जर्जीयामा वीरगति प्राप्त गरेका प्रहरी अधिकृत प्रदीप तामाङको सम्झनामा पेन्सिल्भेनियामा शोकसभा
सिपिङबर्ग, पेन्सिल्भेनिया/ कार्यक्षेत्रमा रहँदा फेब्रुअरी पहिलो साता जर्जियामा वीरगति प्राप्त गरेका नेपाली भाषी भुटानी अमेरिकी प्रहरी अधिकृत प्रदीप तामाङको स्मृतिमा पेन्सिल्भेनियाको सिपिङबर्गमा शनिवार श्रद्धाञ्जली सभा गरिएको छ ।
भूटनीज–नेपाली कम्युनीटी अफ सिपिङबर्गद्वारा आयोजित कार्यक्रममा परिवारजन, समुदायका अगुवा तथा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली सभामा उनका बुबा, आमा, भाइ, मंगेतर तथा अन्य परिवारजनको उपस्थिति थियो। साथै पेन्सिल्भेनिया प्रहरी, जर्जियाका प्रहरी प्रतिनिधि तथा स्थानीय समुदायका अगुवाहरू सहभागी भएका थिए। कार्यक्रमको समन्वय भूटनीज कम्युनिटी सेन्टर पेन्सिल्भेनियाले गरेको थियो।
कार्यक्रमको प्रारम्भमा भूटनीज–नेपाली कम्युनिटी अफ सिपिङबर्गका कोषाध्यक्ष गणेश प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए। लामागुरुहरूद्वारा आत्मा शान्तिको कामनासहित मन्त्रोच्चारण गरिएको थियो। त्यसपछि सहभागीहरूले फूलमाला अर्पण गर्दै क्यान्डल बालेर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा भूटनीज कम्युनिटी सेन्टर पेन्सिल्भेनियाका अध्यक्ष युवराज कोइराला, पूर्व अध्यक्ष तिलक निरौला, पेन्सिल्भेनिया स्टेट ट्रुपरबाट लेफ्टिनेन्ट केम्पटन प्रेस्टन, तथा जर्जियाबाट श्रद्धाञ्जली मन्तव्य दिन आएका वरिष्ठ प्रहरी अधिकृत मेलिसा शेरिडनले सम्बोधन गरेका थिए। वक्ताहरूले अधिकृत तामाङको इमानदारी, समर्पण र सेवाभावको उच्च प्रशंसा गर्दै उनको बलिदानले सम्पूर्ण समुदायलाई गर्व र पीडा दुवै दिएको बताए।

यस अवसरमा डाउफिन काउन्टी कमिश्नर बोर्डद्वारा विशेष प्रोक्लामेशन (सम्मानपत्र) प्रदान गरिएको थियो, जसले अधिकृत तामाङको योगदानलाई औपचारिक रूपमा सम्मान गरेको थियो।
कार्यक्रमको सञ्चालन भूटनीज कम्युनिटी सेन्टर पेन्सिल्भेनियाका बोर्ड सदस्य तथा पब्लिक अफेयर्स संयोजक ओम अधिकारीले गरेका थिए।
गत फेब्रुअरी १ तारिख, जर्जियाको ग्रिनेट काउन्टीमा होटलमा क्रेडिट कार्ड फ्रडसम्बन्धी आएको कलको आधारमा घटनास्थल पुगेका अधिकृत तामाङमाथि अभियुक्तले गोली प्रहार गर्दा उनको कर्तव्य पालनकै क्रममा वीरगति भएको थियो। उनी त्यति बेला सक्रिय ड्युटीमा रहेका थिए। उनको परिवार हाल पेन्सिल्भेनियाको शिपिङबर्गमा बसोबास गर्दै आएको छ।
शरणार्थी शिविरबाट सुरु भएको प्रदीप तामाङको जीवनयात्रा अमेरिकी प्रहरी सेवामा समर्पित बलिदानमा टुंगिएको छ। उनको संघर्ष, समर्पण र साहसले केवल परिवार मात्र होइन, सम्पूर्ण भूटानी–नेपाली समुदायलाई गौरवान्वित बनाएको छ।
प्रदीप तामाङको जन्म सन् २००० अप्रिल ८ मा नेपालको मोरङस्थित पथरी–शनिश्चरे भूटानी शरणार्थी शिविरमा भएको थियो।
सन् २००९ मा परिवारसहित अमेरिका पुनर्स्थापित भएपछि उनले शिक्षा र संघर्षको यात्रालाई निरन्तर अघि बढाए। उच्च शिक्षा हासिल गरी उनले अनुसन्धान अधिकृत र पछि सुधार अधिकृतका रूपमा सेवा गरे।
सन् २०२५ मे १ मा जर्जिया पुलिस एकेडेमीबाट उत्तीर्ण भई उनी जर्जियाको ग्रिनेट काउन्टीमा प्रहरी अधिकृतका रूपमा नियुक्त भएका थिए।


















