, कसलाई कति फाइदा?
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकाको आन्तरिक राजश्व सेवा (आइआरएस)ले २०२६ को लागि सङ्घीय आयकर दरमा सामान्य वृद्धिको घोषणा गरेको छ ।
(आइआरएस)ले मुद्रास्फीतिको समायोजन स्वरूप कर स्ल्याबहरूको सीमा औसतमा करिब २ दशमलव ८% ले बढाएको हो । यससँगै स्ट्यान्डर्ड डिडक्सन र केही कर छुटहरू विशेष गरी ‘अन्र्ड इन्कम ट्याक्स क्रेडिट’ पनि वृद्धि गरेको हो । यस वृद्धिसँगै आगामी वर्ष धेरै करदातालाई केही राहत दिने अपेक्षा गरिएको छ ।
(आइआरएस)ले २०२६ मा सबै सात कर स्ल्याबका आय सीमाहरू बढाएको छ । तल्लो दुई स्ल्याब करिब ४% ले र बाँकी स्ल्याबहरू करिब २ दशमलव ३% ले वृद्धि गरेको जनाएको छ ।
एकल करदाताका लागि १०% कर स्ल्याब अब १२ हजार सम्म लागू हुनेछ । सन् २०२५ मा ११ हजार ९ सय २५ डलर थियो । त्यस्तै, शीर्ष ३७% कर स्ल्याब अब ६ लाख ४० हजार ६ सय १ बाट सुरु हुनेछ ।
संयुक्त रूपमा फाइल गर्ने विवाहित दम्पतीका लागि १०% स्ल्याब २४ हजार ८ सय सम्म हुनेछ । शीर्ष ३७% स्ल्याब ७ लाख ६८ हजार ७ सय १ बाट सुरु हुनेछ ।
यो वृद्धि सन् २०२३ र २०२४ मा क्रमशः ७% र ५ दशमलव ४% को तुलनामा कम हो । जसले मुद्रास्फीति घट्दो अवस्थामा रहेको सङ्केत गर्छ ।
२०२६ मा स्ट्यान्डर्ड डिडक्सन अन्तर्गत एकल करदाताका लागि १६ हजार १ सय, हेड अफ हाउस होल्डका लागि २४ हजार १ सय ५० र संयुक्त रूपमा फाइल गर्ने दम्पतीका लागि ३२ हजार २ सय कर छुट सीमा तोकिएको छ ।
त्यस्तै, तीन वा सोभन्दा बढी सन्तान भएका परिवारका लागि अन्र्ड इन्कम ट्याक्स क्रेडिट बढेर ८ हजार २ सय ३१ पुगेको छ । अघिल्लो वर्ष ८ हजार ४६ डलर रहेको थियो ।
नयाँ (वान बिग ब्युटिफुल एक्ट) नियम अन्तर्गत ज्येष्ठ नागरिकका लागि ६ हजारको विशेष कर डिडक्सन पनि लागू गरिएको छ । जसले निवृत्त व्यक्तिको करयोग्य आम्दानी घटाउन सहयोग पु¥याउने छ ।
कर विज्ञहरूका अनुसार ४०१(के), ‘आइआरए’ र ‘एचएसए’ जस्ता अवकाश बचत योजनामा अधिकतम योगदान गर्नु लाभदायक रहेको बताइएको छ ।
५० वर्ष वा सोभन्दा माथिका कामदारहरूले २०२६ मा ४०१(के) मा अधिकतम ३२ हजार ५ सय योगदान गर्न सक्ने छन् । त्यस्तै ६० देखि ६३ वर्ष उमेर समूहका लागि यो सीमा ३५ हजार ७ सय ५० डलरसम्म हुनेछ ।
सन् २०२५ मा १ लाख ५० हजार भन्दा बढी कमाउने उच्च आय भएका व्यक्तिका लागि ‘क्याच–अप’ योगदान अब अनिवार्य रूपमा ‘रोथ’ खातामार्फत गर्नु पर्नेछ । साथै, सबै योग्य डिडक्सन र कर छुट दाबी गर्नु परेमा कर विशेषज्ञसँग परामर्श लिन बताइएको छ ।

















